|

रूसले ३८ वटा विदेशी भू-उपग्रह राखेर सोयुज अन्तरिक्ष यानलाई अन्तरिक्षतर्फ पठाइएको छ। कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रूसी अधिकारीहरूले बताएका छन्।

विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान आज सोमबार सफल भएको रूसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ। अन्तरिक्ष पठाइएका भू-उपग्रहहरू दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन्।

अन्तरिक्षमा प्रक्षेपण गरिएका भू-उपग्रहमध्ये ट्युनिसिया आफैँले विकास गरेको भू-उपग्रह समेत रहेको छ। यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो।

सोभियत संघको पतनपछि रसियाको अन्तरिक्ष कार्यक्रमले धेरै किसिमका समस्या झेल्नु परेको छ। खासगरी अन्तरिक्ष अभियानमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढेको छ भने रूसी अन्तरिक्ष कार्यक्रममा भ्रष्टाचार चुलिएको र प्रविधिगत सुधारमा कमी भएको आरोप लाग्दै आएको छ।

सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक खराबी देखिएपछि आपतकालीन रूपमा सबै यात्री सकुशल पृथ्वीमा अवतरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.