|

सर्लाही : रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरूमा रौनक शुरू भएको छ। होली पर्व आउन हप्ता १५ दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ।  

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा (होली) गीत लोप हुन थालेको जनाउँदै स्थानीय बूढापाकाहरूले चिन्ता व्यक्त गरेका छन्। पहिले गाउँघरमा होली आएको भन्ने जानकारी फागु गीत गाएर गराइन्थ्यो। यस्ता गीत बन्द भएको लालबन्दी नगरपालिका–७ का  उमाशंकर साहले जानकारी दिए।

‘जोगिरा सररर!!! कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम’ भन्ने गीत अब कमै सुन्न पाइन्छ,' कविलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश रायले भने, 'पहिलेपहिले त गाउँका बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाउँथे तर अब जोगिरा नसुनेको पनि धैरै भयो।'

समय परिवर्तन र गाउँका युवा रोजगारीका लागि छिमेकी देश भारतलगायत खाडी मुलुकहरूमा गएकाले पनि गाउँघरबाट फागु गाउने परम्परा लोप हुन थालेको सलेमपुरकै ठगा साहले बताए।

पश्चिमा संस्कृतिको प्रवेशसँगै नेपालीका परम्परागत कलासंस्कृति दिन प्रतिदिन लोप हुन थालेका स्थानीयवासी केदार मैनालीले बताए‌।

होलीपर्व आउन करीब दुई साता समय रहेको भए पनि परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले चिन्ता व्यक्त गरेका छन्। नेपालीको विश्वमा आफ्नै पहिचान भएका कारण नेपालीको संस्कृति परम्परा, मूल्यमान्यताको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा छोटेलाल साहले बताए।

अहिले स्थानीय सञ्चारमाध्यममा र बजारमा  बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि आक्रमण गरेका छन्। आधुनिकताले गर्दा परम्परा लोप हुँदै गएको छ। सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ। यसको रौनकता नै समाप्त भएर जान लागेको अग्रज शम्भु घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.