|

इलाम : ४० वर्ष कालकोठरीमा बिताउनु आफैंमा कति कष्टकर हुन्छ माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) ले अनुभव गरेका छन्। 

हत्या आरोपमा अर्काको देशको जेलमा आफ्नो अमूल्य जीवनको लगभग ४१ वर्ष बिताएका दुर्गाप्रसाद ढाका टोपी, नीलो कुर्ता, सेतो सुरुवाल लगाएर घरको आँगन टेक्दै गर्दा त्यहाँको वातावरण नै एकाएक परिवर्तन भयो।

४० वर्षपछि छोरो घर फर्केर आएपछि आमा धनमाया जति खुसी कोही देखिएन। घर आउँदा दुर्गाप्रसाद मानसिक रोगका कारण निकै विक्षिप्त देखिए। छरछिमेक र परिवारका सदस्यसँग नबोल्ने दुर्गा प्रसादसँग बेला–बेला अनुहारले प्रतिक्रिया दिनेबाहेक कुनै पनि चमक र हाउभाउ देखाएन। कतिपय नाता पर्ने व्यक्तिहरु आउँथे र दुर्गाप्रसादलाई चिनाउन खोज्थे, उनीचाहिं खासै बोल्दैनथे। मुन्टो मात्र हल्लाउँथे र चिनेको संकेत दिन्थे।

इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) का २० वर्षे दुर्गाप्रसाद २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए।

त्यसयता घर नफर्केका उनी जिउँदै छन् या छैनन् भन्ने पनि परिवारलाई थाहा थिएन। उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका भने पनि यो आरोप प्रमाणित भएको छैन।

उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ। दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ। २०६९ सालमा दीपक जैसीको नामबाट पत्र घरमा आयो। पत्रमा भारतको 'दमदम' जेलमा रहेको उल्लेख थियो। खोजतालसपछि भारतको जेलमा रहेको पत्ता लागेपछि नेपाल फर्काउने प्रयास भएको थियो। 

उनी घरबाट हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको, त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेकोसम्म परिवारले पत्ता लगायो। हत्याको अभियोग थियो भन्ने त थाहा भयो, तर हत्या उनले गरे वा अरू कसैले गरेको हत्यामा उनी फसेका हुन् भन्ने पत्तै छैन।

दुर्गाप्रसादलाई मानसिक समस्या रहेको भनी कोलकाता हाइकोर्टले जेलबाट रिहा गर्न गत बुधबार आदेश दिएको थियो। आदेशअनुसार उनी शनिबार बिहान साढे ११ बजे कोलकातास्थित दमदम जेलबाट छुटेका हुन्।

उक्त मुद्दामा अदालतले फैसला गरेको छैन। ६/६ महिनामा स्वास्थ्य अवस्था जानकारी गराउन अदालतले आदेश गरेको थियो। सोमबार अदालतले दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति माग गरे त्यसको व्यवस्था मिलाउन पश्चिम बंगाल सरकारको नाममा आदेशसमेत जारी गरेको छ। 

घर भित्रै समस्यै समस्या 

धेरैलाई लाग्न सक्छ, ४१ वर्ष भारतीय जेल बसेका दुर्गाप्रसाद तिम्सिना घर फर्किएपछि सबै समस्याको हल भयो। तर घरको यथार्थ फरक छ। दुर्गाप्रसाद आफैं पनि मानसिक बिरामी छन्। उनी ज्यादै थोरै बोल्छन्, जीउ थरर्र कामेको देखिन्छ। चिकित्सकले दीपकमा ९ वर्ष ९ महिनाको बालकले गर्ने व्यवहारमात्र रहेको रिपोर्ट दिएका छन्। जेलमा औषधि उपचार पाइरहेका दीपकले घर आएपछि औषधि खान पाएका छैनन्। उनले खाने औषधि नै थाहा नभएको र जेलले पनि औषधि पठाइदिएको छैन। 

८५ वर्षीया आमामा पनि अपाङ्गता छ । ०२९–३० साल तिर गाईको स्याहार गर्ने क्रममा उनको हात भाँच्चिएको थियो। उपचार नहुँदा अगाडिको भाग कुहिएर झरेको छ। दुर्गाप्रसादका भाइ र बुहारीबीच मेलमिलाप छैन। यो समस्या अदालतको ढोकासम्मै पुगेको छ। कान्छो छोरा धर्मानन्द, कान्छी छोरी पविमाया र विवाह गरेर घर गएकी अर्की छोरी पवित्रामात्र उनका सन्तानको गन्तीमा थिए।

अब दीपक पनि थपिएका छन्। दीपक परिवारका साहिँलो छोरा हुन्। अहिले दीपक आएको घरमा उनकी आमा, कान्छा भाइ धर्मानन्द, बहिनी पविमाया, बुहारी ठाकुरकुमारी र भतिजा गोपालसहित २ भतिजी छन्। धर्मानन्द पनि मानसिक समस्याका कारण औषधि खाइरहेका छन्।

घरको छानो एउटै छ। भान्साघर र चुलो पनि एउटै छ। तर, पकाएर खाने एकै परिवारका ३ फरक समय र समूह छन्। घरमा आमा धनमाया एक्लै खाना पकाएर खान्छिन्।

धर्मानन्द र गोपाल अर्काे भान्सा गर्छन्। अनि परिवारसँग बेमेल भएका कारण ठाकुरकुमारी र २ छोरी त्यही चुलामा अर्काे चोटी पकाएर खान्छन। त्यतिमात्र होइन, मानसिक समस्यामा रहेकी पविमाया पनि घरभन्दा अलि तल अम्लिसोबारीमा एक्लै खाना पकाएर खान्छिन्।

दीपकका भाइ केदारनाथ पनि मानसिक बिरामी थिए। उनको गत मंसिर २८ मा निधन भयो।  खासै उब्जाउ नहुने लुम्बाकमा तिम्सिना परिवारको २४ रोपनी जमिन छ। उब्जाएर खाँदा ३ महिना धान्दैन । यस्तो अवस्थामा मानसिक रुपमा विक्षिप्त बनेको उनलाई थप पीडा दिन सक्ने देखिन्छ। २० वर्षको उमेरमा घरबाट हिँडेका उनको नागरिकता छैन। त्यसबेला ढिला गरेर नागरिकता बनाउने चलन रहेका कारण उनको नागरिकता नरहेको परिवारले बताएका छन्। 

उपचार प्रदेश सरकारले गर्ने

उनको उपचार खर्च प्रदेश सरकारले बेर्होने भएको छ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले तिम्सिनाले यसबारे बताए।मंगबारमात्रै दीपकका भाइ, प्रदेश सांसद धीरेन्द्र शर्मा र बुहारी लक्ष्मी न्यौपानेले दाजुको उपचार पहिलो सर्त भएको बताए।

भारतीय न्यायालयले माग भएअनुसार क्षतिपूर्ति उपलब्ध गराउनु भन्ने आदेश दिए पनि दुर्गाको उपचार पहिलो प्राथमिकता भएको परिवारले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.