'मैले खोलेको रेस्टुरेन्टमा नेपाली खानाबाहेक हुँदैन'

|

काठमाडौं : प्रतिस्पर्धामा सहभागी हुनुको अन्तिम उद्देश्य केवल विजय प्राप्त गर्नु नै हो। सहभागी प्रतियोगी सबै विजयी हुँदैनन्। विजयीले ताज पहिरिन्छन्। कतिपय उपविजेताले ट्रफी नपाए पनि धेरैको मन जित्छन्। 

जसमध्ये केही महिनाअघि भएको बिबिसी मास्टर सेफ प्रतियोगिताका उपविजेता सन्तोष साहले धेरै नेपालीको मन जिते। विश्वभर कोरोना महामारीले सबैलाई थल्याइरहेका बेला नेपालको नाम विश्वसामु राखेर उनी सेफ प्रतियोगितामा सहभागी भएका थिए।  

सन्तोष नेपाल आएको ठ्याक्कै एक महिना भयो। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा स्वागतमा माला र खादाले घाँटी बेरिएको थियो। जहाँ-जहाँ उनी जान्छन् त्यहाँ भव्य स्वागत हुन्छ। कारण एउटै विदेशी प्रतियोगितामा उनले नेपालको नाम राखे। नेपालीको मन जिते।

मास्टर सेफ प्रतियोगितामा सहभागी भएर विजेता नबने पनि उनी त्यसलाई सिकाइको एउटा चरण मान्छन्। भन्छन्, 'जीवन भनेको सिकाइका लागि हो। सिकेका कुराले कहिले असर पछि परिँदैन। सिकेका कुराहरू कुनै न कुनै ठाउँमा काम लाग्ने लाग्दो रहेछ।'

थाहाखबरसँगको सम्पर्कमा आएका उनले भने, 'हरेक प्रतियोगितामा सहभागी भएँ, तर कहिल्यै प्रथम भएको छैन, विजय हुने मनमा कहिले आकांक्षा पलाएन। विजयी हुन सकिनँ, तर हरेक पटकको प्रतियोगितामा केही न केही सिकेर आएको छु। 

सिराहको कर्जन्हामा आजभन्दा ३५ वर्षअघि जन्मिएका थिए सन्तोष। बाल्यकाल अभावै-अभावमा बित्यो। ‘समयमा खाना पनि खान पाइँदैनथ्यो, अरूले पूरा गरेको रहरलाई आफ्नो सम्झनुपर्ने बाध्यता थियो,’ उनी सम्झन्छन्। 

सात जनाको परिवार छ उनको। सबै दाजुभाइ एउटै घरमा छन्। घरको कान्छा छोरा हुन् सन्तोष। दुई दाजुका चार सन्तान छन्। एउटा दाजु जिल्लामै सेफ हुन्। उनी दाजुको पछि लागेर होटल लाइनमा छिरेका थिए।

शिक्षा लिन विद्यालय वा विश्वविद्यालय धाइरहनु पर्दैन

सन्तोष बाल्यकालको दुःख कहिल्यै बिर्सँदैनन्। अहिले उनको संघर्ष अरूका लागि प्रेरणा भएको छ। सानोमा प्लाष्टिकदेखि पाउरोटी बिक्री गरेको कथा अहिले पनि उनको मन-मस्तिष्कमा ताजै छ।

१० वर्ष छँदै बुबाको स्नेहबाट टाढा भए सन्तोष। तर, अहिलेसम्म आमाको माया पाउनबाट उनी वञ्चित भएका छैनन्। आर्थिक अभावका कारण स्कुले शिक्षा पूरा गर्न नपाए पनि आफूलाई चाहिने पर्याप्त शिक्षा उनले लिएका छन्। कक्षा १० सम्म पढेका उनी घरको आर्थिक अवस्था नाजुक भएपछि दाजुसँग भारत लागे।

सन्तोषको गरिबी ग्राफ उक्लिँदै गयो। दाजु वर्षौंदेखि भारतमा काम गर्थे। उनकै पदचाप सन्तोषले पछ्याए। सन् २ हजारमा भारत प्रस्थान गरेसँगै उनको होटल यात्रा सुरु भयो। ९ वर्ष भारतमा काम गरेका उनले सुरुमा भाँडा माझे। श्रम र शिक्षाको महत्त्व त्यही बेला उनले बुझे। काम गर्नु र यात्रा गर्नु उनलाई उस्तै उस्तै लाग्यो। 

'शिक्षा, आचरण घर, विद्यालय र विश्वविद्यालयमा मात्र सिक्न सकिँदैन। समयसँगै सिकिँदै जाने रहेछ,' विगत सम्झँदै साह भन्छन्, 'मानिसले खाना बनाउँदा पाएको ज्ञान पनि शिक्षा हो। सिक्ने कुराका विभिन्न माध्यम रहेछन्। अहिले पनि अध्ययन गरिरहेको छु।'

अंग्रेजी सन्तोषको चौथो भाषा हो। उनी मैथिल समुदायका हुन्। नेपालीपछि उनले हिन्दी पनि राम्रोसँग जान्दछन्। कामकै सिलसिलामा अंग्रेजी नजान्दाको नमिठो अनुभव पनि छ उनीसँग। भाषाकै कारण अरूभन्दा पछि परेपछि उनले अंग्रेजी सिके। त्यही भाषा सिकाइले उनलाई बेलायतसम्मको यात्रा गरायो। त्यहाँ पुगेपछि उनको जीवनमा नयाँ अध्याय सुरु भयो। 'भाषा सिक्न सिद्धान्त होइन, अभ्यासको जरुरी छ,' उनले अनुभव सुनाए।

सन्तोष यस वर्ष विदेशबाट आउनेबित्तिकै सीधै घर जान पाएनन्। कोरोना महामारी कारण ५ दिन क्वारेन्टाइनमै बिताउनुपर्ने उनले। काठमाडौंमै बसे। विभिन्न कार्यक्रममा सहभागी हुनुपर्दा उनी घर जान ढिला भयो। 

गरिबीले भारत र मन्टेनेग्रोदेखि बेलायतसम्म

लण्डनबाट फर्केपछि सन्तोषको घर बसाइ करिब १ हप्ताको रह्यो। घरमा सबैले उनलाई भव्य स्वागत गरे। 'सबैले मप्रति गर्व महसुस गरे। आमाले केही भन्न नसके पनि उहाँको मुहारमा खुसी पढिरहेको थिएँ,' घर बस्दाको दिन सम्झिन्छन् उनी।

उनलाई घरमा बस्दा मीठो लागेको खाना 'विर्या' थियो। बेथे र खेसरी सागको मुन्टोलाई भाँचेर बनाइन्छ, त्यसलाई तेलमा भुटेर बनाइन्छ। हरेक पटक घरमा जाँदा उनी विर्या खाने गरेका छन्।

अधिकांश नेपाली गरिबीकै कारण भारत जान्छन्। उनको हकमा पनि यो लागु भयो। सन्तोष भन्छन्, 'मेरो मुख्य प्रेरणाको स्रोत गरिबी नै हो। काम गर्दागर्दै मानिसहरू अरूको प्रेरणा बन्छन्। भाँडा धुँदै सेफ बनेको छु।' उनको भनाइ छ– धेरै सेफ गरिबीकै कारण भएका हुन्।' 

एक वर्ष युरोपियन मुलुक मन्टेनेग्रोमा काम गरेका थिए सन्तोषले। सन २०१० देखि उनको बेलायतको यात्रा तय भयो। उनले ६ वटा होटल परिवर्तन गरे। 'सबैभन्दा बढी एकै ठाउँमा ३ वर्ष सम्म गरेका थिए,' सन्तोषले सम्झे,' जहाँ काम गर्छु त्यहाँ मेरो काम स्मरणययोग्य हुन्छ। काम गर्नका लागि काम गर्दिनँ, जहाँ रमाउन र केही सिक्न सक्छु।' उनी  इज्जत र प्रतिष्ठाका लागि काम गर्छन र काम नपाए घरमै बस्छन्।

'पैसाभन्दा पनि नेपाली खाना प्रचार गर्छु'

पैसाका लागि अहिलेसम्म काम नगरेको सन्तोष दाबी गर्छन्। पैसाको महत्त्व भए पनि पैसालाई सबथोक नसोचेका बताउँछन्। 'नेपाल आएर बस्दा बेलायतमा जस्तो पैसा कमाइ नहोला, तर यहाँ नेपाली खानाको प्रवर्द्धन गर्ने सोच राखेको छु', उनले सुनाए, 'पैसा देखिने चिज हो, तर त्यो सम्पूर्ण जीवन चलायमान गर्ने साधन बनेको छैन।'

कामको सिलसिलामा एकपछि अर्को गर्दै होटल परिवर्तन गर्दै गए सन्तोषले। आफूमा भएको कमजोरी पत्ता लगाई आफ्नो सीप विकास गर्नतर्फ लागे। कम्प्युटर र अंग्रेजी सिके। होटल लाइनमा काम गरिरहेको हुनाले उनले क्याटरिङ म्यानेजमेन्ट अध्ययन गरे। सिक्ने कुराहरू कहिले नसकिने जस्तो लाग्दोरहेछ उनलाई। उनी सिकेर सेफ बने स्वादमा नयाँपन दिँदै अब्बल सेफ सके। 

मानिस भएपछि नयाँनयाँ कुरा जानि राख्नुपर्छ। आफ्नो क्षेत्रमा आफूलाई अपडेट राख्नुपर्ने धारणा छ उनको। आफ्नो मूल्यांकन गर्न के गर्न सकिन्छ त्यो सबै आफूबाहेक अरूलाई जानकारी नहुने उनको तर्क छ। 

सन्तोष दुई वर्षअघि पनि नेपाल आएका थिए। यस पटक आउँदाको वातावरण उनलाई अरू बेलाजस्तो लागेन। सेफलाई हेर्ने दृष्टिकोण बदलिएको उनले पाए। नेपालमा क्षमता भएका सेफहरूको विकास भइरहेको देखे। दिग्गज-दिग्गज सेफ बनिसकेका उनले भेटे।

खानाको माध्यमबाट देश, समाज र पर्यटन विकास गर्न सक्ने उनलाई विश्वास जागेको छ। 'निजी क्षेत्रले नेपाललाई चिनाउने धेरै काम गरेका छन्। राज्यको तर्फबाट पनि नेपाली खानालाई कसरी प्रवर्द्धन गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ,' उनी भन्छन्। 

‘अन्य पेसाजस्तै खाना पकाउने काम पनि पेसा नै हो, यसलाई हेर्ने सोच बदल्नुपर्छ,’ उनी भन्छन्। आफूलाई साधारण मानिस मान्ने सन्तोष पदक पाएर आफ्नो धरातल बिर्सेर कहिल्यै नबढ्ने बताउँछन्। 

'महामारीमा उपविजेता बने पनि सबैलाई खुसी बनाएँ'

उनी बिबिसी मास्टर सेफमा सहभागी हुँदा विश्वभर कोरोनाको कारण लाखौँले ज्यान गुमाइसकेका थिए। सबैमा त्रास थियो। दैनिक हजारौंको मृत्यु भएको समाचार आइरहन्थ्यो।

'लकडाउनमा मास्टर सेफ प्रतियोगिता भएको थियो,' सन्तोष सम्झन्छन्, 'महामारीमा सहभागी हुँदा नेपाल र विश्वमा कोरोनाको कहर थियो। कहरमा भएको बेला नेपाल र नेपालीलाई खुसी थिए। मेरो जीवनको महत्त्वपूर्ण क्षण पनि हो।' उनलाई इन्स्टाग्राममा हजारौंको म्यासेज आएको थियो। 

विजेता नबने पनि धेरै दर्शक र नेपालीको हृदयमा सन्तोष बसेका छन्। सहभागी केहीले अवार्ड जिते, उनले पनि 'पिपल्स अवार्ड' पाएका थिए। प्रतियोगितामा सहभागी हुँदाको क्षणलाई सम्झिन्छन्, 'म त्यहाँ सहभागी भएँ, त्यो कोसिसको प्रतिफल अरूलाई खुसी दिन पाएँ।'

उपविजेता बनेपछि सन्तोष दुई महिनाका लागि नेपाल आएका छन्। काम पूरा हुन नसकेकाले भिसा थप्ने योजनामा छन्। दुई महिनामा बाँकी रहेका कामहरू सकाउने योजना छन्।

यसपटक घर आउँदा सबैले उठाएको एउटै आवाज बनेको थियो। 'विवाह कहिले गर्ने हो?' तर, उनका लागि विवाह गर्ने समय अझै आएको छैन। भन्छन्', मन परेको समयमा विवाह र भोक लागेको बेला खानुपर्छ। समय आएपछि सायद आफैं होला। अरूले भनेको भरमा खाजा र खाना खाइहाल्ने होइन। कुन समयमा खाँदा आफूलाई राम्रो हुन्छ, त्यहीँ समयमा खाने र विवाह गर्ने हो।'

सेफ प्रतियोगितामा नेपाली खानाको प्रचारप्रसार

नेपालमा बनाइएका नेपाली खाना र विदेशमा बनाइएका नेपाली खानामा धेरै अन्तर हुने गर्छ। विदेशमा नेपाली खाना भनेको दालभात तरकारी मात्र हो। धेरैलाई थाहा नभएर पनि नबनेको हुन्छ, त्यसैले पनि नेपाली खानाको प्रचारप्रसार हुनुपर्छ भन्ने उनलाई लागेको छ। खानाको मौलिकता नमर्ने गरी खानाको प्रचार गर्नुपर्ने उनी बताउँछन्। 

सन्तोष मास्टर सेफ प्रतियोगितामा जानुको मुख्य उद्देश्य नेपाली खाना प्रचारप्रसार गर्नु थियो। सहभागी हुँदा उनले ६० भन्दा बढी खाना प्रस्तुत गरेका थिए। खोलेका साग, बेथेको साग, रायोको साग, झानेको भटमास, अमलाको अचार, योमरी, भैंसीको मासु, काँक्रोको अचार, तरुललगायत खाना उनले बनाएका थिए।

पाँच वर्षमा तपाईंलाई कस्तो अवस्थामा देख्न पाइन्छ भन्ने प्रश्नमा उनी भन्छन्,' सेफ भएर बसिरहन्छु वा बिजनेस म्यान बन्छु। नेपालमा रेस्टुरेन्टु खोल्छु वा बेलायतमा त्यो थाहा छैन। सुरुमा बेलायतमा नै खोल्ने योजना बनाएको थिएँ। मेरा किताब आउला, टिभी सो आउलान् र दुई-चार वटा रेस्टुरेन्ट हुन्छ होला।'

तर आफूले खोलेको रेस्टुरेन्टमा नेपाली खानाबाहेक अन्य नहुने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.