काठमाडौं : नेकपा एमाले खनाल–नेपाल समूहका नेता बिष्णु रिजालले अबको दुई बर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार वा २०७८ मंसिरमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।
नेता रिजालले फेसबुकमार्फत् अहिलेको परिस्थितीमा पार्टीभित्रको समस्या समाधान गर्नका लागि दुई मात्रै विकल्प भएको बताएका हुन्। प्रमुख प्रतिपक्षी सरकारमा पनि नजाने र अविश्वास प्रस्ताव पनि नल्याउने अनि माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको अवस्थामा अब दुई वर्ष ओलीलाई प्रधानमन्त्री मान्ने वा ओलीकै नेतृत्वमा आगामी मंसिरमा चुनावमा जानुको विकल्प नरहेको उनकाे तर्क छ।
उनले लेखेका छन्, 'एकातिर प्रमुख प्रतिपक्षी नेता ‘हाम्रो पार्टी सरकारमा पनि जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउन लाग्दैन’ भन्नुहुन्छ भने अर्कातिर सरकारलाई समर्थन गरेको माओवादीले समर्थन यथावत् राखेको छ। यही बेलामा चौथो ठूलो दल जसपा र सरकारबीच वार्ता निरन्तर छ।'
उनले अहिलेका अवस्थालाई समाधान गर्नका लागि मोटामोटी प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन जानुपर्ने तर्क गरेका छन्।
प्रधानमन्त्री ओली एकलौटी चलेको भन्दै नेकपा एमाले यतिबेला विभाजनको अन्तिम कसरतमा छ। ओलीको कदमविरुद्ध बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह लागिरहेका छन्।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा ओलीइतर समूहका नेता रिजालले ओलीकै शैलीमा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री ओलीले पनि अबको समस्या समाधान गर्नका लागि दुई बर्ष आफू नेतृत्वको सरकार वा चुनावमा जानुको विकल्प नभएको बताउँदै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।