|

काठमाडौं : २८ वर्षअघि बम्बईमा लगेर महिला बेचको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको छ। महिला बेचबिखनको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालका ६८ वर्षीय रामशरण पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

२०४९ सालतिर ठमेल क्षेत्रमा होटल तथा लजका गाडी चलाउने रामशरणले त्यतिबेला १८ वर्षीय युवतीलाई बम्बईको कोठीमा २५ हजार भारुमा बेचेको अभियोग छ।

हिराको अवैध ओसारपसारको काममा लगाइदिने र एक पटक हिरा लुकाइछिपाई हिराको सिमापार गराएबापत ६ हजार भारु पाइने प्रलोभनमा पारेर उनले ती युवतीलाई बम्बई पुर्‍याएको आभियोग छ।

युवतीले ६ महिनापछि एक पंजाबी मुलका ग्राहकमार्फत काठमाडौंमा रहेका मामालाई आफ्नो अवस्था बताएर पत्रचार गर्न सफल भएकी थिइन्। युवतीका मामाले पत्र पाएलगत्तै भारतीय प्रहरीमार्फत भान्जीको उद्धार गरेका थिए।

काठमाडौं आएपछि युवतीले प्रहरी परिसर काठमाडौंको तत्कालीन कार्यालय हनुमानढोकामा रामशरणविरुद्ध जाहेरी दिएकी थिइन्। प्रहरीका अनुसार आफूविरुद्ध जाहेरी परेको थाह पाएपछि रामशरण केही समय लुकेर बसेको र त्यसपछि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेको खुलेको ब्युरोले जनाएको छ। उनी झण्डै १२ वर्ष साउदी अरबमा काम गरेर २०६५ सालतिर नेपाल फर्केका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.