|

विराटनगर : धनकुटा, भोजपुर र उदयपुरका संगमस्थल सप्तकोशीमा तमोर, अरुण र दूधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा रहेको खुवालुङ पछिल्लो समय चर्चामा आएको छ।

गत फागुन ८ गते विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुङ्गा) क्रेन लगाएर फुटाउने घोषणा गरेका थिए। सोही ढुंगा फुटाउने प्रधानमन्त्रीको घोषणाले यति बेला माहोल तताएको छ।

किराँत समुदायको आस्था र मिथकसँग जोडिएको खुवालुङ सांस्कृतिक,धार्मिक साथै ऐतिहासिक स्थलमध्ये किराती समुदायको साझा पवित्र क्षेत्र मानिन्छ।  हाल २८ देखि ४० जनासम्म अटाउन सकिने बोट खुवालुङ छेवैबाट वारपार गर्ने गरेको छ।

किरात राईहरूले मान्दै आइरहेको आस्थाको केन्द्र खुवालुङ जोगाएर पनि जेटबोट सञ्चालन गर्ने सकिने प्रशस्त सम्भावना रहेको बोट सञ्चालक दिनेश पौडेल बताउँछन्।

शक्तिको केन्द्र खुवालुङ

किरात भाषाअनुसार फेदाङबा( धामी)हरूले धर्म, संस्कार र संस्कृतिका कार्यक्रम गर्दा खुवालुङ क्षेत्रमा गर्दा शक्ति आर्जन गरेर आफ्नो कार्य सम्पन्न गर्ने भएकाले खुवालुङ क्षेत्रलाई शक्ति केन्द्र मानिएको खुवालुङ क्षेत्र संरक्षण भेला आयोजक समितिका संयोजक बलराम राई बताउँछन्।

‘यो मुन्धम सभ्यतासँग जोडिएको विषय हो,' राईले भने, 'हामी किरातहरूले यसलाई आस्थाको केन्द्रको रुपमा लिएका छौं। यो क्षेत्रको विकास हुन जरुरी छ तर सभ्यता र आस्थालाई मासिन दिन हुँदैन।’

‘किरात राई भाषमा 'खु' भनेको खोला, नदी 'हा', 'वा' को अर्थ पानी हो भने 'लुङ्ग' भनेको ढुंगा। यही आधारमा खुवालुङ भएको हो’, उनले भने, 'त्यही भएर पानीबिनाको ठाउँमा सार्न नमिल्ने भएकाले ढुंगा सार्ने कुनै पनि सम्भावना छैन। आफूहरू विकासविरोधी नभएको उनको भनाइ छ। उनी थप्छन्, 'आस्था नमर्ने तरिकाबाट  विकासका अन्य विकल्पहरू सरकारले खोज्नुपर्छ।’

'युद्ध गर्छौं'

विकासका विभिन्न विकल्प रहेको पनि स्थानीयको पनि बुझाइ छ। पुर्खादेखि आस्था र शक्तिको रुपमा रहेको खुवालुङ संरक्षण गरिनुपर्छ भन्ने मागसहित पछिल्लो समय सो क्षेत्रमा दैनिक जस्तो विरोध  हुँदै आइरहेको छ।  

पुर्खादेखि किरात राईहरूले खुवालुङ क्षेत्रमा वर्षमा दुई पटक पूजा गर्ने गरेका सहिद भूमि–१ का कृष्ण कुमार राई बताउँछन्।

माघे संक्रान्तिका दिन र बच्चाको जन्म भएपछि पूजा गर्ने चलन रहेको उनको भनाइ छ। धार्मिक आस्थाका कारण पनि खुवालुङलाई सार्नु, फुटाउनुभन्दा पनि सरकारले संरक्षण गरी यथास्थानमा नै रहन दिन स्थानीयले माग गरेका छन्।

‘खुवालुङ सार्नु, फुटनु हुँदैन भनेर सरकारलाई हामी अनुरोध गर्छौं,' राई भन्छन्, 'हाम्रो अनुरोध मानेनन् भने हामी सम्पूर्ण किरातीहरू युद्ध गर्छौ।’

अवलोकनमा पुगे ७ सांसद

सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस साथै नेकपा माओवादी केन्द्रका ७ जना सांसद खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेका छन्।

सोमबार अवलोकनका लागि पुगेका सासंदहरूले सुनकोशी, अरुण र तमोरको त्रिवेणी क्षेत्रको अवलोकन साथै स्थानीयबासी र खुवालुङ संरक्षण समितिका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेपछि उक्त क्षेत्रमा वैकल्पिक उपायहरू प्रशस्त रहेको उनीहरूले ठहर गरे।

अवलोकन पश्चात माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङबोले धार्मिक सम्पदा संरक्षण गर्नु राज्यको दायित्व रहेको बताए।  खुवालुङ ऐतिहासिक सम्पदा भएकाले मासेर भन्दा पनि संरक्षण गरेर अन्य विकल्पसहित विकासको काम गर्नुपर्ने उनको भनाइ छ।

'खुवालुङ संरक्षण गरेर पनि जल यातायात सञ्चालन गर्न सकिन्छ,' प्रदेश १ का पूर्वआर्थिक मामिला मन्त्रीसमेत रहेका आङ्बोले भने, 'यसबारे राज्य गम्भीर बन्नुपर्ने खाँचो छ।'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सचेतक सूयर्माराज राईले खुवालुङ किरातीहरूको ऐतिहासिक सम्पदा मात्रै नभएर सभ्यतासँग पनि जोडिएको विषय रहेको बताए। धार्मिक सम्पदाको विनास नगरी विकासलाई बढाउन सकिने उनको भनाइ छ।

‘यो किरात जाति समुदायसग मात्रै सम्बद्ध विषय होइन, यो राष्ट्रको सम्पत्ति पनि हो,' सचेतक राईले भने, 'विकास भनेको संस्कृतिको विनाश होइन। विनाश नगरी पनि प्रशस्त विकल्प देख्न सकिन्छ।’

सत्तारुढ नेकपा एमालेका सांसद राजन राईले खुवालुङ समग्र नेपालीको साझा सम्पत्ति भएको बताए। पूर्वी भागको कोसी किनारबाट नै मानव सभ्यताको विकास भएकाले खुवालुङ सभ्यातासँग जोडिएको उनको भनाइ छ। 

‘विकासका लागि  हाम्रा अमूल्य निधिहरू, हाम्रा संस्कृतिक सम्पदाहरू नामेट गर्न पाइँदैन उनले भने,' 'हामीले अनुगमन गरेका छौं, नांगो आँखाले हेर्दा यहाँ थुप्रै विकल्प र सम्भावना देखिन्छन्। ऐतिहासिक सम्पदालाई कसैले नामेट गर्न पाइँदैन,' राई थप्छन्, 'यदि कसैले जबर्जस्ती गर्छ भने त्यसविरुद्ध हामी निस्किन्छौं। त्यो कुन पार्टी,कुन सरकार भन्ने कुरो रहँदैन।’

संसदको अर्थ समिति सभापति मोहनकुमार खड्काले खुवालुङको संरक्षण गरेर पनि जल यातायात सञ्चालन गर्न सकिने बताए। धार्मिक सम्पदाको रक्षा गर्नका निमित्त किरात समुदाय मात्रै नभएर सम्पूण समुदायले आवाज उठाउनु पर्ने उनले बताए। भने, ‘ढुंगा फुटाउने कल्पना होइन, पानी जहाज चलाउने हो भने ‘यसको संरक्षणसहित धार्मिक पर्यटकीय क्षेत्रको रुपमा खुवालुङ क्षेत्रको विकास  गर्दै वैकल्पिक विधिबाट पानी जहाज चलाउन सरकाले सोचोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.