|

चितवन : दुर्लभ एकसिंगे गैंडाकी छोरी 'पुष्पा' अझै एक वर्ष जंगल जान पाउँदिनन्। पुष्पाले आफूलाई हिंस्रक जनावरबाट बचाउन सक्ने भइसकेकी छैनन्। पुष्पा अझै एक वर्ष माइत अर्थात् सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रमै बस्ने भएकी हो। 

उसको वास्तविक अर्थात् प्राकृतिक घर जंगल नै हो। पुष्पा अहिले घरपालुवाजस्ती भएकी छ। पुष्पा केन्द्रको परिसरमा खेल्दै चर्छे । परिसरमा उम्रिएको घाँस खाएर पुष्पाले आफ्नो पेट भर्ने प्रयास गर्छे, तर त्यतिले मात्रै उसलाई पुग्दैन। उसलाई दैनिक कुँडो र बन्दा पनि खुवाउनुपर्छ। पानी खानका लागि तीन सय मिटर पर रहेको ढुंग्रे खोलामा पुग्छे।

पुष्पाको नियमित हेरचाह र रेखदेख गर्न लाल बहादुर महतरा व्यस्त देखिन्छन्। महतराकै पछिपछि लागेर पुष्पा पानी खान खोलासम्म पुग्छे। पानी खाएपछि केही समय त्यही खोला आसपासको घाँस खान्छे। बिहान ११ बजे गएकी पुष्पा दिउँसो ३ बजेमात्रै फर्किन्छे। पुष्पा आगामी वैशाख ५ गते १५ महिना पूरा हुँदै छे। 

पुष्पा कोषको परिसरमै मान्छेहरुसँग घुलमिल भएर बस्न रुचाउँछे। पुष्पाको कारण नै संरक्षण कोषको परिसरमा शोभा भरिएको छ। ‘पुष्पा आफै जंगल जानै मान्दिन, यही वरिपरि घुम्दै घाँस खाँदै गर्छे’, लालबहादुर महतरा भन्छन्, ‘अहिले त पुष्पाले आफूलाई बचाउन सक्ने पनि भइसकेकी छैन। जंगलमा छाड्दा बाघले आक्रमण गर्न सक्ने डर अझै छ।’ 

मान्छेहरु टाँसिएर सेल्फी खिच्दा पनि पुष्पाले केही गर्दिन। झर्काे लागेको बेला भने रिसाउँछे। जन्मिएको करिब १२औँ दिन २०७६ माघ ३ गते पुष्पालाई नवलपुरअन्तर्गत निकुञ्जको कोर इलाका तमासपुरबाट उद्धार गरिएको हो। घाँस खान थाल्नुअघि उसलाई दैनिक २० लिटरसम्म दूध खुवाइन्थ्यो। 

दलदले हिलोमा फसेको अवस्थामा उसलाई उद्धार गरेर प्रकृति संरक्षण कोषको कार्यालयमा ल्याइएको हो। उद्दार गरेर ल्याएपछि ‘केटी’लाई पुष्पा नाम दिइएको हो। दलदलमा फसेर पुष्पा आमासँग बिछोडिएकी हुन सक्ने अनुमान गरिएको छ। 

पुष्पाको खाग निस्किसकेको छैन। खाग निस्किएपछि उसले आफूलाई बचाउन सक्ने हुन्छे। पुष्पा सात महिनाको हुँदासम्म त्यसलाई पौष्टिक तत्व ल्याक्टोजिन खुवाएर पालिएको महतराले बताए। उसको हेरचाह र पालनपोषणमा अहिलेसम्म तीन लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको उनी बताउँछन्। 

‘घाँस त मज्जाले चर्ने भएकी छ, तैपनि दैनिक एक किलो कुँडो र बन्दा पनि खुवाउने गरिएको छ’, महतराले भने। पुष्पा बढ्दै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसर साँघुरो बन्न थालेको छ। दगुर्न, खेल्न र चर्न करिब एक किमीको वृत्ताकार ठाउँ चाहिने उनी बताउँछन्। 

पुष्पालाई अबको एक वर्षपछि मात्रै जंगलमा छाड्ने योजना रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछाने बताउँछन्। ‘आफूलाई बचाउन सक्ने भएपछि मात्रै छाड्ने आन्तरिक योजना छ’, उनले भने, ‘बेला बेलामा खोलामा पुगेर नुहाउने, पानी खाने गर्ने गरेकी छ।’ 

पुष्पामा कुनै किसिमको समस्या देखियो भने हेरालु लाल बहादुर महतराले भेटेरीनरीमा खबर गर्छन्। मान्छेहरुसँग घुलमिल भएर बसेको हुँदा पुष्पा घरपालुवा जस्तै भएकी छ। बिहान र बेलुका ऊ आफैं खोरमा जाने र निस्किने गर्छे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.