|

चितवन : विराटनगरका ससन देवकोटा कृषिका विद्यार्थी हुन्। उनी अहिले स्ट्रबेरी उत्पादनबारे अनुसन्धानरत छन्।

​ससनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका हुन्। 

अमेरिकामा पढ्दै गर्दा उनले स्ट्रबेरीमा लाग्ने कीराबारे अनुसन्धान गरे। तीन वर्षसम्म अमेरिकामा अनुसन्धान गरेपछि उनी नेपाल आए। यहाँ पनि स्ट्रबेरीको उत्पादनबारे अनुसन्धान गरे। बेरी वर्ल्ड कम्पनीमार्फत उनले पछिल्लो तीन वर्षयता यसमा अनुसन्धान गरिरहेका छन्।

देवकोटाले भरतपुर महानगरपालिका-५, समीचोकमा स्ट्रबेरी खेती गरेका छन्। ससनसहित आठ जनाको टीमले पछिल्लो तीन वर्षदेखि स्ट्रबेरी खेती गर्दै आएको छ।

उनको टीममा जनक गैरे, देव पौडेल, विशाल श्रेष्ठ, दिपक श्रेष्ठ, सविन आचार्य, राकेश सुवेदी र सुधीर रेग्मी रहेका छन्। उनको टीममा रहेका ८ जनामध्ये ५ जनाले कृषि नै पढेका हुन्। तीनवटा फार्ममा उनीहरूको संयुक्त झण्डै एक करोड रुपैयाँ लगानी भएको देवकोटाले बताए।

उनले यसअघि मोरङ र सुनसरीमा स्ट्रबेरी खेती गरेका थिए। चितवनमा भने पहिलोपटक हो। ससनको टीमले समिरा एग्रोटेक प्रालि नामक कम्पनी दर्ता गरेको छ।

समीचोकमा ३० लाख रुपैयाँ लगानी गरी १२ कठ्ठा जग्गा भाडामा लिएर उनीहरूले स्ट्रबेरी खेती गरेका हुन्। गएको कार्तिकमा १२ कट्ठामा स्ट्रबेरीका १५ हजार बिरुवा रोपिएको ससनले बताए। 

‘स्ट्रबेरी रोप्ने उपयुक्त समय त भदौमा नै हो, तर कानुनी अड्चनका कारण बाहिरबाट बिरुवा ल्याउनै ढिला भयो’, उनले भने, ‘बिरुवा आउनै ढिला भएपछि हामीले कार्तिकमा बल्ल रोप्न पायौँ, रोपेको १० हप्तापछि फल्न शुरू भयो।’

बिरुवा रोप्नै ढिलो भएकाले माघदेखि स्ट्रबेरी फल्न थालेको हो। अहिले यसको उत्पादन विस्तारै कम हुँदै गएको छ। स्ट्रबेरी फल्न र फुल्न ५ देखि १५ डिग्रीको तापक्रम उपयुक्त हुन्छ। 

यस्तो तापक्रममा फलेको फल गुलियो हुन्छ। चितवनमा अहिले गर्मी बढेकाले यहाँका तापक्रम २० डिग्री भन्दा माथि नाघिसकेको छ। यसले गर्दा स्ट्रबेरीमा अमिलोपना बढ्न थालेको छ।

उत्पादन भन्दा माग बढी

ससनको टीम नै स्ट्रबेरीमा अनुसन्धान गर्ने उद्देश्यले यसको खेतीमा लागिपरेको छ। अनुसन्धानका लागि गरिएको खेतीमा माग अत्याधिक रहेको ससन बताउँछन्। 

‘यति धेरै बिक्री हुन्छ भन्ने अनुमान गरेको थिइनँ’, उनले भने, ‘दैनिक ७० केजी स्ट्रबेरी उत्पादन भइरहेकोमा माग भने दैनिक सय केजीसम्म छ।’ उत्पादन र बिक्री राम्रो भएकाले आगामी वर्ष थप जमिनमा खेती गर्ने उनीहरूले योजना बनाएका छन्‌।

यहाँ उत्पादन भएको स्ट्रबेरी भरतपुरका बजार र भाटभटेनी सुपरमार्केटमा पुग्ने गरेको छ। भाटभेटनीमा मात्रै दैनिक ३० किलो स्ट्रबेरी जाने गरेको उनले बताए।

फार्मबाट स्ट्रबेरी प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ। ‘सरकारले अनुमति दिएमा स्ट्रबेरीमा अनुसन्धान गरेर आगामी वर्ष स्ट्रबेरीको बिरुवा नै उत्पादन र बिक्री गर्ने योजना छ’, उनले भने।

ससनको टीमले अहिले स्पेनबाट बिरुवा ल्याएर यहाँ खेती गर्ने गरेको छ। बिरुवा ल्याउन सरकारी नीति पनि बाधक रहेको उनले बताए।

स्ट्रबेरीमा विशेषगरी फल कुहाउने ढुसीजन्य रोग लाग्ने उनले जानकारी दिए।

यसरी गरिन्छ खेती

स्ट्रबेरी माटोको ड्याङ बनाएर रोप्ने गरिन्छ। ड्याङको चौडाइ ७० देखि ९० सेन्टिमिटर सम्मको हुन्छ।

बिरुवाहरूलाई ड्याङमा ३० देखि ३५ सेन्टिमिटरको अन्तर बनाएर रोप्नुपर्ने उनी बताउँछन्। दुई ड्याङ बीचको दुरी कम्तिमा ४५ सेन्टिमिटर कायम गर्नुपर्छ।

‘दोमट माटोमा स्ट्रबेरीको खेती राम्रो हुन्छ’, उनी भन्छन्, ‘बिरुवा रोपेपछि नियमित रुपमा गोडमेल गर्नुपर्छ, बिरुवामा प्लाष्टिकको मल्च बनाएर सिंचाई गरिन्छ।’

उनका अनुसार जाडो याममा माटोमा चिस्यान रहिरहने भएकाले फल गुलियो हुन्छ। 

फार्ममा फोटो खिच्नेको भीड

फार्ममै स्ट्रबेरी किन्न जानको भीड लाग्ने गरेको छ। स्ट्रबेरी फार्म टिकटक स्पटको रुपमा प्रचार भएको छ।

सेल्फी खिच्न र टिकटक बनाउनकै लागि यहाँ टाढा–टाढादेखि युवायुवतीहरू आइपुग्ने गर्छन्। फार्ममा गएर फोटो खिच्नेको भीड बढेपछि फार्म प्रवेशमा निषेध लगाइएको छ।

गएको शनिबारसम्म फार्ममा गएर फोटो खिच्दै स्ट्रबेरी टिप्न र खान खुला थियो। ‘भीड बढेपछि फार्ममा जान रोक लगाइएको हो’, ससनले भने, ‘आधा खाएर फ्याँक्ने, झाल चुँडाइदिने गरेपछि रोक्न खोजिएको हो, तर विभिन्न बहाना बनाएर फार्ममै छिर्ने गरेका छन्।’

गेटमा ‘फार्म बन्द छ’ भनेर सूचना टाँस्दा पनि ग्राहकहरू फार्ममै छिर्न खोज्ने उनले बताए। त्यसपछि बुधबार र शनिबारको दिनमा मात्रै फार्मभित्र छिर्न पाइने भनेर सूचना टाँसिएको उनी बताउँछन्। 

फोटो खिच्न र टिकटक बनाउन शनिबारको दिनमा १५ सय भन्दा बढी मानिस आउने गरेका छन्। ‘आउँदै आएनन् भने पनि एक दिनमा सय जना त आएकै हुन्छन्’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.