व्यवसायी भन्छन् : सरकारले दिने भनेको सेवा सुविधा पाएनौं

|

चितवन : नेपालमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको एक वर्ष पूरा भएको छ। महामारीले नेपालमा कुनै क्षेत्र पनि अछुतो रहेन। जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ। वाइल्डलाइफ पर्यटनले परिचित सौराहामा वर्ष दिनदेखि विदेशी पर्यटकहरु आउन सकेका छैनन्।

कोरोना कहर सामान्य बन्दै गएका बेला पुनः जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जसले आन्तरिक पर्यटकको आगमनबाट बिस्तारै उठ्न थालेको पर्यटन क्षेत्रमा पुनः निराशा छाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले पनि होली पर्व घरमै बसेर मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ। यसले फेरि पनि लकडाउन हुने हो कि भनेर व्यवसायीहरु सशंकित भएका छन्। कोरोनाको जोखिम फेरि बढेपछि व्यवसायीहरुमा निराशा बढेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई बताउँछन्। यसबाट आन्तरिक पर्यटकहरु पनि नआउने हुन् कि भन्ने चिन्ता बढेको उनले बताए।

उनी भन्छन्, ‘बल्लतल्ल तंग्रिन लागेको अवस्था थियो, भीडभाड नगर्ने भन्ने सूचनापछि हामी निराश बनेका छौँ।’ कोरोनाकै कारण पछिल्लो एक वर्षमा भाडामा लिएर सञ्चालन भएका सौराहाका १० वटा होटल बन्द भएको उनले जानकारी दिए।

होटल व्यवसायीले अहिले २५ देखि ३० प्रतिशत कर्मचारी राखेर व्यवसाय टिकाउने काम मात्र गरेका छन्। लकडाउनको बेला सौराहाका सबै होटलले दैनिक ८० लाख रुपैयाँसम्म घाटा व्यहोर्नु परेको उनले बताए। ‘अहिले पनि नाफामा गइसकेको अवस्था हैन,’ उनी भन्छन्, ‘कर्मचारीको खर्च धान्न र व्यवसायलाई टिकाउने काम भएको छ।’

विदेशी पर्यटक आउन सक्ने स्थिति बनिनसकेकाले आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न सौराहाका होटल व्यवसायीहरुले घुमौँ सौराहा अभियान लिएर देश दौडाहामा गएका थिए। उक्त अभियानले सौराहामा थोरै भए पनि आन्तरिक पर्यटकहरुको आगमन बढेको अध्यक्ष भट्टराई बताउँछन्।

‘भारतीय पर्यटकहरु कम मात्रामा आएको अवस्था छ, तर तेस्रो मुलुकका पर्यटकको संख्या भने शून्य नै छ‚’ उनले भने, ‘सौराहामा आन्तरिक पर्यटकले नै होटल व्यवसायहरु धानिएका छन्।’

सरकारले दिने भनेको सेवा सुविधा पाएको व्यवसायीको गुनासो

कोरोना महामारीबाट अति प्रभावित भएको पर्यटन क्षेत्रलाई सरकारले दिने भनेको सेवा सुविधा नपाएको व्यवसायीहरुको गुनासो छ। ‘एक वर्षको अवधिमा पनि सरकारले दिने भनेको सेवा सुविधा सबै व्यवसायीले पाउन नसकेको अवस्था छ‚’ अध्यक्ष भट्टराईले भने, ‘फेरि लकडाउन भयो भने त हाम्रो लगानी सबै डुब्छ। त्यस कारण हामी धेरै चिन्तित छौँ।’

काठमाडौँ उपत्यकाबाहिरका मझौला तहका होटल व्यवसायले सरकारी सहुलियत प्राप्त गर्न नसकेको उनले बताए। कर छुट र सहुलियत ऋणमा विभिन्न बहाना बनाएर व्यवसायीहरुलाई दुःख दिने गरिएको भट्टराईको गुनासो छ।

क्षेत्रीय होटल संघ चितवनमा ११० वटा होटल तथा रेष्टुरेन्ट आवद्ध छन्। यी होटलहरुमा ६ हजार ५०० जना पर्यटकमलाई राख्न सक्ने क्षमता रहेको छ। अहिले दैनिक बढीमा चार हजार आन्तरिक पर्यटकहरु सौराहा जाने गरेका छन्।

हात्ती पाल्न मुस्किल

सौराहामा वाइल्डलाइफ पर्यटनका लागि विदेशी पर्यटकहरु आउँछन्। उनीहरु हात्ती सफारी र जिप सफारी गर्न रुचाउँछन्। तर‚ सौराहामा अझै पनि विदेशी पर्यटक नआउँदा व्यवसायीलाई हात्ती पाल्न मुस्किल परेको छ।

कोरोनाको कारण हात्ती पाल्न नसकेर कम्तीमा २० वटा हात्ती स्थानान्तरण भएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी बताउँछन्। आन्तरिक पर्यटकले मात्रै हात्तीहरु पाल्न नसकिने भन्दै उनले हात्ती पाल्नका लागि विदेशी पर्यटकको नै भर पर्नुपर्ने बताए।

‘हात्ती पाल्न नसकेर विस्थापित भइरहेका छन्‚’ उनी भन्छन्, ‘कम्तीमा निकुञ्जभित्रको घाँस काट्न दिने र चराउन दिने भए त हात्ती पाल्न सहज हुने थियो। सरकारले यता चासो देखाएको छैन।’

एउटा हात्तीलाई धान, भेलीलगायत पौष्टिक आहार दैनिक २० किलो र पराल, घाँसलगायत सामान्य आहार दैनिक २५० किलोसम्म खुवाउनुपर्छ। यसरी खुवाउँदा दुई माउतेसहित एउटा हात्ती पाल्न महिनामा एक लाख रुपैयाँसम्म खर्च लाग्ने उनी बताउँछन्।

क्षतिको कुनै समा छैन

कोरोना महामारीले पर्यटन क्षेत्रमा पुर्‍याएको क्षतिको विवरणको कुनै सीमा नहरेको मेघौलीस्थित सराङ वाइल्डलाइफ स्यान्चुरीका सञ्चालक सुवोध प्रधान बताउँछन्। ‘क्षतिको त कुनै सीमा नै छैन‚’ उनी भन्छन्, ‘अझै पनि विदेशी पर्यटक आउन सकेका छैनन्। फेरि कोरोनाको दोस्रो चरण आएको भन्ने समाचार छ। त्यसले गर्दा अन्यौल बनाएको छ।’

पुनः लकडाउन भइहाल्यो भने खर्च कसरी धान्ने भनेर चिन्ता बढेको उनी बताउँछन्। मेघौलीका होटलहरु सार्वजनिक बिदाको दिन आन्तरिक पर्यटकले भरिन्छन्। मेघौली वाइल्डलाइफ पर्यटनका लागि ‘भर्जिन’ क्षेत्र मानिन्छ।

पश्चिम चितवनको मैघौली क्षेत्रमा विदेशी पर्यटकहरु आएर बस्ने ताज सेराई, सराङ वाइल्डलाइफ र बाराहीजस्ता ठूला होटल रहेका छन्। यसका अलवा मध्यम स्तरका थुप्रै होटलहरु र होम स्टेहरु पनि सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.