बालबालिका मात्रै ७ सय ६१ जना

|

काठमाडौं : दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले गत फागुन २४ गते तीन सन्तानसहित कर्णाली नदीमा हामफालेर आत्महत्या देह त्याग गरिन्।

सुकीको ३८ वर्षीय श्रीमान मानसिंह बडुवालसँग अघिल्लो साँझ घरायसी विवाद भएपछि भोलीपल्ट चार सन्तानसहित घरबाट निस्केर उनी कर्णाली नदीमा हाम फालेकी थिइन्। एक वर्षअघि आजकै दिन सरकारले कोरोना महामारी रोक्न भन्दै लकडाउन गरेको थियो। एक हप्ताका लागि गरिएको लकडाउन चार महिनासम्म लम्बिँदा धेरै मानिस घरमै थुनिए।

निरन्तर घरभित्रै बसिरहँदा परिवारका सदस्यबीच विवाद पनि बढ्दै जान थाल्यो। फलस्वरुप धेरैले मृत्युको बाटो रोजे। धेरैको रोजगारी गुम्यो, घरेलु हिंसा बढ्यो र कोभिडकै कारण मानसिक स्वास्थ्यमा असर परेर पनि मानिसले आत्महत्याको बाटाे रोज्ने गरेकाे चिकित्सकले बताएका छन्।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष चैतदेखि माघ महिनासम्म देशभर झण्डै ७ हजार जनाले आत्महत्या गरेका छन्। ३ हजार ६ सय २२ जना पुरुष, २ हजार ३ सय ७ जना महिला र ७ सय ६१ जना बालबालिका गरी कूल ६ हजार ६ सय ९० जनाले आत्महत्या गरेका हुन्। 

उनीहरुले विष सेवन, आगो लगाई, झुन्डिएर, औजार तथा हातहतियार प्रयोग गरी, हाम फालेर, करेन्ट लगाई र डुबेर आत्महत्या गरेका छन्।

काठमाडौं उपत्यकामा  कूल ५ सय २३ जनाले आत्महत्या गरेकामा ३ सय २७ पुरुष, १६२ महिला र ३४ जना बालबालिका छन्। 

प्रदेश १ मा ७ सय १८ पुरुष, ४ सय २० महिला, प्रदेश २ मा ३ सय ४९ पुरुष, ३ सय ३२ महिला, बागमती प्रदेशमा ५ सय ५६ पुरुष, ३ सय ८० महिला, गण्डकी प्रदेशमा ३ सय ५३ पुरुष र २ सय १८ महिलाले आत्महत्या गरेका प्रहरीको तथ्यांक छ।

लुम्बिनी प्रदेशमा ७ सय २० पुरुष,४ सय ७ महिला, कर्णालीमा २ सय ५६ पुरुष, १ सय ३९ महिला, सुदुरपश्चिम प्रदेशमा ३ सय ३३ पुरुष,२ सय ५८ महिलाले आत्महत्या गरेका छन।

आत्महत्या गर्ने बालबालिकाको संख्या पनि कहालीलाग्दो छ। ११ महिनाको अवधिमा ७ सय ६१ बालबालिकाले आत्महत्या गरेका छन्। प्रदेश १ मा ६९ बालक र ९६ बालिका, प्रदेश २ मा बालक ७२ र १ सय २५ बालिका, बागमती प्रदेशमा बालक २५ र ४४ बालिका, गण्डकी प्रदेशमा २३ बालक र ३६ बालिका, लुम्बिनी प्रदेशमा ३८ बालक र ९२ बालिका, कर्णाली प्रदेशमा २८ बालक र २४ बालिका, सुदुरपश्चिम प्रदेशमा २८ बालक र ३७ बालिकाले आत्महत्या गरेका छन्।

‘काेभिड महामारीपछि मानसिक राेगी बढे

पछिल्लो समय आत्महत्या र मानसिक स्वास्थ्य विश्वका लागि गम्भीर समस्या बन्दै गएको चिकित्सकहरुले बताउँदै आएका छन्। पाटनस्थित मानसिक अस्पतालका मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीका अनुसार अधिकांश आत्महत्या गर्नेहरु मानसिक रोगीहरु छन्।

'८५ प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका मानिसले आत्महत्या गरेका छन्',उनी भन्छन, 'गरीबी,सामाजिक विचलन र घरेलु हिंसालाई मुख्य कारण मान्न सकिन्छ।'

कोभिड महामारी सुरु भएपछि झन् धेरै मानसिक रोगीहरू बढेको डा.अधिकारीले बताए। कोभिडसँग सम्बन्धित मानसिक समस्या,मनोरोगी र लागूपदार्थ सेवन गर्नेहरूमा गत एक वर्षमा धेरै मानसिक समस्या देखिएको उनको भनाइ छ।

परिवारमा कोही कसैलाई मानसिक स्वास्थ्यको समस्या देखिएमा उनीहरुलाई समयमा उपचार गर्न उनले सुझाव दिए। मानसिक स्वास्थ्य आफैंमा गम्भीर समस्या नभएको उनको दाबी छ। मनोपरामर्श गरी र औषधि सेवन गरेर पनि यस्ता समस्याको समाधान गर्न सकिने उनले बताए।

परिवारमा कसैलाई मानसिक समस्या देखिएमा उपचार गर्न र हौसला दिनुपर्ने उनको भनाइ छ। कुनै पनि व्यक्तिमा निराशाजनक भावना पैदा भएको छ जस्तो लाग्छ भने अरुलाई आफ्नो समस्या भन्न उनले आग्रह गरे। आत्महत्याका लागि सहज हुनेगरी खुला रुपमा किटनाशक औषधिको बिक्री वितरण पनि रोक्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.