|

दक्षिणी बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

आगलागी भएको स्थानबाट उद्धारकर्ताले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन्। रोहिंग्या शरणार्थीले आश्रय लिएको उक्त ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए। 

शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रक खटिएका थिए। 

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए। डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।

म्यानमारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरमा बसेका छन्। यी शरणार्थी सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए।
बंगलादेशको रोहिंग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो। बंगलादेशले रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ। यसका लागि विगतमा म्यानमार र बंगलादेशबीच सहमति भए पनि शरणार्थीहरु म्यान्मारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.