|

मोरङ : नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधालाई विकेन्द्रीकृत र पारदर्शी र परिणाममुखी बनाउने बताएका छन् । 

नेपाल सेना कल्याणकारी बोर्डको संयोजकत्वमा पूर्वी पृतना हेडक्वाटर इटहरीमा आयोजित भुपू सैनिक सम्मेलनमा प्रमुख सेनापति थापाले कल्याणकारी सुविधालाई हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउने खालका काममा लगाउने बताएका हुन्। 

नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ कार्यान्वयन भइसकेको जानकारी दिए। साथै उनले यसअन्तर्गत शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगारलगायत कल्याणकारी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताए। 

नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरुले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै थापाले भने, ‘यस प्रकारका कार्यक्रमले भूपू तथा बहालवाला सैनिकबीच सामीप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीको पीरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहनेछ।’ 

कार्यक्रममा जेष्ठ भूपू सैनिक सिपाही  ९१ वर्षीय रत्नबहादुर पौडेल र तत्कालीन फष्ट राइफल गुल्मबाट अवकाशप्राप्त स्वर्गीय नवथ सिंह कार्कीकी श्रीमती मायादेवी कार्कीलाई सम्मान गरिएको थियो। 

त्यस्तै सर्वोकृष्ट लघु व्यवसायी बन्न सफल संखुवासभाकी हिमा अधिकारी, ४ वा सोभन्दा बढी सन्ततीलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १६ जना युवा तथा आमाहरुलाई पनि सम्मान गरिएको थियो।

साथै ८ जना फरक क्षमता भएकाहरुलाई ह्विलचेयरसमेत वितरण गरिएको थियो। भने सोही दिन प्रधान सेनापति महारथी थापाले नेपाली सेना सुपथ क्यान्टिङको समेत उद्घाटन गरेका थिए।

'हर्ष लागेको छ'

उदयपुरकी ८० वर्षीया टंकमाया कार्कीको खुशीले सीमा नाघेको छ। ४ वा सोभन्दा बढी सन्ततीलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १६ जना युवा तथा आमालाई सम्मान गरिएको थियो। त्यसमध्ये उनी पनि हुन्। उनका ५ भाइ छोरा सेनामा रहेको र सबै अवकाशप्राप्त भइसकेका उनले कार्यक्रमपछि हाँस्दै सुनाइन्।

‘पाँचै भाइ छोरा नेपाली सेनामा जागिरे थिए,’ हाँस्दै उनले भनिन्, 'पाँचै भाइले पेन्सन पकाए, जेठो छोरा सुविदार भयो, कान्छो जम्दार भयो, काइलो, साइलो र माइलो हवल्दार भए‍।' सम्मान पाउँदा उनी दंग थिइन्। 

नेपाली सेनाले जनपक्षमा केही गर्ला भन्ने आशा

उदयपुरका शेरबहादुर कार्की सेनाका अवकाशप्राप्त प्रमुख सुविदार हुन्। भुपू सैनिक सम्मेलनमा सहभागी जनाउन आएका कार्कीले यस्ता खालका कार्यक्रम नेपाली सेनाको इतिहासमा पहिलो पटक भएको बताए।

 अन्य समय पनि भूपु सैनिक सम्मेलन भइरहेको भए पनि वृद्धवृद्धा अभिभावक, एकल महिला लगायतलाई सम्मान गर्ने कार्यक्रम पहिलो पटक आयोजना भएको उनले बताए।

‘वृद्धवृद्धाको निराशालाई उल्लासमय बनाउने कार्यक्रम इतिहासमा पहिलो पटक हो,’ उनले भने, ‘अबको दिनमा ४–५ भाइ छोरा हुँदैनन्, थोरै सन्तान जन्माउने भएकाले यो कार्यक्रम अवस्मरणीय र प्रशंसनीय छ।’ 

विगतभन्दा पछिल्लो समय नेपाली सेनामा कार्यरत कर्मचारीका लागि धेरै परिवर्तनसहितका ऊर्जा दिने कार्यक्रमहरु आएका उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.