एक करोड बढी डाउनलोड

|

काठमाडौं : पहिले-पहिले मानिसहरु बार, तिथि,चाडपर्व र मिति हेर्नुपरे भने घरको भित्तामा झुन्ड्याइएको क्यालेन्डर पल्टाउन पुग्थे। जहाँ बारदेखि वर्षभरिमा हुने चाडपर्वहरू सम्पूर्ण समावेश गरिएको हुन्छ। प्रविधिको विकाससँगै क्यालेन्डर र पात्रोको ठाउँ मोबाइलले लिने थालेको छ।

हिजोआज समय कति बज्यो, कति गते हो भने क्यालेन्डर भन्नासाथ मोबाइलमा हेर्छौ। अझ भनौं हरेक नेपालीको मोबाइलमा हुने 'हाम्रोपात्रो' एपलाई सम्झन्छौं। पात्रोमा मिति, 'समाचार', 'ज्योतिष', 'रेडियो', 'राशिफल', 'कुण्डली', 'ब्लग' 'साहित्य', 'सेयर' 'बजार', 'नेपाली विनिमय दर'लगायत एउटा मानिसलाई चाहिने सम्पूर्ण आधारभूत कुरा पाइन्छन्।

'हाम्रोपात्रो' एप डाउनलोड भएको १ करोड पुगेको छ। गुगल प्ले स्टोरबाट १ करोड डाउनलोड पूरा भएको हो। यसले नेपाली कम्पनीको गर्विलो इतिहास रच्न सफल भएको मान्न सकिने हाम्रोपात्रोको निर्देशक शंकर उप्रेती बताउँछन्। उनका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता करिब डेढ करोड छन्। तर यति धेरैको संख्यामा डाउनलोड हुनु भनेको हाम्रो लागि प्रेरणाको स्रोत प्रयोगकर्ताहरु रहेको उनले बताए।

'हाम्रोपात्रो'ले विधिवत् रुपमा सन २०१५ देखि कार्यालय स्थापना गरी सेवा सुचारु गरेको थियो। ५ जनाबाट सुरुवात गरेको कम्पनी ३५ जनामा पुगेर कम्पनी निर्बाध रुपमा सञ्चालन हुनु यसलाई निरन्तरताको उपज मान्छन् शंकर। कुनै पनि काम गरेपछि निरन्तर रुपमा गरिरह्यो भने अवश्य सफल भइन्छ भन्ने उदाहरण 'हाम्रोपात्रो'ले दिएको दाबी गर्छन् उनी।

हाम्रोपात्रोको जन्म कसरी भयो भन्ने प्रश्नमा भन्छन्, 'विदेशमा बसिरहने मानिस म। नेपालमा हुने चाडपर्व के-के पर्छ त्यो थाहा थिएन। हरेक दिन आज कति गते के बार हो केही थाहा नहुने। त्यो अन्योलता हटाउन नै यसको विकास गरेको हुँ। आमाको मुख हेर्ने दिन वा चाडपर्वको खोजीमा यसको जन्म भयो।'

थोरै लगानी र सन्तुलनमा गरेको मेहनतले पनि आम्दानी गर्न सक्ने उनी विश्वास गर्छन्। हाम्रोपात्रो एपबाट सन्तुष्ट मिल्ने गरी कमाइ गरेको उनी बताउँछन्।

हाल अमेरिकामा बस्दै आइरहेका शंकर आइटीका विद्यार्थी हुन्। उनलाई सानैदेखि प्रविधिमा रुचि भएकोले पुल्चोक इन्जिनियरिङ क्याम्पससम्म डोर्‍यायो र त्यहीँबाट पढाइ सिध्याई उच्च शिक्षाका लागि अमेरिका गए। बोस्टन विश्वविद्यालयबाट अध्ययन पूरा गरे। 

बाराको सिपहीमा जन्मेका शंकरले स्कुले शिक्षा वीरगञ्जबाट पूरा गरेका थिए। ८ कक्षामा पढ्दा पहिलोपटक कम्प्युटर देखेका उनले त्यसैबाट आफ्नो भविष्य खोजे। उनी अमेरिकामा बसेर पनि हाम्रोपात्रोको काम गरिरहेका छन्। नेपाली युवाले बनाएको यो एपलाई सहजै उपलब्ध हुने गरी निर्माण गरिने उनको योजना छ।

'पहिलोपटक स्कुलमा देखेको कम्प्युटरले आइटीमा डोर्‍यायो'

लैनचौरमा रहेको युनिभर्सल एकेडेमी (अहिले बबरमहलमा रहेको युनिभर्सल कलेज) बाट उनले आइएससी (प्लस टू) सके। विद्यालय तहसम्म नेपाली माध्यमबाट पढेका शंकरलाई काठमाडौंमा अंग्रेजीबाट पढ्न निकै सकस परेको थियो। आफ्नो रूचिलाई पछ्याउने भोक जागेपछि भाषालाई सामान्य रुपमा लिई अप्ठयारो विषय उनले रोजे। 

प्लस टु पढ्दा उनले कम्प्युटर विषय रोजेका थिएनन्। अंग्रेजी र विज्ञान अप्ठयारो भएकोले त्यसमा नै उनले जोड गरे। कम्प्युटर विषय नरोजे पनि शंकरले एक हदसम्म बुझिसकेका थिए।

समय बित्दै जाँदा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट छात्रवृत्तिमा नाम निकाली कम्प्युटर इन्जिनियरिङ पढ्ने सपना देखे। त्यहाँको प्रवेश परीक्षामा कम्प्युटरभन्दा बढी प्रश्न विज्ञान विषयबाट सोधिने कुरा उनले बुझे। ।

शंकरले आइएस्सी पढाइलाई पुल्चोक इन्जिनियरिङ छात्रवृत्तिको तयारीमा ढाले। नभन्दै सन् २००० को प्रवेश परीक्षा पास गर्न पनि सफल भए।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सम्पूर्ण परीक्षार्थीमध्ये उनको नाम दोस्रो नम्बरमा निस्किएको थियो। पुल्चोक क्याम्पसमा सन् १९९८ देखि नै कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ सुरु भएको थियो। पहिलोपटक विद्यालयमा देखेको कम्प्युटरले उनलाई आइटी क्षेत्रमा आकर्षित गरेको थियो।

शंकरसँग १५ वर्षसम्म सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा काम गरेको अनुभव छ। निजी कम्पनीबाट आफ्नो करिअर सुरुवात गरेका उनले सन् २००४ देखि २००८ सम्म नेपालमै डिटु ह्वायकीको कार्यालयमा काम गरेका थिए। त्यसपश्चात् उनी अमेरिकामै सन २००८ देखि २०१२ सम्म भरसिक हेल्थ कम्पनीमा काम गरे।

विगत सम्झिँदै शंकर भन्छन्, 'दिनभर अर्को कम्पनीमा काम गर्थे। रातको फ्रि समयमा हाम्रोपात्रो एपका लागि काम गरेर यो अवस्थामा ल्याएको छु। आजको सफलता त्यहीँ रात्रीकालिन कामको देनजस्तो लाग्छ।'  

शंकर अमेरिका बसे पनि हाम्रोपात्रोकै काम गरिरहेका छन्। भविष्यमा यो एपले बहुउपयोगी काम गर्न सक्ने गरी विकास गरिरहेको उनको भनाइ छ। नेपालजस्तो विकासोन्मुख मुलुकका युवा प्रविधिमैत्री हुँदै जानु राष्ट्रको लागि गौरवको विषय बनेको छ।

हाम्रोपात्रोलाई अन्य सामाजिक सञ्जालजस्तै विकास गर्ने शंकरको योजना छ। 'प्रयोगकर्ताले अडियो र भिडियो कल सहजै प्रयोग गर्ने सक्ने गरी काम अगाडि बढाइरहेका छौं,' उनले भने।

'अनुभव बटुलेर स्टार्टअप बिजनेस गरौं'

सरकार निजी कम्पनीप्रति उदारता नभए पनि पछिल्लो समय खुला अर्थतन्त्रलाई अंगीकार गर्दै गएको छ। नेपालमा 'स्टार्टअप' बिजनेसको सुरुवाती भर्खरै सुरु हुनुमा त्यसलाई अंगीकार गरेको मान्नुपर्ने उनी बताउँछन्। 'हाम्रो कम्पनीले नेपालमा कार्यालय खोलेर काम गरिरहेको छ, यो पनि राज्यलाई सहयोग गरेको भन्नुपर्छ,' उनको धारणा छ।

नेपालमा स्टार्ट अप बिजनेस फेसनको रुपमा फैलिँदै गएकोमा शंकरलाई चिन्ता लागेको छ। उनी भन्छन्, 'स्टार्ट अपमा केही गर्नुछ भने सुरुवातीमा केही वर्ष अनुभव बटुल्न पर्छ। त्यसपछि आउँदा लगानी सुरक्षित हुन्छ। आफ्नो उत्पादनमा गुणस्तर दिन सकिन्छ।'

आइटी क्षेत्रमा उनले दक्ष जनशक्ति नहुँदा नयाँ-नयाँ काम गर्न चुनौती खडा हुने देखेका छन्। शंकर भन्छन्, 'डिजिटल मार्केटिङको राम्रो वातावरण नेपालमा बनिसकेको छैन। यसलाई प्रश्रय दिन पनि सरकारले तयारी गरेको छैन।' डिजिटल मार्केटिङ सामाजिक सञ्जालबाट मात्र गर्न सकिने ठान्दा गलत धारणाको विकास भइरहेको उनले बुझाए। इन्टरनेटको विभिन्न प्लाटफर्ममार्फत यस्ता काम गर्न सकिने उनको अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.