पहिलेभन्दा पनि उच्च सजगता अपनाउन सुझाव

|

भारतमा एकैसाथ कोरोना भाइरसका विभिन्न भेरियन्ट फैलिएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार देशका १८ राज्यमा कयौं भेरियन्ट अफ कन्सर्न्स पाइएको छ। यसको अर्थ देशका फरक–फरक भागमा कोरोना भाइरसको पनि फरक–फरक प्रजाति फेला परेको भन्ने हो।

यी सबै प्रकारका भेरियन्टले सार्वजनिक स्वास्थ्यमा जोखिम निम्त्याएको त्यहाँको सरकारले जनाएको छ। 

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा फेला परेका भाइरसका फरक–फरक भेरियन्टसमेत भारतमा पाइएको छ। भारतमा मात्रै फेला परेको डबल म्यूटेन्ट भेरियन्ट पनि लगातार फैलिइरहेको छ।

यसरी पत्ता लाग्यो नयाँ भेरियन्ट

​इन्डियन सार्स सीओवी–२ कन्सोर्टियम अन जेनोमिक्स (आइएनएसएसीओजी) स्वास्थ्य मन्त्रालयमातहत बनाइएको १० राष्ट्रिय ल्याब्रोटरी समूह हो। यो समूहले देशका अलग–अलग भागबाट ल्याइएका नमूनाको जेनोमिक सिक्‍वेन्सिङ पत्ता लगाउने गर्छ। 

जेनोमिक सिक्‍वेन्सिङ कुनै जीवको पूरै जेनेटिक कोडको खाका तयार गर्ने एक परीक्षण प्रकृया हो। 

सन् २०२० डिसेम्बर २५ मा गठन गरिएको आइएनएसएसीओजीले सीक्वेन्सिङका साथै कोभिड–१९ भाइरस फैलावट र जेनोमिक भेरियन्टमाथि समेत अध्ययन गरिरहेको छ। यी सबै अध्ययन महामारी विज्ञहरूको प्रत्यक्ष निर्देशनमा भइरहेको छ। 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार आइएनएसएसीओजीले विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूबाट १० हजार ७८७ जना कोरोना संक्रमितको नमूना एकत्रित गरेको थियो। ती मध्ये ७७१ नमूनामा कोरोनाको डबल म्यूटेन्ट भेरियन्ट पुष्टि भएको हो। 

७११ मध्ये ७३६ वटा नमूनामा बेलायतमा फेला परेको, ३४ वटामा दक्षिण अफ्रिकी भेरियन्ट र एउटा नमूनामा ब्राजिली भेरियन्ट पुष्टि भएको छ। 

अहिले चर्चामा रहेको चाहिँ डबल म्यूटेन्ट भेरियन्ट हो। भाइरसको यो भेरियन्टको स्थितिबारे थाहा पाउन मन्त्रालयले जेनोमिक सीक्वेन्सिङ र महामारी विज्ञानसम्बन्धी अध्ययन जारी राखेको छ। 

महाराष्ट्रको पश्चिमी भागमा संकलन गरिएको नमूनामध्ये १५ देखि २० प्रतिशतमा डबल म्यूटेन्ट भेरियन्ट फेला परेको छ। देशका केही स्थानमा यो भेरियन्ट निकै तीव्र गतिमा फैलिइरहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार यो भेरियन्ट निकै संक्रामक र प्रतिरक्षा प्रणालीमा आक्रमण गर्नसक्ने खालको रहेको छ।

सरकारी निकायमा रहेका विज्ञहरूले अब स्वास्थ्य परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा संक्रमितहरूलाई आइसोलेट गर्न सुझाएका छन्। कोरोनाको यो लहरबाट जोगिन पहिलेभन्दा पनि उच्च स्वास्थ्य सजगता अपनाउन आवश्यक रहेको महामारी विज्ञहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.