|

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि भारतले कोरोनाविरुद्ध खोप निर्यातमा रोक लगायो। हाल भारतभर कोरोनाविरुद्ध भ्याक्सिनको बढ्दो माग भइरहेको छ। त्यसैले अब अप्रिलको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन पठाउने छैन। 

जसका कारण नेपालमा चलिरहेको खोप अभियानमा प्रत्यक्ष असर देखिने भएको छ। हाल नेपालमा अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित र भारतको सिरम कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोप अभाव त हुने होइन? आशंका बढ्न थालेको छ। 

तर तत्कालै खोप नआए पनि पहिलो चरणमा लगाएकालाई दिइने दोस्रो डोजको आवश्यक मौज्दात भने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताउँछ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार भारतीय कम्पनी सिरम इन्स्टिच्युटले भने खोप निर्यातमा रोक लगाएकोबारे कुनै आधिकारिक जानकारी दिएको छैन। 

तत्कालै खोप नआए पनि पुनः खोप कार्यक्रम सञ्चालन नहुने तर पहिलो चरण खोप लगाइसकेकालाई दोस्रो डोज लगाउन पर्याप्त मौज्दात रहेको उनले दाबी गरे। माघ १४ देखि पहिलो चरणको खोप लगाएकाले वैशाख ७ देखि १४ दोस्रो मात्राको डोज पाउनेछन्। 

पहिलो चरणमा चार लाख बढीले खोप लगाएका थिए। भारतले अनुदानस्वरुप दिएको १० लाख डोज खोपबाटै सरकारले पहिलो चरणको खोप अभियान थालेको थियो।

सरकारले २० लाख डोजमध्ये १० लाख र कोभ्याक्सको अनुदानस्वरूप प्राप्त ३ लाख ४८ हजार डोज गरी झण्डै साढे २३ लाख डोज खोप नेपाल ल्याएको थियो। हाल सरकारसँग करिब ७ लाख खोप मौज्दात छ। त्यही बाँकी खोप दोस्रो चरणमा लगाउने मन्त्रालयको तयारी छ। 

२३ फागुनपछि चलेको दोस्रो चरणको दोस्रो डोज खोप भने अन्योल!

समयमै नआए गत फागुन २३ गतेदेखि चलेको दोस्रो चरणको खोप कार्यक्रम भने अन्योल रहने मन्त्रालय बताउँछ। 

२३ फागुनदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानमा ५५ वर्षमाथिकालाई सरकारले खोप लगाइरहेको छ। तर अब समयमै भारतले खोप उपलब्ध नगराए दोस्रो चरणको दोस्रो डोज खोप अभियान अन्योल हुने मन्त्रालयका एक अधिकारीले बताए। 

‘कम्पनीले सम्झौताअनुसार खोप पठाउँछ भनेर दोस्रो चरणको अभियान गरियो, तर खोप आएन। अब  त झन् कम्पनीले निर्यातमा रोक लगाउने भन्ने खबर आएको छ,समयमै आएन भने दोस्रो चरणमा खोप लगाएकालाई अर्को खोप दिन ढिला हुन सक्छ।'

मन्त्रालयले घोषणा गरेअनुसार पहिलो चरणमा खोप लगाएकाले दोस्रो मात्रा ८ देखि १२ हप्तामा लगाउनुपर्ने हुन्छ। त अहिले भएको खोप दोस्रो चरणमा लगाउँदा सकिने हुँदा २३ फागुनबाट लगाएकाले अर्को डोज पाउन अभाव हुन सक्ने उनको भनाइ छ।  

यता कोभ्याक्स योजनाअन्तर्गत पनि हालसम्म नेपालमा भारतबाटै ल्याइएको खोप मात्र छ। अब भारतले खोप दिन नसक्ने समाचार आएसँगै खोप अभियानमै प्रभाव पर्न सक्ने ती अधिकारी बताउँछन्। 

सरकारले यसअघि २३ फागुनदेखि नै ५५ वर्षमाथिकालाई कोभिडविरुद्ध खोप दिने बताएको थियो। त्यसबेला पनि पर्याप्त मात्रामा खोप आइनसकेको भन्दै अन्तिम समयमा उमेर हद ५५ बाट बढाएर ६५ पुर्‍याएको थियो। हालसम्म नेपालमा १६ लाख भन्दा बढीले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

यता चीनले सहुलियतमा दिने भनेको ८ लाख डोज सिनोफार्म खोप आगामी सोमबार मात्रै काठमाडौं आइपुग्ने भएको छ। सरकारले खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको चार्टड विमान बेइजिङ पठाउँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.