|

एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउन क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्‍वाड) गठबन्धन बनाएका अमेरिका र भारतलाई चुनौती दिन रूस र चीनले पनि रिजनल सेक्युरिटी डायलग प्लेटफर्म (आरएसडीपी) गठन प्रस्ताव राखेका छन्। 

चीनको दक्षिणी शहर गुइलिनमा चीनका विदेशमन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेइ लाव्रोभबीच यो गठबन्धन बनाउन सहमति भएको हो।

क्षेत्रीय टकराव लिन झुण्ड झुण्ड बनाएको भन्दै दुई देशका विदेशमन्त्रीहरूले अमेरिकामाथि कटाक्ष समेत गरेका छन्। 

मार्च १२ तारिखमा क्‍वाड शिखर सम्मेलन भएलगत्तै मार्च १९ मा रूस–चीन शिखर सम्मेलन आयोजना भएको थियो। सम्मेलनका बेला एसियाका दुई शक्तिशाली देशले नयाँ गठबन्धन प्रस्ताव गरेका हुन्। 

रूस र चीनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा एसिया प्रशान्त क्षेत्रका मुलुकहरूको सुरक्षा चिन्ता हटाउन क्षेत्रीय सुरक्षा संवाद मञ्च स्थानीय गर्ने प्रस्ताव राखिएको उल्लेख छ।

साथै, अमेरिकालाई हालैका वर्षमा वैश्विक शान्ति र विकासमा भएको नोक्सानीमाथि विचार गर्न आग्रह गएिका छ। अन्य देशको घरेलू मामिलामा दख्खल नदिन र क्षेत्रीय टकराव लिन छोटा छोटा समूह बनाउन छाड्न पनि चेतावनी दिइएको छ।

चीन र रूस पहिलदेखि नै शांघाई सहयोग संगठन (एससीओ) सुरक्षा समूहका सदस्य मुलुक हुन्। यो संगठनमा भारत पनि सहभागी छ।

रूस–चीन शिखर सम्मेलनमा दुवै देश अमेरिकामाथि खनिएका थिए। क्‍वाडमा अष्ट्रेलिया र जापानसमेत सहभागी छन्। रूस र चीनले अमेरिका, भारत, जापान र अष्ट्रेलिया गरी चार देश सम्मिलित क्‍वाड गठबन्धनप्रति निशाना साँधेका हुन्।

सन् २००७ मा जापानका प्रधानमन्त्री सिञ्जो आबेउले क्‍वाड गठबन्धन बनाउने प्रस्ताव राखेका थिए। यो गठबन्धनमा भारत, अमेरिका र अस्ट्रेलिया पनि आवद्ध भएका थिए। यस वर्ष सो गठबन्धनको बैठक भएको थियो। 

चीनसँग भारतको पनि परम्परागत दुस्मनी छ। भारतसँग रूसको कूटनीतिक सम्बन्ध सन्तोषजनक भएपनि अमेरिकासँग चीनभन्दा पनि अघिदेखि तिक्ततापूर्ण सम्बन्ध रहिआएको छ। 

अर्कोतर्फ अष्ट्रेलिया र जापान पनि दक्षिण चीन सागरलाई लिएर चीनसँग भिडिरहेका छन्। भारत र चीनबीच सीमामा बारम्बार झडप हुने गरेको छ।

रूस र चीनले क्‍वाड गठबन्धनप्रति आपत्ति जनाउँदै आएका छन्। यसलाई चीन विरोधी अग्रमोर्चा या उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो) को सानो गुट रहेको चीनले आरोप लगाएको छ। 

यो क्षेत्रीय टकरावमा रूसले चीनलाई पूरापूर साथ दिएको छ। मस्कोले क्‍वाड गठबन्धनबाट आफ्नो क्षेत्रीय सुरक्षामा खतरा बढ्ने आंशका राखेको छ। क्‍वाड देशबीच भएको बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रिमेन्ट (बेका) सम्झौतालाई लिएर पनि रूसले आपत्ति जनाइसकेको छ। 

यो सम्झौतामार्फत अमेरिका र भारतले एक दोस्रोबीच अत्याधुनिक सैन्य साझेदारी, बन्दोबस्ती तथा भूरणनीतिक मानचित्र साझेदारी गर्दैछन्।

यस्ता मामिलामा रूस र चीनले पनि लामो समयदेखि साझेदारी गरिरहेका छन्। चीनका राष्ट्रपतिले सन् २०१९ मा रूस भ्रमण गर्दा त्यहाँका राष्ट्रपतिलाई सबैभन्दा असल साथी भएको बताएका थिए। त्यसबेला चीन र अमेरिकाबीच व्यापारयुद्ध चलिरहेको थियो। 

अमेरिकी प्रतिबन्धबीच पनि रूस र चीनबीच व्यापार निरन्तर भइरहेको छ। अफगान सरकार र विद्रोही तालिवानीबीच वार्ता गराउन पनि यी दुई देशले महत्वपूर्ण भूमिका निभाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.