|

काठमाडौं : गत फागुन १० गतेदेखि बेपत्ता भएका महोत्तरी पिपराका झा दम्पतीको शव उनीहरु वेपत्ता भएको ३२ दिनपछि गाडिएको अवस्थामा फेला परेको छ। पिपरा गाउँपालिका–५ सहोडबाका मुसाफिर झा र उनकी श्रीमती गीता देवी झाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको हो।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले झा दम्पतीको शव अलग–अलग खाल्डोमा  गाडिएको अवस्थामा बिहीबार फेला परेको जानकारी दिए। घरभन्दा झण्डै तीन किलोमिटर दूरीमा शव फेला परेको उनले बताए।

‘एउटाको शव बोरामा हालेर पुरै गाडेको र अर्कोको टाउको देखिने गरी गाडेको अवस्थामा भेटियो’ सिंहले भने,‘शवको झा दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन्।’ गीतादेवीले लगाएको कपडा, पोते र चुरा तथा मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको सिंहले जानकारी दिए।

घरमा सुतिरहेको अवस्थामा उनीहरू गत फागुन १० गतेदेखि खाटसहित बेपत्ता भएका थिए। झा दम्पती अपहरण गरेका अभियोगमा प्रहरीले पिपरा गाउँपालिकाका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो। जग्गा विवादका कारण गर्दा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.