मृत्यु भइसकेको नाममा वारेसनामा, मान्छेदेखि कागजातसम्म नक्कली

|

झापा : जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेर करोडौँ मूल्य पर्ने जमिन अर्को व्यक्तिको नाममा नामसारी भएको एउटा घटना झापामा बाहिरिएको छ।

घटना हो– साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको जमिनको। 

बिर्तामोडका समाजसेवी तथा चर्चित व्यक्तित्व टुंङगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा नामसारी भएपछि यस्तो घटना बाहिरिएको हो।

बस्नेतको नाममा रहेको सो जमिन जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाले २०७७ साल माघ २१ गते राईको नाममा नामसारी गरेको छ। तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो।

जग्गाधनी बस्नेतको नाममा रहेको जमिनमाथि पहिलो हकदाबी उनका सन्तानहरू गोपाल, श्याम र जितेन्द्र बस्नेत हुन्छन्। कुनै पनि सन्तानको नाममा जमिन नामसारी नै भएको देखिँदैन। तर, मृत्यु भइसकेको व्यक्तिको जमिन परिवारका सदस्यको नाममा नामसारी नभई एकैचोटि तेस्रो व्यक्तिको नाममा गएको यस घटनाले जिल्लामै तरंग ल्याएको छ।  परिवारका सदस्यले जमिन नामसारी भएको एक महिनापछि घटना थाहा पाएपछि झापा प्रशासनले आन्तरिक रुपमा यसको अनुसन्धान थालिसकेको बताइएको छ। 

कसरी भयो नामसारी?

२०७६ साल साउन २४ गते टुंङगबहादुर बस्नेतको मृत्यु भयो। त्यसको एक वर्ष दुई महिना चार दिनपछि नक्कली टुंङगबहादुर बस्नेतको जन्म भयो। नक्कली टुंङगबहादुरले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाए। उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगावारि बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको देखिन्छ।

अदालतले पनि मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५३९२० को दफा १५४९१०  मुलुकी देवानी संहिता २०७४ को सम्पत्तिको हस्तान्तरण तथा प्राप्तिसम्बन्धी दफा ४२५ नम्बर बमोजिम राजवंशीको नाममा वारेसनामा बनाएर पठाइदिए। त्यसपछि राजवंशीले वारेसनामाको आधारमा जमिन बिक्री गर्न योजनातर्फ लागे। 

यस घटनामा उनीसहित जमिन हडप्ने गिरोह नै संलग्न भए। त्यसपछि राजवंशी जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापा पुगेर बस्नेतको नाममा रहेको धनीपूर्जा निकाले।

उनले धनीपूर्जा हराएको विवरण मालपोतमा पेस गरेर धनीपूर्जाको प्रतिलिपि निकालेको देखिन्छ। त्यसपछि उनीसहित गिरोहका व्यक्ति जमिन बिक्री गर्नका लागि वडा कार्यालयको आवश्यक कागजात पनि निकाले।

बिर्तामोड नगरपालिका १ नम्बर वडा कार्यालयबाट २०७७ मङ्सिर २४ गते बस्नेतकै नाममा रहेको जमिनको घर बाटो प्रमाणित समेत उनीहरूले निकाले। सो घर बाटो प्रमाणित गरेको पत्रमा वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले हस्ताक्षर गरेको खुलेको छ। 

वडाको कागजात, नागरिकता, अदालतको वारेसनामा सहित आवश्यक कागजात पेस गरेर उनीहरूले लेखापढी व्यवसायीमार्फत बस्नेतको नाममा रहेको सो जमिन रञ्जु राईको नाममा नामसारी गरिदिए।

नामसारी २०७७ माघ २१ गते गरेको मालपोतको मोठ देखिन्छ। सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा राईले खरिद गरेको र त्यसबापत ४ प्रतिशत रजिस्ट्रेसन शुल्कमा २ लाख ५३ हजार एक सय २५ रुपैयाँ, पुँजीगत लाभकरमा २ लाख १० हजार ९४० रुपैयाँ मालपोतमा तिरेको देखिन्छ।

जमिन नामसारी गराउँदा जग्गाधनी बस्नेतको तर्फबाट रोहबरमा जमिन बिक्रीकर्ता राजवंशी, साक्षीमा लेखनाथ खनाल र बलराज विश्वकर्माले हस्ताक्षर गरेको छ। तयार भएको नामसारीको फाइलमा मालपोतका अधिकृत चेतन अधिकारीले सदर गरी हस्ताक्षर गरेको देखिन्छ। त्यस बिषयमा पनि अनुसन्धान भइरहेको छ। 

मान्छेदेखि  कागजातसम्म नक्कली

जग्गाधनी टुंङगबहादुर बस्नेत मात्र नक्कली नभएर मालपोतमा जमिन नामसारीका लागि पेस गरिएको कागजात पनि नक्कली रहेको खुलेको छ। जग्गाधनी टुंङगबहादुर बस्नेतको नाममा पेस गरिएको नागरिकता नक्कली भएको खुलेको छ।

बस्नेतले २०३७ साल चैत २ गते जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता निकालेका थिए। उनले जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताको प्रतिलिपि ननिकालेको पारिवारिक स्रोतले जनाएको छ।

तर, मालपोतमा पेस गरिएको बस्नेतको नागरिकता झापाबाट जारी भएको उल्लेख छ। २०७० साल जेठ १६ गते जारी मिति रहेको नागरिकतामा प्रथम प्रतिलिपि भनेर नागरिकता नम्बर ०४–८१५३र१२२२ उल्लेख गरिएको छ। सो नागरिकता नम्बर प्रशासन कार्यालय झापाको नागरिकता फाँटमा भेटिएन। त्यो नागरिकता उनीहरूले बाहिर नै नक्कली बनाएर पेस गरेको थप रहस्य खुलेको हो। 

त्यस्तै बिर्तामोड नगरपालिका १ नम्बर वडा कार्यालयबाट ल्याएको घर बाटो प्रमाणित पत्र पनि नक्कली भएको बताउन थालिएको छ। वडाले दिएको पत्र सङ्ख्या ०७७र०७८ र चलानी नम्बर १३३४ वडा कार्यालयको कुनै किताबमा नभेटिएको बताइन्छ। त्यसको विषयमा प्रशासनले अनुसन्धान गरिरहेको जनाइएको छ। 

नामसारी भएको जग्गाको मूल्य करोडौँ 

झापाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको बस्नेतको नाम रहेको एक कट्टा पौने १४ धुर जमिनको मूल्य अन्दाजी १० करोड रुपैयाँ पर्ने स्थानीयले बताएका छन्।

एक धुर जमिनको मूल्य त्यहाँ ३० लाख रुपैयाँ छ। सोही दर बमोजिम पौने ३४ धुर जमिनको मूल्य करिब १० पर्न जान्छ। खरिदकर्ताले ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा खरिद गरेको मालपोतमा देखाए पनि यस जमिन हत्याएर करोडौँ रकम कुम्लाउने गिरोहका लागेका व्यक्तिहरूको योजना हो। 

न्यायाधीशदेखि कर्मचारीसमेत शङ्काको घेरामा

नक्कली व्यक्ति बनेर टुंङगबहादुर बस्नेतले काठमाडौँ जिल्ला अदालतबाट दिएको वारेसनामा दिने न्यायाधीश पशुराम भट्टराई, अधिवत्ता रामानन्द चौधरी, वारेसनामामा साक्षी बसेका खोटाङ जिल्ला राजा पानी गाविस–४ हाल हलेसी तुवाचुड ११ बस्ने देवबहादुर विष्ट, ओखलढुङ्गा मोम्खा गाविस ७ हाल चिसंखुगढी गाउँपालिका ७ बस्ने वेगप्रसाद कोइराला प्रशासनको शङ्का घेरामा परेका छन्। 

त्यस्तै बिर्तामोड नगरपालिका १ नम्बर वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृत चेतन अधिकारी, केही कर्मचारी र लेखापढी व्यवसायी पनि शङ्काको घेरामा परेको उनीहरूमाथि झापा प्रहरीले अनुसन्धान थालिसकेको बताइएको छ। 

घटनामा संलग्न केही व्यक्ति पक्राउ

बस्नेत परिवारको जमिन हडप्ने घटना बाहिरिएलगत्तै जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले जमिन हडप्ने योजनामा रहेका आठ जनालाई पक्राउ गरिसकेको स्रोतको दाबी छ।

पक्राउ पर्नेमा वारेसनामा पाएका बाह्रदशी–३ का मङ्गलसिंह राजवंशी, जमिन किन्ने रञ्जु राई र उनका श्रीमानसहित आठ जना छन्। त्यसमध्ये बिरामी परेका राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। झापा प्रहरीले यस घटनाको विषयमा पत्रकारसँग बोल्न चाहेको छैन।

यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले व्यक्तिको जग्गा हडप्ने सांगठानिक गिरोह सक्रिय रहेकाले उनीहरूको पहिचान गर्दै धमाधम पक्राउ गरिएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.