|

नेपालको माटो आफैँमा मलिलो छ। यस देशमा बसोवास गर्ने प्राय सबै मिहिनेती र लगनशील मानिसले भरिएको छ। भौगोलिक विविधताले युक्त मुलुक भएर होला, पूर्व-मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा ठाउँ अनुसारका विभिन्न खाद्यान्न, नगदेबाली र अन्य सागसब्जीलगायत सबै किसिमका बाली उत्पादन हुन्छ।

यद्यपि, उत्पादनशील भूमि दिन–प्रतिदिन टुक्रा पार्ने र भौतिक संरचना निर्माण गर्नाले त्यस्तो भूमि नासिँदै गइरहेको छ। तर, किसान हृदय भएका मिहिनेती दाजुभाइ, दिदीबहिनीले घर, कलकारखाना र उद्योगको कौशीमा खेतीको प्रचलन बढ्दै गइरहेको छ।

कोरोनाका कारण विश्वव्यापी महामारीमा देशमा भएको लकडाउनको कारण स्कुल कलेज उद्योग कलकारखानाहरू बन्द भएको लामो समय पछि केही सहज परिस्थिती भएको अवस्थाले गर्दा खुलिसकेका छन्। अब के होला टुंगो छैन। तथापि लामो समयको लकडाउनले गर्दा धेरै मानिसमा आफ्नै घर आगन बगैचामा रमाउने बानी बसिसकेको छ।

 

शहरी क्षेत्रमा मानिसहरू कौशीमा फूलेका तरकारी र फूलसँग रमाउँदै छन्। विश्वव्यापी कोरोना भाइरसले लामो समयको बन्दा बन्दीले मानिसको दैनिक जीवन नै बदलिएको परिस्थितिमा अधिकांश शहरी क्षेत्रमा मानिसहरू कौशी खेतीतर्फ आकर्षित र उत्साही हुँदै गएका छन्। धेरैजसो मानिसले फुर्सदको समयको सदुपयोग गरी सोखका रूपमा गर्दै आएको कौशी खेती पछिल्लो समय अभियानका रूपमा अघि बढिरहेको छ।

कौशी खेतीको अर्थ

सामान्यतया घरको छलमा गमलामा तरकारी रोपेर गरिने खेती नै कौशी खेती हो। परम्परागत रुपमा सिमेन्टका गमलाहरूमा माटो भरेर घरको छत, बरण्डामा साग, गोलभेडा, खुसार्नी आदि आफ्नै सोखको लागी खेती गर्ने गरिन्थ्यो। यसरी धेरै सिमेन्टका गमलाले घरको छतको भार बढ्ने र कुनै पनि बेला घरका क्षति नोक्सानी हुन सक्ने हुँदा नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले आधुनिक कौशी खेती गर्ने नयाँ प्रविधिको विकास हुँदै गएको छ।

बढ्दो शहरीकरणले गर्दा खेतीयोग्य जमिनको अभावमा शहरियाहरू कौशी खेतीप्रति आकर्षित भएको देखिन्छ। हाल नेपालमा पनि विस्तारै माटोबिना खेती गर्ने हाइड्रोपोनिक प्रविधिबाट कौशी खेती गरेर छत हुने भार कम गर्न सकिन्छ।

कौशी खेतीको विधि

कौशी खेतीका लागि सबैभन्दा पहिले हामीले खेती गर्ने भाँडाहरूको व्यवस्था गर्नु पर्छ। यस्ता भाँडा सकेसम्म कम भार भएका हुनु जरुरी छ। जसले गर्दा कौशीमा भारकम र कौशीमा सरसफाइ गर्न पनि सजिलो हुन्छ। यसो भए व्यवस्थित गर्न पनि सजिलो हुन्छ।

कौशीका लागि माछा राख्न प्रयोग हुने थर्मोकोलका खाली बाकस, ग्रो ब्याग, पानीका जार, प्लाष्टिकका गमला उपयुक्त हुन्छन्। यस्ता भाँडामा कोकोपिट र भर्मिङ कम्पोष्ट मिसाएर भर्नु पर्दछ। यसले बालीलाई चाहिने पोषक तत्व प्रशस्त मात्रामा पाउँछ र उत्पादन राम्रो हुन्छ।​

कौशी खेतीको लागि उपयुक्त तरकारी

कौशी खेतीमा कुन कुन तरकारी रोप्न सकिन्छ भन्नेबारे कुनै पनि निश्चित मापदण्ड केही पनि छैन। कौशीको आकार, उपलब्धता, प्रकाश, खुल्ला र उचाइको आधारमा विभिन्न खेती गर्न सकिन्छ। कौशी खेती विभिन्न अग्रज विज्ञहरू र लामो समयदेखि कौशी खेती गरिरहनु भएका व्यक्तिहरुका अनुभव आधारमा निम्न ४ किसिमबाट कौशी खेती गर्न सकिन्छ।

१. विभिन्न प्रकारका साग, धनियाँ, मुला, आलु, लसुन, प्याज जसलाई ठूलो अग्लो भन्दा चौडा धेरै भएका साना साना बट्टाहरु, प्लासिटकका बाटाहरुमा र साना-साना गमलाहरुलाई एउटा हलुको फलामे स्ट्यान्डमा राखी तह-तहमा बिरुवा रोप्न सकिन्छ।

२. गोलभेडा, खुर्सानी, भेडेखुर्सानी, भण्टा, भिण्डी जस्ता सानो सानो बुट्यानमा फल्ने तरकारीहरू जसलाई थर्मोकोल, प्लाष्टिकका बाल्टिन, पेन्टका बट्टा, पानीका जार र प्लाष्टिकका ठुला गमलामा रोप्न सकिन्छ।

३. काँक्रा, फर्सि, लौका, घिरौला, करेला, सिमी र बोडी जस्ता लहरे बालीहरुलाई अलि ठूला भाँडामा रोप्नुपर्छ। यी विरुवालाई सानो सानो थाक्रो र डोरी लगाएर फैलन दिनु पर्छ। यी तरकारीहरु खेती गर्न कौशीमा प्रशस्त उचाइ हुनु राम्रो हुन्छ।

४. अम्बा, कागती, मुन्तला, अम्रपाली आँप र सानो सानो रुख हुने फलफूललाई प्लाष्टिकका ड्रमहरू, ठूला ठूला साइजका गमलाहरुमा रोप्न सकिन्छ। यस्ता विरुवा कौशीको कुनोमा रोप्दा राम्रो हुन्छ।​

कौशी खेती संरक्षणको तरिका

कौशीखेती गर्नको लागि स्थान, भाडा, मल जुटाएर खेती गर्न जति सजिलो छ त्यतिकै त्यसको संरक्षण गर्न गाह्रो छ। जानेकै कुरा हो कुनै पनि विरुवाले आफूलाई चाहिने तत्व जराबाट लिने गर्छ। विरुवाहरु हेरेर त्यसका जरा टाढा टाढासम्म फैलिएका हुन्छन्।

तर, कौशी खेतीमा विरुवाको जरा निश्चित भागमा खुम्चिनुपर्ने हुन्छ र तिनीहरुलाई बढ्न फैलिन आवश्यक पोसिलो तत्व हामीले पुर्‍याउनुपर्ने हुन्छ। लहरा हुने विरुवाहरूलाई बढ्न उपयुक्त थाक्रोको व्यवस्थासमेत गर्नुपर्ने हुन्छ। यसमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। त्यसैगरी, रोग र किरा लागेमा घरेलु किटनाशक वा औषधि बनाएर पनि प्रयोग गर्नुपर्छ।

तर कौशी तरकारी खेतीमा रासायनिक हानिकारक विषादी कहिल्यै पनि प्रयोग गर्नु हुँदैन। यसले घरपरिवार तथा बालबालिकालाई खेतबारीमा प्रयोग गरिने विषादीले भन्दा निकै बढी हानि गर्ने सम्भावना हुन्छ।

हाम्रो घरमा फालिने तरकारी तथा भान्साबाट निस्किने फोहोरबाट कम्पोष्ट विनको प्रयोग गरी कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकिन्छ। औषधिको लागी निमको पातको रस, प्याजको रस, करेलाको रसलाई साबुन पानीको झोल मलसमेत कौशी खेतीको लागी उपयुक्त मानिन्छ।

 

कौशी खेती प्रवर्द्धनका लागि अहिले कतिपय संघ संस्था र स्थानीय सरकारले अनुदान दिँदै आएका छन्। उनीहरूले खेती प्रविधिबारे आवश्यक तालिमसमेत दिँदै आएका छन्।

केहीअघि मात्र काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुसँगको सहकार्यमा एक अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय गैरसरकारी संस्था असल छिमेकी नेपालको कार्यान्वयनमा वडाभित्रका शहरी क्षेत्रका घरधनीहरुलाई कौशी खेती प्रवर्द्धनसम्बन्धी तालिम दियो। जसमा ५० जना भन्दा बढीलाई कौशी खेतीका सामग्री समेत उपलब्ध गराइएको थियो।

 

अप्रत्यक्ष फाइदा पनि

'कौशी तरकारी खेतीबाट स्थानीय बासिन्दा आकर्षित भएका छन्। कौशी तरकारी खेती प्रविधि निकै लोकप्रिय पनि हुँदै गएको छ। जसले गर्दा शहरका अधिकांश घरबाट कुहिने फोहोरबाट कम्पोष्ट मल बनाएर तरकारी खेतीमा सदुपयोग गर्नाले फोहोर व्यवस्थापनमा समेत सहज भएको देखिएको छ।

यसले विगतको लकडाउन र निषेधाज्ञाको समयमा समेत परिवारका सदस्यहरुलाई व्यस्त बनाउनुको साथै ताजा तरकारी समेत आफ्नै मिहिनेतबाट उपलब्ध भइरहेको छ।

यसले शहरी क्षेत्रका बासिन्दालाई कौशी तरकारी खेती गर्न उत्प्रेरित गर्नुका साथै शहरको सौन्दर्य बढाउन समेत मद्दत गर्नुको साथै घरबाट निस्कने फोहोर व्यवस्थापनमा समेत सघाउन पुगेको छ।' असल छिमेकी नेपालका संगिता गिरी र प्रगति खनाल बताउछन्। कौशी खेतीबाट घरमा वर्षभरि विषादी रहित ताजा तरकारी खान पाइने भएकोले रोग नलाग्ने मात्र होइन रोगप्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.