काठमाडौं : भारतमा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण तिब्र बढेको र नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ।
तर सरकार आफैंले भने यो निर्देशन पालना गरेको पाइएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै देशभर भिडभाड हुने सभा,सम्मेलन, गाेष्ठी, जुलुस नगर्न आग्रह गरेको थियो।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको थियो ‘संक्रमणको जोखिम बढ्दै गएको छ देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध छ।’
मन्त्रालयले कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सिसिएमसी समक्ष कोभिड संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रस्ताव गरिसकेको छ भने शिक्षा मन्त्रालयले पनि शिक्षण संस्थाहरुमा सभा, समारोह, बार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु नगर्न समेत भनिसकेको छ।
मन्त्रालयले सबै प्रकारका शिक्षण संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड अनिवार्य रुपमा लागू गर्न निर्देशन दिइसकेको छ। यस्तो अवस्थामा सरकार आफैंले भने आफ्नै निर्देशन उल्लघंन गरेको छ जसले गर्दा संक्रमणको जोखिम झनै बढ्ने विज्ञहरु बताउँछन्।
सरकारले नै ठूला सभा, गोष्ठी गर्दै मानिसको भिड थुपारिरहेको छ। विहीबार मात्रै कृषी तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको ‘पशुजन्य पदार्थमा आत्मनिर्भर भएको घोषणा ‘ भव्य कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गरेका थिए।
जबकी सरकार आफैले ठूलो भिडभाड नगर्न मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।
त्यति मात्र होइन सरकारले निर्देशन दिए पनि पछिल्लो समय विभिन्न संघ संस्था राजनितिक दलहरुले विभिन्न खालका कार्यक्रम गरिरहेका छन्। विभिन्न बहानामा गरिने यस्ता सभा सम्मेलन गोष्ठीहरूले संक्रमणको जोखिम झनै बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
हाल भारतमा नयाँ प्रकारको भाइरस देखिएको भनिएको छ। अब यो बिचमा भारतबाट मानिसहरु आउने क्रम बढ्छ उनीहरु यही घुलमिल हुन्छन् र संक्रमण फैलने जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्ने पुनले बताए। उनले भने ‘ हामीलाई जोखिम भनेको भारतबाटै हो, अब त्यहाँ नयाँ भेरि
यन्ट भेटिएको भनिएको हालसम्मको अनुसन्धानबाट अहिले देखिएको नयाँ प्रकारको भाइरस झनै संक्रामक भएको हुँदा हामीले धेरै सतर्कता अपनाउनु पर्छ।‘
कोरोना भाइरस संक्रमण जोखिम न्युनीकरण गर्न जनस्वास्थ्यको मापदण्ड सबैले पालना गर्नुपर्ने बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम । उनले भने ' राजनीतिक दल, सरकारका सबै निकायले मापदण्ड पालना गर्नुपर्छ हामीले सबै जना मिलेर मात्र जोखिम कम गर्न सकिन्छ।'
सावधानी नअपनाएको अवस्थामा अबको केही हप्तामा संक्रमण ह्वात्तै बढ्नसक्ने समेत उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।