|

बैतडी : दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या घटनाका अभियुक्त दिनेश भट्टको डिएनए रिपोर्ट अदालत पेश गरिएको छ।

प्रहरीले भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनए र अभियुक्तको डिएनए परीक्षण रिपोर्ट जिल्ला अदालत बैतडीमा पेश गरेको हो। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको उक्त डिएनए रिपोर्ट अदालतमा पेश गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

अदालत बुझाइएको  अभियुक्तको डिएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग ‘म्याच ’ भएको  छ। उनले भने,‘डिएनए ‘म्याच’ भएको रिपोर्ट आयो, यो बलियो प्रमाण हो, अब घटनामा उनकै संलग्नता रहेको पुष्टि भएको छ।’

गत फागुन २५ गते जिल्ला अदालत बैतडीले दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश दिएको थियो। हाल  दिनेश डोटीस्थित बाल सुधार गृहमा छन्।

सुधार गृहमा रहेकै बेला दिनेशले उक्त घटना आफ्नो संलग्नता नरहेको र गाउँपालिकाकै एक कर्मचारीसहित दुई जनाको संलग्नता रहेको आरोप लगाएका थिए। आफूलाई धम्क्याएर जवरजस्ती अपराध स्वीकार्न लगाएको भनि दिनेशले आफ्ना बुवासँग भनेका थिए।

गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्।  भागरथी र दिनेश एउटै गाउँका दिदीभाइ हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.