खर्चप्रति स्थानीय असन्तुष्ट

|

कालिकोट : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई थोत्रो भइसकेको गाडी मर्मत गरेर चलाउन भन्दै निःशुल्क दिएको थियो। त्यही गाडी बनाउन १० लाख खर्च भएको भनी भुक्तानी दिइएको पाइएको छ। 

मर्मतमै १० लाख खर्चिएको गाडी पनि जनप्रतिनिधि र कर्मचारीका लागि ल्याइएको हो। ४५ लाखमा खरिद गरिएको गाडी कर्णालीवारि हुल्म बजारमा राखिएको छ।

उता नगरपालिकादेखि जितेबजारसम्म भनी मन्त्रालयबाट निःशुल्क गाडी ल्याइएको भनेका मेयरले गाडी नगरपालिकामा दाखिला नहुँदै सुरुमै नियमविपरीत ठूलो खर्च मर्मतमा सकेका हुन्। स्थानीयका लागि सेवा नभएका बेलामा मेयरलाई गाडी ल्याएको र यसमा निकै ठूलो बजेट सकिएको भन्दै स्थानीयले भने विरोध गरेका छन्। 

गाडी बाटोमै थन्कियो

​मर्मत गरी ल्याएको भनिएको गाडी नगरपालिका नपुग्दै बाटोमै बिग्रिएको छ। काठमाडौंबाटै मर्मत गरी बाटोमा चलाएरै आएको गाडी कालीकोटको शान्तिघाट बजारको उकालोमै बिग्रिएको हो। 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार, काठमाडौंबाट चलाएरै आएको गाडी हो। शान्तिघाटको उकालोमा आएर खराब भएको उनले बताए। हेडलाइटले काम नगरेको र मेसिनमा खराबी आएको उनले बताए। गाडी चालकले सामान्य मर्मत गरेपछि भने गाडी चलेको छ।

‘बिरामी बोक्न सञ्चालन भइरहेको एउटा एम्बुलेन्स मात्र छ। त्यही पनि आवश्यक परेको बेला पाइँदैन। नगरपालिकाले टिपर खरिद गर्‍यो, गत वर्ष कर्णाली नदीमै दुर्घटना भई नगरको बजेट खेर गयो। अब के भनौं?' एक स्थानीयले भने। 

८० लाखमा स्काभेटर, ४५ लाखमा नगरपालिकाको हाइलेक्स गाडी, ४० लाखको टिपर, १३ लाखको एम्बुलेन्स र १० लाख मर्मत गरी ल्याएको गाडी गरी नगरपालिकाले २ करोड गाडीमा मात्रै खर्च गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.