पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने गृहकार्य

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको छ। एमालेले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएर पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालेको हो।

साविक माओवादी केन्द्रका नेता लेखराज भट्टको प्रस्तावमा मुख्यमन्त्री भट्टलाई एमालेले समर्थन गरेको थियो। अहिले एमालेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज रहेका लेखराजले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने बताइसकेका छन्।

एमाले–माओवादी एकता भंग भएसँगै भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन्।

प्रदेश सरकार सञ्चालनको लागि २७ जना सांसद आवश्यक पर्छ। एमालेले कुनै एक पार्टीसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्न सक्ने भएको हुँदा अहिलेको सरकारविरुद्ध दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको एमाले कैलाली अध्यक्ष रतन थापाले बताए।

‘केन्द्रमा माओवादीले समर्थन फिर्ता नलिएकाले यहाँ पनि हामीले फिर्ता नलिएका हौँ’ उनले भने, ‘केन्द्रमा फिर्ता लिएकै दिन यहाँको सरकार ढल्छ।’

प्रदेशसभामा एमालेमा ७ जना समानुपातिक सांसद छन्। तीमध्ये ६ जना माधवकुमार नेपाल पक्षमा छन् भने १ जना ओली पक्षमा छन्। समानुपातिक सांसदलाई हटाएर भए पनि सरकार गठन गर्ने एमालेको तयारी छ।

एमालेले मुख्यमन्त्रीका लागि अघि सारेका बोहरा यसअघि भौतिक योजना तथा निर्माणमन्त्री थिए।एमाले भित्र बोहरासँगै मुख्यमन्त्रीमा प्रकाश शाह र तारालामा तामाङको पनि चर्चा छ। शाह माओवादीसँग एकता हुनुअघि एमालेको संसदीय दलका नेता थिए। उनी अहिले आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्। तामाङ एमालेका प्रमुख हुन्।

एमालेले कांग्रेससँग सहकार्य गरेर सकार बनाउने अवस्था आए कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल मुख्यमन्त्री बन्न सक्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.