बेकामे बनाएरै अधिवेशन अन्त्यको तयारी

|

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा बीचको आन्तरिक किचलोको मारमा परेको छ। सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरेर संसद् पुनःस्थापना गरिदिए पनि प्रधानमन्त्री र सभामुखको विवादको मारमा परेको हो। 

पुनःस्थापना भएपछि सभामुखले संसद्लाई व्यवस्थित ढंगले अगाडि बढाउन चाहेका छन्। तर, प्रधानमन्त्री ओली संसदलाई पार्टीभित्रको विवाद छल्ने अस्त्रको रुपमा प्रयाेग गर्ने प्रयत्न गरिरहेका छन्। यसअघि पनि साविकको नेकपाभित्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मोर्चाबन्दी गरेपछि पुष ५ गते उनले प्रतिनिधिसभा भंग गरेका थिए। 

तर, सर्वोच्च अदालतले माघ ११ गते संसद पुनःस्थापना गर्ने फैसला गरिदिएको थियो। संसद पुनःस्थापनापछि पनि प्रधानमन्त्री ओलीले पटक-पटक सार्वजनिक रुपमै बाध्य भए फेरि संसद विघटन गर्नुको विकल्प नभएको बताउँदै आइरहेका छन्। 

सात महिनामा तोडियो संवादहीनता 

प्रधानमन्त्री र सभामुखबीच ७ महिनापछि भेटवार्ता भएको छ। आइतबार सभामुख सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे। उनले प्रधानमन्त्री ओलीलाई संसदलाई प्रभावकारी ढंगले चलाउनका लागि आग्रहसमेत गरेका छन्।

प्रधानमन्त्री र सभामुख बीचको भेटवार्ता संसदको भूमिका प्रभावकारी बनाउने बिषयमा केन्द्रित भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

‘संसद् पुनःस्थापना भइसकेपछि अब संसदलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रीत भएको छ’ उनले भने। 

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आन्तरिक टकरावले करिब सात महिनासम्म भेटवार्तासमेत हुन सकेको थिएन। व्यवस्थापिका र कार्यपालिका प्रमुख बीचको बोलचालसमेत ठप्प रहेको थियो। प्रधानमन्त्री र सभामुखबीच पछिल्लोपटक गत भदौ दोस्रो साता भेट भएको थियो। त्यसयता प्रधानमन्त्री र सभामुख बीचको भेटवार्ता ठप्प थियो। 

सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका बेला प्रधानमन्त्रीसँग भेट्ने समय मागेका थिए। 

‘यसअघि पनि कानुन मन्त्रीमार्फत कुरा भइरहेकै थियो। उक्त कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ’, उनले भनेका थिए, ‘आज राष्ट्रपतिलाई बिदाइका क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो, समय पनि मागेको छु, खबर आउने अपेक्षा छ।’

बैठक अन्त्य गर्ने तयारीमा ओली 

प्रधानमन्त्री ओलीले जारी हिउँदे अधिवेशन अन्त्य गर्ने अन्तिम तयारीमा पुगेको छ। अदालतले ब्यूँताइदिएपछि फागुन २३ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनमा सरकार बिजनेस नै नदिएर अन्त्य गर्ने तयारी थालेको हो। 

पुनःस्थापनापछि हालसम्म बसेको ५ बैठक औपचारिकतामै सीमित भएको छ। आगामी बैठक १८ चैतमा बोलाइएको छ। तर, त्यो बैठक पनि शोक प्रस्तावबाहेक अन्य विषयमा प्रवेश नगर्ने अनुमान गरिएको छ। 

वैशाखबाट बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले चालू अधिवेशन अन्त्यको तयारी भएको सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

‘जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, बजेट आउनुअघि ‘प्रि–बजेट’ छलफल गर्ने अभ्यास छ त्यसैले पनि अब अर्को अधिवेशन बोलाउनुपर्छ’ उनले भने।

प्रतिनिधिसभामा लामो समयदेखि अड्किएका ३६ वटा विधेयक विचाराधीन छन्। तीमध्ये कतिपय विधेयक विषयगत समितिबाट पारित भइसकेका छन्। राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएका ६ वटा विधेयक छन्। केही जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि छन्।

सापकोटाविरुद्ध खनिइरहे ओली 

सभामुखको विरुद्ध प्रधानमन्त्री ओलीले पदीय मर्यादाको समेत ख्याल नगरिकन सार्वजनिक रुपमै खनिए। ओलीले विराटनगरको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका बेलामा झगडिया र किर्ते काममा सरिक भएको आरोप लगाए। 

ओलीले भनेका थिए, ‘एकजनालाई सभामुख बनाइदिएका थियौँ। उहाँ सरकारका विरुद्ध मुद्धा हाल्न जानुभएको छ। उहाँ सरकार विरुद्धको झगडिया हो। सभामुखले झगडिया हुन मिल्छ? उहाँले किर्ते सनाखत गर्न मिल्छ भन्न पनि लाज लाग्ने।’

उनले सार्वजनिक रुपमा प्रचण्ड–माधव समूहले ल्याएको आफूविरुद्धको अविश्वासको प्रस्ताव ल्याउँदा किर्ते काम गरेको आरोप लगाइरहे। दिउँसो ३ बजे ल्याइएको प्रस्तावलाई सभामुखले किर्ते गरेर बिहान १० बजेको बनाइएको आरोप उनकाे थियाे। 

प्रधानमन्त्रीले संसद विघटन गरेपछि कामचलाउ सरकार भएको अवस्थामा समेत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए। त्यसो त प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि आफ्नो विश्वासको पात्रलाई सभामुख ल्याउन चाहेका थिए।  

प्रधानमन्त्रीविरुद्ध अदालत पुगेका थिए सभामुख 

संसद विघटन गरेपछि संवैधानिक परिषद्को नियुक्तिको बिषयलाई लिएर प्रधानमन्त्री र सभामुखबीच द्वन्द्व चर्कियो। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठक पटक-पटक बहिष्कार गरे। 

तर, प्रधानमन्त्री ओलीले सभामुख सापकोटा प्रचण्डको इसारामा चलेको आरोप लगाइरहे। 

ओलीले एकलौटी रुपमा अध्यादेश ल्याएर संवैधानिक परिषद्मा नियुक्ति गरेपछि त्यसलाई बदर गर्नका लागि सभामुख अदालत गए। सभामुख सापकोटासँग प्रचण्ड–माधव नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत गएका थिए। 

रिटमा सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक परिषद्का सदस्य प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्यसचिव शंकरदास वैरागीलगायत ३९ जनालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। 

त्यसो त प्रधानमन्त्री, सभामुख बीचको विवाद र राजनीतिक दलको किचलोको कारणले संसद प्रभावित बन्न पुगेको छ। संसद कामविहीन भएकाले सभामुखले विशेष र शून्य समय चलाएर संसद्लाई चलाउन बाध्य भएका छन्। 

‘प्रधानमन्त्रीलाई संसद घाँडो भयो’

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा मन नै नपरेको टिप्पणी गर्छन्। 

‘उहाँलाई प्रधानमन्त्री भएर संसद प्रवेश गरेदेखि नै संसद बैठक उहाँलाई घाँडो भएको छ’ उनले भने, ‘प्रतिनिधि सभासमेत भंग गर्नसक्ने मान्छेले अहिले बिजनेस नदिएर अधिवेशन अन्त्य गर्नतिर लाग्नुलाई कुनै नौलो कुरा हामीले मानेका छैनौँ।’ 

प्रधानमन्त्री ओली संसदप्रति कहिल्यै उत्तरदायी नबनेको आरोप लगाए। 

‘उहाँ कहिल्यै संसदप्रति उत्तरदायी बन्न सक्नुभएन। संविधान विपरित गएर आफ्नो अधिकार नै नभएको कदम चाल्नुभयो’ उनले भने, ‘ओली प्रवृत्तिको लागि यो स्वभाविक कुरा नै हो।’ 

संसदलाई बिजनेस नदिएर अधिवेशनको अन्त्यका तयारी गर्नु अत्यन्तै दुःखद र अलोकतान्त्रिक भएको बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.