एमाले जिल्ला कमिटी उपसचिव पोख्रेल अध्यक्ष निर्वाचित

|

संखुवासभा : पाँचखपन नगरपालिकामा खानेपानी उपभोक्ता समिति गठन गर्न चुनाव नै गरिएको छ।

पाँचखपनमा पहिलो पटक उपभोक्ता समिति निर्माणमा निर्वाचन भएको छ। पाँचखपन–४, ५ र ६ का लागि सञ्चालन हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा अध्यक्ष र सचिव पद छनोट चुनावमार्फत गरिएको हो।

३ पटकको प्रयासमा पनि सहमति नभएपछि उपभोक्ता समितिको अध्यक्ष र सचिव पदका लागि २/२ जनाले आ–आफ्नै अडानपछि चुनाव गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए। 

उपभोक्ता समितिको अध्यक्षमा मानसिंह पोख्रेल र कमल थापाले उम्मेद्वारी दिएका थिए। १८ मत बढी ल्याएर अध्यक्षमा विजयी पोख्रेल पाँचखपन नगरपालिकाको मेयरमा एमालेबाट पराजित भएका थिए।

औषधि व्यवसायी संघ संखुवासभाका महासचिवसमेत रहेका थापा सदरमुकाम खाँदबारीमा औषधि पसल सञ्चालन गरेर बसेका छन्। पोख्रेल एमाले जिल्ला कमिटी उपसचिव र थापा जिल्ला कमिटी सदस्य हुन्। 

त्यसैगरी सचिव पदमा उदयचन्द्र पोख्रेल निर्वाचित भएका छन्। सचिवका लागि श्रेष्ठ र प्रज्वल सुब्बाबीच प्रतिस्पर्धा भएको थियो। ११ सदस्यीय उपभोक्ता समिति गठनमा दुई पदका लागि चुनाव भएको हो।

संघीय चुनावको झल्को आउने गरी उपभोक्ता समितिको चुनाव भएको थियो। वडा नम्बर ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा भएको चुनामा उपभोक्ताहरुले लाइनमा बसेर मतदान गरेका वडाध्यक्ष तामाङले बताए।

१ करोड रुपैयाँको लागतमा हेवाखोला लिफ्टिङमार्फत पानी ल्याउने आयोजनाका लागि दुई पक्षबीच चुनाव भएको वडाध्यक्ष तामाङले जानकारी दिए। दुई सय २८० जना उपभोक्ताले मतदान गरेका हुन्।

४, ५, ६ वडा करिब आठ सय घरधुरीका लागि खानेपानी आयोजना सञ्चालन हुन लागेको हो। खानेपानी आयोजनाका लागि प्रदेश सरकारले क्रमागत योजना अन्तगर्गत बजेट विनियोजन गरेको पाँचखपनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले जानकारी गराए।

समिति निर्माणमा सहमति जुट्न नसकेपछि चुनाव गर्नुपरेको र उपभोक्तालाई मतदानका लागि समेत अनुरोध गरिएको बराले बताए। दुवै पक्षले अडान लिएपछि अध्यक्ष पदका लागि उपभोक्ताले मतदान नै गर्नु परेको हो। 

ठूलो आयोजनामा हुने उपभोक्ता समितिमा राजनीतिक दलका नेताहरुको समितिमा बस्नेममा होडबाजी हुने गरेको छ। नीति निर्माण, योजना अनुगमन गर्ने राजनीतिक दलका नेताहरु उपभोक्ता समितिको प्रमुख पदमा बस्न लालायित हुने गरेका छन्।

समितिमा बस्दा पाइने अनेक लाभको लोभमा यस्तो हुने गर्छ। यही स्वार्थका कारण उपभोक्ता समितिमा पनि राजनीतिक र स्वार्थको लडाइँ हुने गर्छ। उपभोक्ता समिति बनाउन राजनीतिक होडबाजी हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.