|

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै सुरु भएको सत्ता समीकरणको खेल अझै जारी छ।  

शनिबार नागरिक आन्दोलनले आयोजना गरेको डबली कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकारको विकल्पबारे संवाद गरेका थिए। 

त्यसको तीन दिनपछि मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका उनै अध्यक्ष महन्थ ठाकुर एउटै कार्यक्रममा सहभागी भए।

जहाँ ठाकुरले सरकारले आफूहरूका माग सम्बोधन गर्ने प्रक्रिया बढाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्। जसलाई जसपा अहिलेकै सरकारमा सहभागी हुने संकेतका रुपमा बुझ्न सकिन्छ। 

‘आज बिहान मात्रै प्रधानमन्त्रीजी नजिकको मानिसले मलाई भेट्नुभयो, उहाँले तपाईंका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढेको सुनाउनुभयो, बाँकी त केही भन्नुभएन,’ उनले भने, ‘त्यसबारे अरू के भइरहेको छ उहाँसँग बुझौँला, तर प्रधानमन्त्रीजीलाई धन्यवाद।’

पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रले तीन दल मिलेर सरकार जाऔँ भन्ने गरेको उल्लेख गर्दै उनले माग सम्बोधन गर्नेबारे भने विपक्षी दलसँग कुनै योजना नरहेको बताए।

ओली सरकार गठन भएदेखि नै सरकारमा आउन आह्वान गरिरहेको भन्दै ठाकुरले पहिला माग सम्बोधन भए मात्र सरकारमा आउन सकिने जवाफ दोहोर्‍याए।

संविधान जारी भएपछि बनेका सबै सरकारसँग माग सम्बोधनका लागि सहमति भए पनि अहिलेसम्मका कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनको गुनासो थियो। अन्य दलका नेतासँग कुरा भइरहे पनि कोहीसँग गठबन्धन भइनसकेको प्रष्ट्याउँदै अध्यक्ष ठाकुरले ओली सरकारसँगै आशावादी रहेको समेत सुनाए।

प्रधानमन्त्रीतर्फ हेर्दै उनले भने, 'तपाईंमाथि विश्वास छ, गरेर देखाइदिनुहोस्, ठिक छ हामी त विरोधमा छैनौं, तपाईंहरूको समर्थन गर्नेछौं, अहिले पनि हामीले भनिरहेका छौँ,' उनले थपे, 'अरु नेताहरूसँग पनि भेटघाट भइरहेको छ, कसको साथमा जाने? ‘शेरबहादुरजी भन्नुहुन्छ अविश्वासको प्रस्तावमा जान्नँ, म सरकार बनाउँछु, एक जना नेता भन्नुहुन्छ, आउनुहोस् सबै मिलेर अविश्वास प्रस्तावमा जाऔँ, अब प्रमुख दलहरू जुन छ, उनीहरू नै एक आपसमा मिलिरहेको छैन भने कसरी हुन्छ?' उनले प्रश्न गरे।

त्यसपछि प्रधानमन्त्री ओलीले विप्लव र सिके राउतका समस्या समाधान गरेको उल्लेख गर्दै तराईका समस्या पनि समाधान गर्न लागेको बताएका थिए।

तर जसपा सँगको सत्ता साझेदारीको प्रसंग भने उनले प्रष्ट खुलाएनन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी पुनर्स्थापनाका लागि सर्वोच्च पुगेको उल्लेख गर्दै अदालतले पार्टी मिलाउने काम नगर्ने स्पष्ट पार्दै व्यंग्य गरे, ‘यदि अदालतले पार्टी मिलाउने भए म महन्थ ठाकुरजीको पार्टी मिलाउन निवेदन दिन्थें,' प्रधानमन्त्रीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.