|

पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारबाट दक्षिणी पर्वतका लागि सवारी आउजाउ गर्ने छोटो र अत्यधिक चाप भएको सडक फलेवास–कटुवाचौपारी–दोबिल्ला कुस्मा सडक हो।

सोही सडक खण्डअन्तर्गत दोबिल्लामा मोदी खोलामाथि निर्माण करिब नौ वर्ष अगाडि एकतर्फी रूपमा आउजाउ गर्न सक्ने मोटरे​बल पुलको निर्माण भएको थियो। जुन बेला पुल निर्माण भयो त्यसपछिबाट भने पुलको हेरचाह र मर्मतमा पनि कसैको पनि ध्यान पुगेको छैन। यही कारण नै हलुका तथा मालबाहक सवारीहरू आवागमनको क्रममा जोखिम बढेको छ।

कुस्मा नगरपालिका–८ चुवा र वडा नं.–११ पकुवाको बिचमा रहेको करिब दुई सय मिटर लामो पुल जीर्ण हुँदा यात्रु जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन्।

पुलमा रहेका पाता (प्लेट) टुक्रिएका छन् भने राखिएको ठाउँबाट निस्किएका छन्। यसले गर्दा मोटरसाइकल लगायत साना सवारीका साधन पुलबाटै खस्ने जोखिम छ।

'त्यस्तै ठूला सवारी साधनको भारसमेत थेग्न पुललाई हम्मेहम्मे भएको छ। ‘पुलमा हालेका पाताहरू नै उक्किएका छन्। बीचमा प्वाल रहेको छ। अलिकति ध्यान नदिने हो भने पुलको करिब बीच भागबाट बाइक वा गाडीको टायर नै छिर्ने अवस्था छ,’ शंकरपोखरी–कुस्मा सडकमा जिप सञ्चालन गर्दै आएको फलेवास नगरपालिका–३ शंकरपोखरीका रामु भुसालले भने, ‘पुल यस्तो अवस्थामा रहँदा पनि यसमा कसैको ध्यान गएको पाइएन। एल्मुनियमका पाताहरू उक्किँदा पनि कसैले नदेख्ने। यो बाटो नहिँड्नुको विकल्प पनि छैन।’

बेलाबेलामा सामान्य मर्मत गरिने गरेको भए पनि पुल बनेकै लामो समय हुनु र सवारीको चाप धेरै रहेका कारण पुल जीर्ण अवस्थामा पुगेको स्थानीय नागरिक बताउँछन्।

करिब एक वर्ष अगाडि पुलमा हालिएका एल्मुनियमका पाताहरू फेरिएका भए पनि सवारी चापका कारण पुन उक्किने र टुक्रिने हुँदै पुल जोखिमपूर्ण अवस्थामा रहेका स्थानीय व्यापारी चित्रसागर श्रेष्ठले बताए।

‘पुलमा हालेका पाताहरू टुक्रिएर, फुत्किएर एक ठाउँबाट अर्को ठाउँ पुगिसकेका छन्। पुलको बीच भागमा परेको भ्वाङबाट सीधै मोदी खोला देखिन्छ,’ उनले भने, ‘जिल्लाको दक्षिणी क्षेत्रमा जानका लागि यो भन्दा सजिलो र छोटो अर्को बाटो छैन। यही कारण दैनिक सायौँ सवारीधासन यो बाटोमा गुड्ने गरेका छन्। तर ती सवारीहरू नै खतरामा परेका छन्।’

अहिलेसम्म ठुलो दुर्घटना हुनबाट जोगिए पनि पुल मर्मतमा कसैको ध्यान नजाने हो भने ठूलै दुर्घटना नहोला भन्न नसकिने अवस्था रहेको स्थानीय सन्देश गिरीले बताए। 

पुलमा रहेका पाता मिलाउनेबाहेक पुल मर्मतको योजना आफूहरूसंँग नरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ। टुक्रिएका र फुत्किएका फलामका पातालाई वेल्डिङ गर्ने तथा यताउता मिलाउनेबाहेक अन्य कुनै योजना नरहेको र थप बजेट विनियोजनको लागि आफूहरूले मन्त्रालयमा पत्राचार गरेको पूर्वाधार कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यको भनाइ छ।

तत्कालीन जिल्ला विकास समितिले केही समय पहिलेसम्म हेरालो राखेर नियमित रूपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि पछिल्लो समय त्यसतर्फ ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको हो।

पुलको नियमित रूपमा रेखदेख नहुँदा अत्यधिक भार भएका गाडी, डोजर, लोडरलगायत साधन वारपार गर्दा मर्मतको एक वर्ष नपुग्दै पुलका पातामा प्वाल पर्ने समस्या देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.