|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको लगानीमा सञ्चालनमा हुने विग प्रोजेक्टहरूमा नगर विकास कोषको सहकार्यका लागि आतुर रहेको बताएका छन्।

विराटनगरमा आज (बुधबार) नगर विकास कोष नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा सञ्चालनका तयारीमा रहेका विग प्रोजेक्टहरुमा नगर विकास कोषसँगको सहकार्यमा अगाडि बढाउन तयार रहेको बताए।

त्यसका लागि आवश्यक सहयोग गर्न पनि मुख्यमन्त्री राईले नगर विकास कोषसँग आग्रहसमेत गरे।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी चार वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्यकारी निर्देशक सापकोटाले अहिले नगरपालिका क्षेत्रमा ठूला १२ वटा आयोजनामा कोषले कुल १२ अर्ब सहुलियत ऋण उपलब्ध गराएको जानकारी दिँदै उनले भने,  ‘स्थानीय सरकारले पनि अब अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्ने छ।’

अबका दिनमा एक नगरपालिकाको आर्थिक र व्यावसायिक पूर्वधार विकासमा मात्र केन्द्रित नभएर स्मार्टसिटी निर्माणको प्रक्रियामा नगरपालिकाहरूलाई जोड्न पनि आवश्यक रहेकामा निर्देशक सापकोटाले जोड दिए।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न प्रमुखलाई नहिच्किचाउन आग्रह गरेका छन्। उनले आगामी दिनमा पालिकालाई समेत विकासको मोडेलमा समावेश गर्न कोषलाई शहरी विकास पूर्वधार निगमको रुपमा अगाडी बढाउन लागिएको जानकारी दिए।

प्रदेश १ का ३९ नगरपालिकाका मेयर उपमेयर कार्यकारी प्रमुख लगायतका सहभागिता रहेको उक्त कोषको कार्यक्रममा आगामी दिनमा कोषले लगानीको बारेमा छलफल र राय सुझाव लिने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.