|

पाल्पा : रंगिविरंगी मानिस। निकै उत्साहित। आफ्नो समुदायको धर्म, परम्परा र संस्कृतिको पहिचान दिने खालका भेषभुषमा सजिएका। काँधमा ढोलक र मादल बोकेर बजाइरहेका। ठूलाठूला स्वरमा गीत गाइरहेका। पुरानाशैलीका खैंजडी ठोकिरहेका। नौमति बाजा पनि घन्किएका।  जहाँ उनीहरू आफैँ रमाएका थिए। र सयौं दर्शकलाई रमाइलो गराइरहेका थिए। यो दृष्य थियो रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानस्थित भैरव मन्दिरमा आयोजना गरिएको सांस्कृतिक महोत्सवको।

महोत्सवमा युवाले निकै रमाइलो गरिरहेका थिए। हेर्दा यो महोत्सव अलिक पृथक् थियो। किनकि पुराना बजागाजा घन्किएका थिए। र पुराना गीत नै गुन्जिएका थिए।

महोत्सवमा लाखे नाच, फागु नाच, पुराना भाकामा तीज गीत गाएका थिए। भजन किर्तन, असारे भाका,  नौमती बाजासमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अधिकांश युवाको सहभागिता थियो।

बुढापाकाले पनि साथ दिएका थिए। स्थानीय संस्कृति प्रदर्शनमा युवाले पनि पुराना गीत गाउने, ढोलक, खैजडी, मादल, मजुरा बजाएका थिए। युवा र वृद्धवृद्धाले सँगै स्वर मिलाएर गीत गाएका थिए। विभिन्न संस्कृति झल्किने बाजागाजाहितको झाँकी र्‍यालीले भैरवस्थानका विभिन्न बजार परिक्रमा गरेको थियो। ¥याली मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो।

लोप हुन थालेका पुराना संस्कृति संरक्षणका लागि महोत्सव नै आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए। युवा पुस्तामा पूराना संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। सात दिनसम्म चलेको महोत्सव मंगलबार सकिएको छ।​ यस्तोखालको महोत्सव वार्षिक रुपमा संचालन गरिदैं आएको अधिकारीले बताए।

यहाँका संस्कृति र सम्पदाको इतिहासबारे पुस्ता हस्तान्तरण र प्रचार प्रसार गर्न महोत्सवले सहयोग पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। ‘यो गाउँपालिका धार्मिक पर्यटकीय क्षेत्र हो। 

ऐतिहासिक महत्व बोकेका स्थानीय कला र संस्कृतिले भरिपूर्ण छ’ उनले भने ‘आर्थिक स्रोतमा टेवा पुग्ने यहाँको संस्कृति र धार्मिक स्थलको संरक्षण गर्न गाउँपालिकाले विशेष योजना बनाएर अगाडि बढेको छ।’ यो अभियानलाई सफल पार्न यहाँका युवालाई सचेत र सहभागी बनाउने जिसीले बताए।

धार्मिक पर्यटकीय संभावना बोकेको भैरवस्थान मन्दिरको थप प्रचार प्रसार गर्न महोत्सवले सहयोग गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताइन्। उनले भनिन् यस गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भैरव मन्दिर र जलेश्वर मन्दिरमा अहिले विभिन्न संरचना निर्माण तथा मर्मत गर्ने काम भइरहेको छ। यी संरचना बनेपछि यहाँ धार्मिक पर्यटकको थप आकर्षण बढ्ने उनले दाबी गरिन्।

महोत्सवका अवसरमा सरसफाई, रक्तदान, पालिका स्तरीय भलिबल प्रतियोगिता, सेन वंशीय इतिहास सम्बन्धि अन्तक्र्रिया, पालिका स्तरीय खुला लोकनृत्य प्रतियोगिता, फागुको अवसरमा चीर पोल्ने कार्यक्रम गरिएको थियो।

केही तस्वीर झलक :

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.