|

विराटनगर : नवनियुक्त प्रदेश १ सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्डिङ बनाउने कानुन र व्यवहारिक पक्षबारे प्रदेश सरकारले अध्ययन सुरु गरेको बताएकी छन्।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री राईले कार्यक्रमका प्राथमिकताका क्षेत्रहरू सार्वजानिक गर्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानुनी रूपमा वैधता दिन आफू लागिपरेको बताइन् ।

स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर कानुनी रूपमा मान्यता दिनुपर्ने मन्त्री राईले जोड दिएकी छन्।

कानुन भनेको जनताको हात बाँध्न नहुने र कानुन खुला स्वतन्त्र हुनुपर्ने बताइन्। राईले भनिन्, 'रक्सीलाई ब्राण्ड बनाउने कुरा मुख्यमन्त्री मात्र होइन प्रधानमन्त्रीलाई पनि भनेको छु। उहाँहरु सकारात्मक रहनुभएको छ।

‘हजारौँ युवा विदेश पलायन भएका छन्,' उनले भनिन्, 'स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारको वातावरण सिर्जना गरिनुपर्छ।’

आशा मात्र गराउने होइन भरोसा दिलाएर बढ्नेमा जोड दिँदै उनले भनिन्, ‘स्वदेशी उत्पादन माटोमा मिल्काउनु हुँदैन। कानुनी र व्यवहारिक पक्ष अध्ययन गरी कोदोको रक्सीलाई वैधानिक दिनुपर्दछ।’

४५ बुँदे प्राथामिकता क्षेत्र कार्यक्रम सार्वजानिक

१३ चैतमा पदभार ग्रहण गरेकी मन्त्री राईले ४५ बुँदे प्राथामिकता क्षेत्र कार्यक्रम सार्वजानिक गरेकी छन्। यस्तै पूर्वाञ्चाल विश्व विद्यालय र प्रदेशमातहत रहेको मनमोहन प्राविधिक विश्व विद्यालयको सम्बन्ध विकास गर्ने, सामुदायिक विद्यालयको गुणस्तरीय बनाउने, हरेक विद्यालयमा खानेपानी पुर्‍याउने योजना छ।

प्रदेशको हरेक पालिकामा एउटा आवसीय विद्यालय स्थापना गर्ने, हरेक जिल्लामा प्राविधिक शिक्षालय,आइसिटी ल्याब र आइसिटी कक्षाको व्यवस्थापनलाई निरन्तरता दिने मन्त्रालयको प्राथामिकता सूचीमा छ।

यसैगरी एक स्थानीय तह, एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिइने छ, प्रदेश खेलकुद बोर्ड र यसमातहत जिल्ला खेलकुद विकास समिति गठन गरिने छ, प्रदेशभित्रका भाषा, लिपी, साहित्य, कला संस्कृति संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम संचालन गरिने मन्त्रालयको प्राथामिकतामा समावेश गरिएको छ।

सार्वजानिक गरेको प्राथामिकतामा प्रदेश मातहतका अस्पताललाई ५० शैयामा स्तोरन्नति गर्ने भएको छ। झापाको मेची अस्पताललाई २ सय शैय्याको अस्पताल स्तरोन्नति गरी प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने मन्त्री राईले बताइन्। यस्तै धनकुटा अस्पताललाई १ सय शैय्याको अस्पतालका रूपमा स्तरउन्नति गरिने पनि मन्त्रलायको योजना रहेको उनले सुनाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.