|

भारतको पश्चिम बंगाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ।

पश्चिम बंगालमा विधानसभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ। ठूला भेला हुन प्रतिबन्ध लगाइए पनि बंगाल राज्यको सत्तारूढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप भएका छन्।

राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उनको दल भारतीय जनता पार्टी र पश्चिम बंगालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ। बंगालको नन्दीग्राम शहरमा खासगरी दुवै पक्षबीच कडा प्रतिस्पर्धा छ। त्यहाँको वातावरण पनि निकै तनावग्रस्त छ। प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठेकी छन्।

गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कंग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्ने भएपछि वातावरण अझ तनावग्रस्त बनेको छ। बिहीबार नन्दीग्रामको मतदान केन्द्रबाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कङ्ग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन्। निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुवै दलले त्यसलाई अवज्ञा गरेका छन्।

पश्चिम बंगालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ। बिहीबार भइरहेको दोस्रो चरणको चुनावमा नन्दीग्राम सहित ३० वटा निर्वाचन क्षेत्र रहेका छन्। नौ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बंगालमा करिब सात करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

मतगणना आगामी मे २ मा हुनेछ। भारतमा हाल पश्चिम बंगाल सहित असम, केरला, तमिल नाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ। असम राज्यमा तीन चरणमा निर्वाचन हुनेछ, जसको दोस्रो चरणको चुनाव आज हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.