|

पर्वत : पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरको शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम शिक्षकहरूको लागि सूचना र प्रविधिसम्बन्धी प्रशिक्षणहरू जहाँ जहाँ आयोजना गरिएका हुन्छन् त्यहाँ पुगिहाल्छन्।

प्रशिक्षकलाई प्रश्न सोध्न उनमा कुनै हिचकिचाहट छैन। प्रविधिका माध्यमबाट सिक्न पाउँदा विद्यार्थीहरू पनि सक्रिय हुने भएपछि उनी आजभोलि फुर्सदको बेलामा पनि युटुब र गुगलमा यस्तै खालका कुराहरू खोजिरहेका हुन्छन्।

‘म अहिले पनि कुस्मा नगरपालिकाले शिक्षकहरूको लागि आयोजना गरेको एकीकृत शैक्षिक सूचना प्रणालीको प्रशिक्षणमा रहेको छु। यस्ता कुरा सिक्न पाउँदा खुसी लागेको छ। यस्ता प्रशिक्षण कार्यक्रममा थाहा पाएसम्म उपस्थित हुने गरेको छु।’ उनले भने, ‘आज मलाई थाहा भयो गुगलमा नै स्मार्ट बोर्ड रहेछ। त्यसैमा युटुव, क्विज, पोल, फोटो, टेक्स्ट लगायतका सुविधा रहेछन्। अब विद्यालयमा पुगेपछि यसैलाई प्रयोग गर्ने हो।’

कुस्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा नगरपालिकाभित्रका शिक्षकहरूको लागि आयोजना गरिएको प्रशिक्षणमा सहभागी शिक्षकहरू यस्तै कुरामा घोत्लिएको देखिन्थ्यो। विद्यालयमा रहने कागजात र विद्यार्थीहरूको विवरणलाई पनि डिजिटल बनाउनको लागि आइएमआईएस नामक एक्सेल बेसको सफ्नवेयर प्रयोगमा रहेको छ।

यसको प्रयोगलाई प्रभावकारी बनाउन र शिक्षकहरूलाई प्रविधिको प्रयोगमा उत्साहित गर्नको लागि शिक्षकहरूको लागि प्रशिक्षण कार्यक्रम राखिएको नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए।

प्रशिक्षणमा सहभागी भएका कुस्मा नगरपालिका–९ कटुवाचौपारीको सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक नरनाथ सापकोटा पनि अहिलेको युगमा सूचना र प्रविधिको माध्यमबाट गरिने शिक्षणबाट बिद्यार्थीहरूलाई सिकाइमा बढी आकर्षित गर्न सक्ने बताउँछन्। ‘अहिलेका बालबालिकाहरू यति टाठा भएका छन् कि उनीहरू प्रविधिमा परिचित छन्।

अब शिक्षकहरू नै प्रविधिमा जानकार नरहने हो भने बालकालिकाले शिक्षकलाई सिकाउने दिन आएको छ,’ उनले भने, ‘हामीले तालिमको क्रममा धेरै कुराहरू सिकेका छौँ। एक्सपर्टहरूले दुःख गरेर, पत्ता लगाएर विभिन्न सामग्रीहरू नेटमा राखिदिनुभएको छ। हामीहरू त्यसलाई प्रयोग गर्नै नजान्ने तरु अरूले बनाइदिएका कुराहरू त राम्रोसँग प्रयोग गर्नुपर्‍यो नि त।’

शिक्षक तथा बिद्यार्थीहरु सूचना र प्रविधिको प्रयोगमा आकर्षित भएपछि कुस्मा नगरपालिकाको कार्यालयबाट आईसिटीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री बताउँछन्।

कोरोना कहरको बेलामा प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा जिल्लाभरका तीन सय जना भन्दा बढी शिक्षकहरूलाई कक्षाकोठामा आई।सी।टी सामग्रीको बारेमा प्रशिक्षण दिइएको बताउँदै क्षेत्रीले अहिले पनि यसलाई निरन्तरता दिइएको जानकारी दिए।

‘लकडाउनको बेलामा कम्प्युटर ओपन नै गर्न नसक्ने शिक्षक सहित एक्सपर्ट शिक्षकहरूको लागि पनि अनलाइनबाट नै प्रशिक्षण चलाएका थियौँ। त्यसको प्रभावकारिता राम्रो पाइएको छ।’ क्षेत्री भन्छन्, ‘शिक्षकहरूकै मागकै आधारमा तालिमहरू भइरहेका छन्। शिक्षकहरूको यति धेरै चासो प्रविधिमा पाउँदा हामीलाई खुसी लागेको छ।’

नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार नगरपालिकाभित्र रहेका ६७ ओटा सामुदायिक विद्यालयहरूलाई नै डिजिटल प्रविधिमा काम गर्नको लागि सहयोग गरिएको र त्यसका लागि बाँकी रहेका विद्यालयहरूमा हालै मात्र संघीय सरकारको सहयोगमा इन्टरनेट जडानको काम चलिरहेको उनको भनाइ छ।

‘नगरका सबै विद्यालयहरूमा अब इन्टरनेटको सुविधा हुन लागेको छ। विद्यालयले हरेक कुरालाई इन्टरनेटका माध्यमबाट लेनदेन गर्ने छन्। तर केही विद्यालयमा अझै पनि कम्प्युटर नरहेको अवस्था छ।’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा कम्प्युटरको लागि भनेर १७ लाख रुपैयाँ छुटाइएको थियो। त्यो खर्च भएको छैन। अब विद्यालयमा आइटी सामग्री दिनका लागि नै यो रकम प्रयोग हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.