सम्झौता भए पनि कार्यान्वयनमा उदासीन

|

काठमाडौं : नुवाकोटको सिसडोलमा २ वर्षका लागि काठमाडौं उपत्यकाको फोहोर लगिएको थियो। उक्त स्थानमा फोहोर लगेको १५ वर्ष बितिसकेको छ।

सरकारले आजसम्म वैकल्पिक व्यवस्था गर्न सकेको छैन। १५ वर्षसम्म फोहोर राख्ने वैकल्पिक स्थान खोजी नगरिएकोमा सिसडोलबासीले बारम्बार पीडा खेप्दै आन्दोलन गर्दै आइरहेका छन्।

सिसडोलबासीले आन्दोलन एक पटकका लागि मात्र भएन। सिसडोलबासीको आन्दोलन बढ्न थालेपछि काठमाडाैंबाट गएका फोहोरका गाडी त्यहाँ लामबद्ध हुन थाल्छन्। अनि काठमाडौंका गल्ली-गल्लीमा पनि फोहोरको डंगुर थुप्रिन थाल्छ।

उपत्यकाका मुख्य चोक-चोकमा केही दिनयता फोहोर थुप्रिएका छन्। दुई दिन मात्र फोहोर उठेन भने पनि फोहोरको दुर्गन्ध फैलन थाल्छ। एक सातायता काठमाडौंको फोहोर उठ्न सकेको छैन। सिसडोलबासीले विभिन्न माग राखी उपत्यकाका १५ वटा भन्दा बढी स्थानीय निकाय र त्यस आसपासका जिल्लाबाट जाने फोहोरका गाडीलाई रोकेर आन्दोलन गरेका थिए।

विद्यालयमा शिक्षक अभाव, सडक बिग्रेमा र टोलमा बढी मानिस बिरामी हुँदा पनि आन्दोलन गरेको उदाहरण त्यहाँ छ। फोहोर उठ्न नसक्दा अहिले महानगरबासीको घर-घरको गेट अगाडि फोहोरको थुप्रो देखिन्छ। पटक-पटक फोहोर लाने सवारीसाधनलाई सिसडोलबासीले अवरोध गरिरहन्छन्। बारम्बार उनीहरुको माग पूरा गर्ने निर्णयसहित छलफल सकिन्छ। विभिन्न सरोकारवाला निकायसँग १५ औं पटकभन्दा बढी सम्झौता भइसकेको छ। कार्यान्वय हुने सर्तमा उनीहरुका संघर्षका कार्यक्रम पनि स्थगित हुन्छ।

वास्तविक समस्या समाधानभन्दा पनि त्यहाँका स्थानीयले फोहोर फालेबापत अन्य माग उठाउन थालेका छन्। 

सिसडोलबासीले फोहोर समस्या समाधानका लागि बारम्बार आन्दोलन गर्दै आइरहेका छन्। पछिल्लो समय भएका आन्दोलनमा उनीहरूका माग भने बेग्लै हुन थालेका छन्। फोहोर समस्या समाधानभन्दा पनि उनीहरूले आफ्ना अन्य आवश्यकतालाई माग बनाउन थालेका छन्। 

उनीहरूले माग आखिर के हो, किन बारम्बार फोहोरका गाडी अवरोध गरिन्छ?

यता काठमाडौं महानगरपलिका पनि उनीहरू(सिसडोलबासी) सँगको सम्झौतापछि किन कार्यान्वयबाट पछि हट्छ? पटक-पटकको फोहोर विसर्जनमा परेको अवरोधले सहरी सभ्यता र त्यसको सुन्दरतामा समेत स्खलन हुँदा पनि महानगर किन सम्झाैताबाट हटिरहेको छ? 

मानवबस्ती डम्पिङ साइट बन्यो

मानव बस्तीलाई फोहोरको डम्पिङ साइट बनाएकाले बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको स्थानीय दिवाकर घिमिरे बताउँछन्। बारम्बार यस ठाउँको बस्तीलाई अन्यत्र सार्न आग्रह गर्दा सुनुवाइ नभएको उनको गुनासो छ।

'स्थानीयवासीको रुचि र आवश्यकता महसुस गरेर फोहोरका गाडीलाई अवरोध गरेका होइनौं, 'घिमिरे भन्छन्, 'मानव बस्तीलाई यो फोहोरले कतिको असर गरेको छ, त्यसको महसुस फोहोर ल्याउने स्थानीय निकाय र केन्द्र सरकारले गर्न सकेका छैनन्।' सम्झौताअनुरुप कार्यान्वय भए आन्दोलन गर्नुपर्ने बाध्यता नआउने उनको भनाइ छ। व्यक्ति विशेष भन्दा पनि सबै गाउँलाई हित हुने गरी माग राखी आन्दोलन गरेको उनले बताए। 

फोहोर व्यवस्थापनका लागि जग्गा अधिग्रहण गर्नु भने पनि अहिले पूर्ण रुपमा अधिग्रहण भइनसकेको उनले बताए। फोहोर विसर्जनकै कारण त्यहाँका कयौं घर विस्थापित भइसके। सिसडोल फोहोरको भण्डार केन्द्र हुन थालेपछि आसपासका दुई जिल्ला(नुवाकोट र धादिङ)का स्थानीय तहलाई प्रत्यक्ष असर गरेको छ।

नुवाकोटको ककनी गाउँपालिकाको वडा १,२ र ३ र धादिङको धुनीबेंसी वडा १ बासीलाई सिसडोलको फोहोरले बढी असर परेको छ। फोहोर व्यवस्थापनको ठाउँ बन्नु यस क्षेत्रका लागि दुर्भाग्य बनेको घिमिरे बताउँछन्। 'खाना खाँदा फोहोरको गन्ध आउँछ,' उनले भने,' फोहोरले करिब ४ हजार घरधुरीलाई प्रभाव परेको छ।'

'वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन हुनुपर्छ'

काठमाडौंबाट ल्याएको फोहोरको थुप्रो पहाडजस्तै बनेको घिमिरेको भनाइ छ। उनका अनुसार फोहोर थुप्रो लडेर बेला-बेलामा बाटो नै अवरोध हुँदै आएको छ।  फोहोरबाट निस्केको पानीले खोलाको पानीलाई प्रदूषित बनाइरहेको उनले जानकारी दिए।

खोलाको पानी सिँचाइ गर्दा बाली सप्रन नसकेको उनले गुनासो गरे। बोट ठूलो हुने तर फल नलाग्ने गरेको उनले पीडा सुनाए। नयाँ फोहोर व्यवस्थापन गर्ने ठाउँ बन्चरेडाँडामा बनिरहेको भए पनि त्यसलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न उनले सुझाव दिए।

बाटो बन्द हुँदा काठमाडौं जान १ घण्टा समय लाग्छ। सामान्य अवस्थामा सवारी चल्ने भएकाले सजिलो हुन्छ। वर्षाको समयमा बिरामी हुँदा उपचार गर्न लाने बाटो समेत हुँदैन।

सिसडोलको ल्यान्डफिल साइटमा १७ घर छन्। सरकारले घरधनीलाई क्षतिपूर्तिस्वरुपप्रति स्क्वायर फुट ५० रुपैयाँले दिएको थियो। विविध कारण देखाउँदै १५ रुपैयाँ दिएको स्थानीयबासीको गुनासो छ। 

'पटक-पटक छलफल गरी समाधान गर्छौ'

फोहोर व्यवस्थापनका लागि अन्यत्र स्थान नभएको करिब डेड दशक अगाडि त्यस ठाउँलाई काठमाडौं महानगरपालिकाले प्रयोग गरेको थियो। अल्पकालीन रुपमा प्रयोग गरे पनि लामो समयसम्म त्यस ठाउँको जमिनलाई उपभोग गरिरहेको छ।

बन्चरेडाँडालाई फोहोर व्यवस्थापनको वैकल्पिक स्थानको रुपमा लिइरहेकाले उक्त ठाउँमा ल्यान्डफिल साइड बनिरहेको छ। बन्चरे डाँडामा ल्यान्डफिल बनेपछि स्थानीयको दीर्घकालीन रुपमा समस्याको समाधान हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। केही महिनापछि बन्चरे डाँडामा फोहोर फालिने उनले जानकारी दिए। निर्माण कार्य अन्तिम चरणमा रहेकोले चाँडै त्यहीँ ठाउँमा लगेर फोहोर राखिने उनले प्रस्ट पारे।

'एकै पटकमा स्थानीयवासीको समस्या समाधान गर्न सकिँदैन,' प्रवक्ता डंगोलले भने, 'समस्या भएपछि छलफल गरी उनीहरुको समस्या समाधान गर्ने गरिन्छ।' स्थानीयसँग सहकार्य गरी काम गरिरहेको उनले बताए। महानगरले सक्ने सहयोग गर्छ र नसक्ने तथा क्षेत्राधिकार बाहिर गएर माग गरिएमा सरोकार निकायमा गएर उनीहरुको माग प्रस्तुत गरिने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.