|
फोटो सौजन्य : चराविद् वासु बिडारी

चितवन : अहिले चराले अण्डा पार्ने र बच्चा कोरल्ने सिजन हो। तर‚ वन जंगलमा लागेको डढेलोका कारण चितवन राष्ट्रिय निकुञ्जमा बस्ने चराचुरुंगीका बच्चा, गुँड र वासस्थान नष्ट भएका छन्।

चराले घाँसे मैदानमा गुँड बनाउँछ। अहिले घाँसे मैदानहरु पनि सुक्खा भएकाले डढेलोको जोखिम छ। डढेलोका कारण घाँसे मैदानमा गुँड बनाएर बसेका चराचुरुंगी समस्यामा परेको चराविद्हरु बताउँछन्।

डढेलोले लोपोन्मुख चराचुरुंगीका गुँड, अण्डा र बच्चा समेत नष्ट भएको चराविद् वासु बिडारी बताउँछन्। ‘निकुञ्जको लगभग सबै घाँसे मैदानमा यस्तो अवस्था छ,’ उनले भने, ‘सामुदायिक वनमा पनि डढेलो लागेको छ। धेरै चराको अण्डाबाट बच्चा निस्किसकेका छन्। ती चराहरुको अवस्था एकदमै नाजुक छ।’

यो सिजनमा हाँसबाहेक सबै प्रजातिका चराहरुले अण्डाबाट बच्चा निकाल्छन्। सुकेका रुखमा उल्लु, मैना, सुगालगायतका चराहरुले गुँड बनाएर कोरल्छन्। त्यस्ता रुखहरु पनि जलेर नष्ट भएको बिडारी बताउँछन्।

महाभारत र चुरे क्षेत्रको बीचमा पर्ने जंगलमा पनि अत्यधिक डढेलो लागेको उनले बताए। ब्रिस्टल ग्रासबर्ड चरा गर्मी याममा बसाइँ सरेर निकुञ्ज क्षेत्रमा आएका छन्। ‘ब्रिस्टललगायतका चराहरुले अहिले घाँसे मैदानमा गुँड बनाउने हो,’‍ उनी भन्छन्, ‘घाँसे मैदान र झाडीहरुमा आगलागी भइसकेपछि चराहरु नष्ट भइसकेका छन्।’

जंगलमा गत वर्षभन्दा यस पटक धेरै डढेलो लागेको उनले बताए। डढेलोले घस्रिएर हिँड्ने अजिंगर, किङ कोब्रालगायतका सर्पहरु पनि नष्ट भएका छन्। यस्ता जीवहरुलाई बाजहरुले खाने भएकाले डढेलोले प्राकृतिक जीवनचक्र नै प्रभावित भएको बिडारीको भनाइ छ।

निकुञ्जभित्र लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जसँग बारम्बार कुरा राखिएको उनले बताए। नेपालमा ८८६ प्रजातिका चराचुरुंगीहरु भेटिएका छन्, भने चितवनमा मात्रै ६४३ प्रजातिका चराचुरुंगी पाइन्छन्।

निकुञ्ज भन्छन् : खासै असर परेको छैन

यता चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने डढेलोले खासै असर नगरेको बताउँछन्। सुरुमा केही स्थानमा डढेलो लागे पनि त्यसलाई तत्कालै नियन्त्रण गरिएको उनले बताए।

‘यही महिनाको सुरुमा थोरै ठाउँमा डढेलो लाग्यो तर हामीले नियन्त्रणमा लियौं‚’ उनले भने, ‘सुकेको खडाई हामीले पहिल्यै काटिसकेको भएर धेरै आगलागी भएन। अलि–अलि लागेको आगोले खासै असर परेन।’ सुरुमा कति क्षेत्रफलमा आगो लाग्यो भन्ने तथ्यांक भने आफूसँग नरहेको उनले बताए।

नेपाल पंक्षीविद् संघको मध्यक्षेत्र संयोजक समेत रहेका चराविद् बिडारीले भने निकुञ्जको सबै घाँसे मैदान, पदमपुरको इचर्नी, दुदौरा र टिकौली जंगलमा लागेको आगोले चराचुरुंगी नष्ट भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.