|

काठमाडौं :  युवा पत्रकार होम कार्कीको पहिलो पुस्तक ‘सनैया’ औपचारिक रूपमा  बजारमा आएको छ।

लामो समय पत्रकारिता पेसा अँगाल्दै खाडी मुलुकमा बिताएका कार्कीले त्यहीको बुझाइ अनि भोगाइलाई समेटेर पुस्तक लेखेका हुन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सनैया पुस्तकका प्रतिनिधि पात्र यमनाथ चापागाई र खिमकला चापागाईले पुस्तकको विमोचन गरे।

विमोचनपश्चात् भएको पुस्तकमाथिको छलफलमा वक्ताहरूले पुस्तक नेपाली युवाले खाडीमा बिताउन परेको दु:खान्त कथाको अंश रहेको बताए। पुस्तकमाथि बोल्दै समाजशास्त्री तथा श्रमविद् डा.गणेश गुरुङले पुस्तकमा समावेश कथाहरूले अनुसन्धानकर्ताका लागि महत्वपूर्ण हुने बताए।

'वैदेशिक रोजगारीका नाममा चलिरहेको मजदुरहरूको उत्पीडन र सङ्घर्षको चक्रलाई कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ', उनले भने', 'यस भित्रका कथाहरू सत्य घटनामा आधारित छन्। यसमा कतारमा नेपाली युवाहरूले भोगेका दुखद पिडाहरू र  उनीहरूको दु:खान्तको तथ्यांक पनि छ।'

नेपाली बजारमा युवाहरूले रोजगार प्राप्त गर्न नसक्दा विदेशिनु परेको बताउँदै गुरुङले नेपालमा अलपत्र रहेका  राष्ट्रीय गौरवको आयोजना निर्माणलाई निरन्तरता दिन सके केही मात्रामा भएपनि युवाहरू विदेशी भूमि जानुपर्ने बाध्यता हट्ने बताए। 'नेपालमा कति युवाहरू बेरोजगार छन् भन्ने तथ्यांक पनि खोज्नुपर्ने अवस्था छ। 

कोभिडका कारण नेपाल फर्किएका नेपालीहरूलाई देशमा कसरी रोजगार दिने भन्ने बारे सरकारसँग कुनै योजना छैन', उनले भने, सरकारसँग रोजगार सृजना गर्ने अवसर छ। यसलाई सरकारले कसरी अगाडी बढाउँछ भन्ने कुरा महत्वपूर्ण छ।'

१८ अध्यायमा विभाजित पुस्तकमाथि बोल्दै  सांसद डा. बिन्दा पाण्डेले जहिले सम्म नेपालमा श्रमको सम्मान हुन सक्दैन तबसम्म नेपाली विदेश जान बाध्य हुने बताइन्। ' हामीले श्रमको दृष्टिकोण फेर्न सक्नुपर्छ। श्रमको हिसाबले गरिने सम्मान नै अहिलेको मुख्य चुनौति हो। यहाँ गरिने हरेक श्रम आफैमा महत्वपूर्ण छ', उनले भनिन्।

पुस्तकसँग सम्बन्धित भएर डा.पाण्डेले पुस्तक पढ्दा हाम्रा नेपाली नागरिकहरूले कतारमा कस्तो स्थितिमा छन् भन्ने बारे पूर्ण ज्ञान हुने बताइन्। 'यो पुस्तक मात्र होइन्। विदेशिएका नेपालीहरूको कारूणिक चित्र हो',उनले भनिन्।

विदेशमा जाने  नेपालीहरू मध्ये महिलाहरूको स्थिती झन कहालीलाग्दो रहेको उनले बताइन्। सरकारले नागरिकलाई कामदारमा रुपमा विदेश पठाउदा कसरी पठाउने भन्ने बारे बुझ्न जरुरी छ। यद्यपी विदेशमा कमाएको पैसाले परिवार र समाज सम्पन्न हुन्छ भन्ने मान्यता नहटाएसम्म नेपाली विदेशिने क्रम नरोकिने उनको दाबी थियो।

पूर्वसचिव एवं श्रम-प्रशासन विज्ञ पुर्ण चन्द्र भट्टराईले  संसारका जुनसुकै कुनामा कानुनी वा गैर-कानुनी रुपमा बसेका नेपाली नागरिकको रक्षा गर्नु सरकारको कर्तव्य रहेको बताए।

पुस्तकले नेपालीहरूको दुखद पक्षलाई मिहिन ढङले  देखाउन खोजेको भन्दै भट्टराईले राज्यले विदेशिएका नेपाली नागरिकको रक्षा गर्न संयन्त्र कसरी परिचालन गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए।

'हामीसँग नितिगत रुपमा कुनै त्रुटि नभएपनी व्यवहारिक रुपमा भने काम गर्न सकेका छेनौं। कार्यान्वयनको पाटोमा केही त्रुटि छन। यद्यपी वैदेशिक रोजगारको यात्रा पूर्ण रुपले रोक्नुपर्छ भन्ने कुरा भावनात्मक मात्र हो', उनले भने, ' वैदेशिक रोजगारमा जाने व्यक्ति कस्ता हुन्? हामीसँग कस्ता जनशक्ति छन्? हामीले कस्ता मान्छे पठाउने भन्ने कुरा महत्वपूर्ण छ। हामीले स्वदेशमा नै  उद्यमशिलतामा युवाहरूलाई ढाल्न सकेमात्र नेपाली विदेशिनबाट केहि कमि ल्याउन सकिन्छ।'

पुस्तकका लेखक कार्कीले कतारमा देखिएका धेरै घटनाहरू समाचारका मार्फत प्रस्तुत गरे पनि  कतिपय घटना समाचारको परिधि अट्न नसकेकाले ती  घटनालाई पुस्तकको रुप दिएको बताए।  

पुस्तकमा पीडा र समस्या, आँसु र पसिना मात्र हैन, खुसी, प्रेम र सफलताका असामान्य घटनाहरू पनि रहेको कार्कीले स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.