|

भारत भन्नाले भारतीय जनता र भारतीय शासक बुझिन्छ। भारतीय जनताका बीच नेपाली जनताको परापूर्व कालदेखि सुमधुर र मित्रतापूर्ण सम्बन्ध रही आएको छ र भोलि पनि रहनेछ।

तर, भारतीय शासक भने इस्टइन्डिया कम्पनी सरकार उपनिवेश चरित्रलाई हुबहु आत्मसात गरेको हुँदा नेपाललगायत साना मुलुकप्रति हेलाहोचो गर्ने प्रवृत्ति कायम रहेको देखिन्छ।

तर, पनि आन्तरिक पक्ष नै अग्रगमन र प्रतिगमनको प्राथमिक कारण भएझैँ भारतीय शासकबाट नेपाल हेपिनुमा केही नेपाली नेता र शासक पहिलो दोषी हो र यस्तो तथ्यलाई बिर्सिएर भारतको मात्र एकोहोरो आलोचना गर्नु हुँदैन। तर, यस्तो प्रवृत्ति पहिलेझैँ अहिले पनि विद्यमान देखिन्छ। 

विद्वान् केशवप्रसाद भट्टराई फेसबुकमा लेखेअनुसार श्यामशरणमार्फत् रअले मिलाइ दिएको व्यवस्थाअनुसार प्रचण्ड र बाबुरामलाई भेटेर माधव नेपाल काठमाडौं आएर सोझै प्रधान सेनापतिलाई नेपालले भेटेर दबाब दिए।

यही सिलसिलामा नेता प्रदीप नेपालले थाहाखबरमै ’हामी त रमिते मात्र भएका छौँ‘ भन्ने शीर्षकमा एक लेख लेख्नुभएको छ।

त्यसमा उहाँले प्रधानमन्त्री ओलीविरुद्ध अराजनीतिक तथा अनैतिक विषयलाई आधार बनाएर लेख लेखेको पाइन्छ। लेखकले ओली विरोधी केही नेपाली नेता र शासकका केही गम्भीर कमजोरी खुट्याएर उल्लेख नै नगरी भारतीय शासकप्रति आलोचना बर्साउनु भएको छ। 

नेता नेपालले दाहाल नेपाल लगायत केही कम्युनिस्ट नाम धारी नेतालाई आधार बनाएर सबै जोगी कान चिरेका हुन् सम्म भन्न भ्याउनु भएको रहेछ। त्यही सन्दर्भमा उहाँले प्रधानमन्त्री ओली हारे पनि जिते पनि एउटै केन्द्र दिल्ली दरबारलाई नाफा हुँदोरहेछ, भन्नु खसी बाख्री एउटै धोक्री गर्नुबराबर हो। जसले बिराउँछ त्यसैलाई दण्डित गर्ने र खबरदारी गर्ने हो। 'काम कुरो एकातिर कुम्लो बोकेर ठिमी'को यात्रा गर्न विज्ञलाई सुहाउँदैन।

नेपालले संकेत गरेको विषयले भारतीय शासकको परोक्ष इसारा र सहयोगमा प्रधानमन्त्री ओलीविरुद्ध दाहाल नेपाल लागेको त स्पष्ट पार्नुभयो। तर, प्रदीप नेपालले नेपालको पश्चिमी भूभाग नेपाली नक्सामा समावेश गरेको भोलिपल्ट ओली सरकारलाई अपदस्थ गर्न मरिमेटेर दाहाल नेपाल लागेको देख्नुभएन। तैपनि उहाँले इतिहासले बेवारिस पारेका लिम्पियाधुरा त अहिलेसम्म फिर्ता लिन सकेका छैनौँ भन्दै आफ्नु लेखमा उल्लेख गर्नु भएको पाइयो।

पहिलो कुरा त उपर्युक्त विषयमा सबै नेपाली एकताबद्ध हुँदा पनि अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन समय लाग्छ। अर्को केही वाम नेता नै यस्ता सवालमा भारतीय शासकको अनुकूल वा कन्फर्टेवल सरकार बनाउनका लागि मरिमेटेर लागि परेपछि नेता नेपालले भनेझैँ फिर्ता ल्याउन ज्यादै गाह्रो हुन्छ। यस्तो विषय उहाँ किन उल्लेख गर्न सक्नुहुन्न?

विरोधी वा विपक्षीले घरका आँगनमा आएर ठाडो चुनौती दिइरहेका बेला माधव नेपाल जस्ता नेताहरू अनेक बहानामा घर भाँड्न उद्यत हुन्छन् भने यस्तो अत्यन्त अराजक र अनैतिक गतिविधि भारतको भाजपा भन्ने पार्टीमा पनि हुँदैन।

त्यसैले नामको कम्युनिष्ट भएर मात्र हुन्छ कि तदनुसार कर्म पनि गर्नुपर्छ। जननेता मदन भण्डारीले कम्युनिस्ट पार्टीको झण्डाका भरमा कसैलाई पनि कम्युनिष्ट पार्टी र त्यसको नेता भन्न सकिन्न भन्नुभएको छ। वास्तविक रूपमा कर्म नै उसको सही परिचय हो।  

जबजब नेपाल आन्तरिक विवादमा फस्छ वा फसाइन्छ तबतब भारतीय शासक नेपालको दक्षिणी भूभाग अतिक्रमण गर्ने काममा लागिपर्छ। देशको मिचिएको भूभाग फिर्ता ल्याउन पहल गर्ने ओली सरकारविरुद्ध ज्यान फालेर लाग्नेहरूविरुद्ध बेलैमा नबोल्दा लेखमा उल्लेख गरेझैँ नेपालसित अब रमिते बन्नुबाहेक अरू उपाय देखिँदैन।

सच्चा नेता त ग्यालिलियो जस्तो हुन्छ र हुनुपर्छ। दूरदर्शी नेता सत्यवादी नेता सही कुरामा बेलैमा अडान राख्छ र त्यसलाई कार्यान्वय गराउँछ। बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ तर, मौकामा रमिते बनेपछि कुरो बिग्रन्छ। नेता नेपालबाट भएको गल्ती नै यही हो। 

नेपालज्यू, तपाईंले लेखमा जोसुकै प्रधानमन्त्री बनून् (वा ओली नै बनून् भन्ने आशय प्रदीप नेपालको रहेको छ) तिनले भारतको घेरा चिरेर जान सक्दैनन् भनेर ओलीले भारतीयले गरेको नाकाबन्दीविरुद्ध लिएको चट्टानी अडान यति छिटै बिर्सिएको हो? यही अवसरमा ओलीले भारतीय शासकलाई समेत आश्चर्य चकित पर्ने गरी चीनसित वाणिज्य र पारवहन सम्झौता गरेको बिर्सिएर बैगुनी बन्न खोजेको हो? दोधारे कुरा गरेर कार्यकर्ता र जनतालाई भ्रमित पार्नुहुन्न। नेपालले दाहाल,नेपाल र खनालकै दर्जामा ओलीलाई राख्न खोजेको हो भने यो सरासर अन्याय र घोर अपमान हुन्छ।

जननेता मदन भण्डारीको संगतले उच्च तहमा पुग्नु र आफ्नै बलबुतामा शीर्ष स्थानमा पुग्नुमा आकास जमिनको फरक हुन्छ। जबज भजाएर भोजन गर्नेहरू र जबजका लागि सम्पूर्ण त्याग गर्नेहरूलाई समान दर्जा दिनु जबजकै अपमान हो। हेर्नुहोस् त माधवकुमार नेपाल आफैँ जबजको परोक्ष वा प्रत्यक्ष विरुद्धमा रहेका छन् भने उनका अघिपछि जबजको च्याप्टर क्लोज गर्ने र त्यसका मतियारको जत्था देखिन्छ। 

नेपालले लेखमा भारतले तराई मधेसका पार्टीहरूमा मात्र होइन अरू (नेका, एमाले माओवादी) मा पनि हात हालेको छ त भन्नुभयो तर, यस्तो संवेदनशील विषयमा माधवकुमार नेपाल विगत लामो समयदेखि भारतीय रअबाट परिचालित भएको थाहा पाइनपाईकन पनि प्रदीप नेपाल मौन बस्नुको रहस्य बुझिएन।

नलेखिएको इतिहास पृ.१२३ र १२४ मा राधाकृष्ण मैनालीले ०४६ सालको फागुन २० र चैत्र २१ गते तत्कालीन माले पार्टीको केन्द्रीय समितिको बैठकमा विश्वस्त सूत्रको हवाला दिएर भारतीय सशस्त्र सहयोगमा गणतन्त्र ल्याउन दवाव दिने माधव नेपाल भविष्यमा यस देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौम सत्ताविरुद्ध कति खतरा हुन्छ भन्ने अति सामान्य कुरा तपाईले पनि बुझ्नुपर्ने हो। यस मामलामा त यो लेखक मदन भण्डारीलाई पनि दोषी देख्छ। अरू कसैलाई नभएर माधव नेपाललाई भारतीय शासकले त्यतिबेलै अन्तरंग सम्बन्धमा राखेको सजिलै बुझिन्छ।

विद्वान् केशवप्रसाद भट्टराई फेसबुकमा लेखेअनुसार श्यामशरणमार्फत रअले मिलाइदिएको व्यवस्थाअनुसार प्रचण्ड र बाबुरामलाई भेटेर माधव नेपाल काठमाडौं आएर सोझै प्रधान सेनापतिलाई नेपालले भेटेर दबाब दिए।

यस कुरालाई विवेक शाह,एसडी मुनि र कान्तिपुरमा प्रचण्डनिकट मानिने प्रधान सम्पादक सुधीर शर्माले स्पष्ट पारेको भट्टराईले उल्लेख गर्नुभएको छ। माओवादीनिकट पत्रकार शुभशंकर कँडेलको पुस्तक अवतरणमा प्रचण्ड र बाबुरामले पनि भारतको त्यो सम्बन्धलाई स्वीकार गरेका छन्।

श्याम शरण प्रचण्ड र बाबुरामसँगको परामर्शअनुसार प्रधान सेनापतिलाई आत्मसमर्पण गराउने कार्य भइरहँदा युरोपीय मुलुकका राजदूतहरू हुल बाँधेर गिरिजाप्रसाद कोइरालालाई राजासित सम्झौता नगर्न दबाब दिएको कुरा राजीव उपाध्यायले 'क्याबाल्ज एण्ड कार्टेल्स' नामको पुस्तकको पृ.१०९ मा उल्लेख गरेका छन्। उनी विश्वबैंकको नेपाल र दक्षिण एसिया शाखामा लामो समय कार्यरत दाता संगठन र राष्ट्रसँग निकट रहेर काम गरेका व्यक्ति हुन्।

युरोपेली मुलुकसित रहेको पहिलेदेखिको सम्बन्ध बलियो बनाउन माधव नेपालले होलिवाइन ग्रुपसहितका विभिन्न इसाइ संगठन र तिनको प्रभावका युरोपेली मुलुकसित सम्बन्ध जोडिएको लेखकको किटानी उल्लेख छ। 

वरिष्ठ लेखक भट्टराईले भारतीय गुप्तचर संयन्त्रसँगको त्यतिखेर देखिकै सम्बन्धको बलमा मदन भण्डारी र जीवराज आश्रितको रहस्यपूर्ण दुर्घटनामा भएको निधनपछि पार्टीका अन्य वरिष्ठ नेताहरूलाई उछिन्दै माधव नेपाल एमाले पार्टीको महासचिव बन्नु भएको बुझ्न गाह्रो छैन भनेर लेख्नुभएको छ। ।

उक्त कुराभित्र गम्भीर रहस्य निहित रहेको भान हुन्छ। भट्टराईले दृश्यमा अगाडि अगाडि प्रचण्ड र बाबुराम देखापरे पनि पर्दा पछाडिबाट माधव कुमार नेपाल र वामदेव गौतमहरूको गुट माओवादी विद्रोहसँग जोडिएको त्यतिखेर देखि नै थाहा भएको बताउनुभएको छ।

उहाँले स्मरणीय छ केपी ओलीनिकट मानिने कुनै नेता माओवादी गतिविधिसित त्यसरी गाँसिएका देखिएनन् भन्नुभएको देखिन्छ। प्रसिद्ध लेखक सौरभले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीमा ओलीको प्रमुख नेतृत्व रहेको भए भारतमा भएको १२ बुँदे सम्झौता हुने थिएन भन्नुभएको छ।

कतिपय इमानी स्वतन्त्र लेखक र विश्लेषकहरू ओली सरकारका सकार र नकारको सन्तुलित चर्चा गर्नु हुन्छ। तर, कतिपय केही दिनको खपतका लागि र देशलाई अस्थिर र अराजक बनाउन उद्यत लेखक र विश्लेषकहरू ओलीविरुद्ध एकोहोरो तारन्तार लेखी बोलिरहेको देखिन्छ।

तर, नेमकिपाका वरिष्ठ नेता नारायणमान बिजुक्छेले फरक पार्टी र विचारका पार्टी अध्यक्ष र प्रधानमन्त्रीका कट्टर ओलीविरोधी दाहाल नेपाल भारतीय शासक अनुकूल सञ्चालित रहेको स्पष्ट पार्नुभएको छ तर, आफ्नु र आफन्तको आङको भैँसी नदेख्ने प्रवृत्ति घातक प्रवृत्ति हो। स्वयं केशवप्रसाद भट्टराईले आफू ओली वा कम्युनिष्ट पार्टीलाई मतदान नगर्ने भए पनि ओलीलगायत नेताका सकारलाई स्वीकार र समर्थन गर्ने बताउनुभएको छ।

तर, नेता प्रदीप नेपाल कुन आधार र प्रमाणका आधारमा एकतर्फी विचार प्रवाह गरिरहनु भएको देख्दा अचम्म लाग्छ। आफू र आफन्तमा लागेको भए पनि क्षयरोग पालेर कोही पनि दीर्घायु हुँदैन। यत्ति कुरा नेपाललगायत सबैले बेलैमा बुझ्नु जाति हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.