अहिलेकै अवस्था कायम रहे एक साताभित्र सबैभन्दा प्रभावित

|

भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर निकै तीव्र गतिमा फैलिएको छ।

संक्रमित हुने र ज्यान गुमाउनेको दर दिनहुँ बढिरहेको छ। त्यहाँको सरकारले आगामी दिन थप खराब हुनसक्ने भन्दै सचेतना अपनाउन आग्रह गरिरहेको छ।

कोरोना विरोधी विशेष कार्यदलका प्रमुख चिकित्सक डा. वीके पालले भनेका छन्, 'यो चिन्ताजनक अवस्था हो, केही राज्यमा अवस्था निकै खराब भएको छ, भाइरस अझै पनि निकै सक्रिय छ, यसले सजिलै हाम्रो प्रतिरोधात्मक क्षमतालाई निस्तेज पार्न सक्छ, भाइरस नियन्त्रण गर्ने उपाय सोच्दा सोच्दै यो फेरि फर्केर आएको छ।' 

यस्तो छ हालत 

अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार भारतमा मार्च ३१ देखि औषतमा दिनहुँ ६२ हजार संक्रमित फेला परेका छन्।

पछिल्लो पाँच महिनायता कुनै साताभित्र औषत संक्रमणदर अहिलेसम्मकै उच्च हो। यो संख्या अहिले दिनानुदिन निरन्तर बढिरहेको छ। 

कोरोनाबाट अतिप्रभावित आधादर्जन मुलुकमध्ये भारत दोस्रो लहरबाट लामो समयसम्म जोगिएको थियो। तर, महामारी नियन्त्रण निम्ति लगाइएको प्रतिबन्ध खुकुलो बनाइएपछि अहिले पूरै देश दोस्रो लहरको चपेटामा परेको छ। 

भारत आफैंले कोरोना विरुद्धको खोप बनाइरहेको छ। खोप अभियानलाई देशव्यापी बनाइरहँदा कोरोनाको दोस्रो लहर पनि देशैभर फैलिएको छ। खोप अभियान अहिले पनि प्रारम्भिक चरणमै छ।

गुगलको कोभिड–१९ सामुदायिक गतिविधि प्रतिवेदन हेर्दा पूर्व कोभिडको तुलनामा अहिले मानवीय चहलपहल निकै बढेको छ। विभिन्न गैर आवासीय क्षेत्रमा पनि मानिसहरूको आवागमन लगातार वृद्धि भइरहेको छ। 

गत मार्च महिनामै त्यहाँ मानवीय चहलपहल कोरोना फैलनुभन्दा अघिकै अवस्थामा फर्किइसकेको थियो। 

यतिखेर कोरोना संक्रमणदर भारतका कयौं राज्यमा निकै तीव्रतर भइरहेको छ।

महाराष्ट्रमा दोस्रो लहर सबैभन्दा बढी छाएको छ। महाराष्ट्रमा १२ करोड ३० लाख मानिसको बसोबास रहेको छ। महाराष्ट्र भारतकै घना आवादी भएको राज्य हो।

अब के हुन्छ ? 

बितेका १५ दिनमा भारतमा कोरोना भाइरस मामिला दिनहुँ लगभग ६ प्रतिशतका दरले बढिरहेको छ।

संक्रमणको यो दर कायमै रहे १२ दिनभित्र भारतमा दिनहुँ ९३ हजारभन्दा धेरै संक्रमित थपिनेछन्। प्रक्षेपित आंकडा मिले भारतको अवस्था यसअघिको भन्दा पनि निकै खराब हुनेछ। 

भारतमा मार्च ३१ सम्ममा दैनिक औषत ६२ हजार नयाँ मामिला फेला परेको भनिएको छ। यो आंकडा हेर्दा भारतले कोरोना संक्रमण दरमा ब्राजिल र अमेरिकालाई मात्रै उछिन्न बाँकी छ। 

तर, पछिल्ला दिनमा संक्रमित भेटिने दर भारतमै बढिरहेको छ। अवस्था यथावत नै रहे अबको सात दिनमा भारतमा दैनिक संक्रमणदर सबैभन्दा तीव्र रहनेछ। दैनिक संक्रमितदर पनि यहीँ धेरै हुनेछ।

गत वर्षको अगस्ट र सेप्टेम्बरमा भारतले संक्रमण मामिलामा विश्वका सबै देशलाई उछिनेको थियो। 

भारतमा अहिले कोरोना संक्रमितको मृत्युदर १ दशमलव ३४ प्रतिशत छ। तर, पहिलो लहरमा त्यहाँ मृत्युदर १ दशमलव ६३ प्रतिशत थियो। 

एक महिनाअघि कोरोना संक्रमणका कारण भारतमा दिनहुँ १०० जनाले ज्यान गुमाउने गरेका थिए। तर, मार्चको अन्तिम सातामा औषत दिनहुँ ३१९ संक्रमितको मृत्यु भएको थियो। 

भारतमा कोरोना महामारीको पछिल्लो उछाल बेलैमा नियन्त्रण गर्न सम्भव देखिएको छैन। जनस्वास्थ्य र महामारी विज्ञहरूले यो उछालका कारण भारतको स्वास्थ्य प्रणालीमै गम्भीर असर पर्नसक्ने चेतावनी दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.