|

काठमाडौं : नेपालमा कलेजो प्रत्यारोपण पुन: सफल भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ औँ पटक कलेजो प्रत्यारोपण सफल भएको हो।

प्रत्यारोपणको १२ औँ नम्बरमा पर्ने भक्तपुरकै ४४ वर्षका पुरुषलाई उनकै २५ वर्षीय छोरीले कलेजो दिएको केन्द्रका निर्देशक प्रा.डा. प्रेम ज्ञवालीले बताए।

निर्देशक डा. ज्ञवालीले प्रत्यारोपणमा नेपाली चिकित्सक टोलीले अगुवाइ गरेको बताए। तर ‘ब्याक सपोर्ट’मा भने भारतस्थित म्याक्स अस्पतालको विज्ञ टोलीहरू थिए।

प्रत्यारोपणमा केन्द्रका कलेजो टिमका डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशिल तामाङ तथा नर्सहरू विनिता उप्रेती र अनिता सहभागी रहेको थियो। ब्याक सपोर्टका लागि दिल्लीस्थित म्याक्स अस्पतालबाट डा. शलिन अग्रवालको नेतृत्वमा ६ जनाको टीम आएको  बताइएको छ।

नेपालमा पहिलोपटक कलेजोको प्रत्यारोपण पनि सोही केन्द्रमा भएको थियो। डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टीमले २२ मंसिर २०७३ का दिन पहिलो प्रत्यारोपण गरेको थियो। त्यसबेला ३८ वर्षका बिरामी भाइलाई उनकी ४२ वर्षकी दिदीले कलेजो दान गरेकी थिइन्‌।

प्रत्यारोपणमा सघाउन त्यसबेला दक्षिण कोरियास्थित सामसङ हस्पिटलबाट डा. डेभिन कोनको नेतृत्वमा १४ जनाको टोली आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.