|

भारतको छत्तीसगढस्थित बीजापुरमा विद्रोही भारतीय कम्युनिट पार्टी माओवादी र सरकारी फौजबीच भीषण भिडन्त भएको छ। भिडन्तमा २२ सरकारी जवानको ज्यान गएको छ। 

नक्सल अपरेशनका डीजी अशोक जुनेजाले सरकारी फौजमा भएको हताहतीबारे जानकारी दिएका हुन्। उनले भनेका छन्, 'घटनास्थलमा पुगेको सुरक्षाबलले आज २० शव बरामद गरेको छ। माओवादीहरूले आफ्ना घाइते साथीहरूलाई तीनवटा ट्याक्टरमा लादेर लगेको थाहा भएको छ।'

पछिल्लो भिडन्त शनिबार भएको हो। बीबीसी हिन्दीका अनुसार भिडन्त भएको स्थानबाट एक किलोमिटर वरपरसम्म सरकारी जवानको शव यत्रतत्र छरिएको थियो। विद्रोहीसँग मुठभेड हुँदा मारिएका जवानहरूको शव लिन भारत सरकारले स्पेशल टास्क फोर्स नै परिचालन गरेको छ।

विद्रोहीहरूले गरेको पछिल्लो हमलालाई छत्तीसगढमा केही वर्षयता भएको सबैभन्दा घातक मानिएको छ। 

भारतका गृहमन्त्री अमित शाह र छत्तीसगढका मूख्यमन्त्री भूपेश बघेलले माओवादीसँग भएको जवानहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमा लेखेका छन्, 'छत्तीसगढमा माओवादीसँग लड्दालड्दै शहीद भएका जवानका परिवारप्रति मेरो समवेदना छ। वीर शहीदहरूको बलिदान कहिल्यै भुलिनेछैन, घाइतेहरूको स्वास्थ्यलाभको कामना!' 

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले करिब चार घण्टासम्म माओवादी र सरकारी सुरक्षाबलबीच भिडन्त भएको जानकारी दिए। उनका अनुसार एक जवान अहिले पनि हराइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.