|

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आइतबार नै अर्को पाटेबाघ नियन्त्रणमा लिएको छ। निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट माहुतेलाई आक्रमण गरेलगत्तै पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका साहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। नियन्त्रणमा लिएको बाघलाई आजै काठ्माण्डौको जावलाखेल चिडियाखानामा लगिने तयारी गरिएको पनि उनले बताए।

बाघले मान्छेलाई आक्रमण गरेलगत्तै (अन द स्पोर्ट) नै हामीले बाघ नियन्त्रणमा लिएका हौँ उनले थाहा खबरलाई भने अब उक्त पाटे बाघ आजै काठमाडौं पठाउने तयारी गरिरहेका छौ। योसँगै बर्दियाबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइएको छ। यसअघि बर्दियाको खाता क्षेत्रबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो।

​गैँडा गणना गर्न गएको टोली रहेको हात्तीका माहुते पुलिसराम चौधरीको आइतबार बेलुका निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो। यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो। निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै भएको अनुमान लगाएको छ।

अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो। बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ। यस वर्ष मात्रै ११ जनाले पाटे बाघकै आक्रमणबाट ज्यान गुमाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.