|

काठमाडौं : पछिल्लो समय छिमेकी देश भारत कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको छ। भारतमा संक्रमण फैलिएको मात्रै छैन डबल म्युटेन्ट भेरियन्ट’ खालको संक्रमण देखिन थालेपछि नेपालसमेत कोरोनाको दोस्रो लहरको उच्च जोखिममा रहेको विज्ञहरूले बताइरहेका छन्।

भारतमा संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विभिन्न सिलसिलामा रहेका नेपालीहरू धमाधम घर फर्कंदैछन्। जसले गर्दा पछिल्लो दिन नेपालमा कोरोना संक्रमणको संख्या ह्वातै बढ्दै गएको मात्रै छैन। भर्खरै भारतबाट आएका केहीमा नयाँ म्युटेन्ट भेरिएन्ट संक्रमणसमेत देखिएको पुष्टि भइसकेको छ।

भारतमा संक्रमण बढ्दै जाँदा र त्यहाँबाट आउने मानिसको संख्या बढ्दै गएकोको र संक्रमणको दर बढ्दै जादा अबको एक महिनामा नेपालमा संक्रमणदर गत भदौ असोज महिनाको जस्तो उच्च हुनसक्ने विज्ञहरूले अनुमान गरिरहेका छन्।

अब दोस्रो लहरको कोरोना संक्रमणसँग जुध्‍न सरकारले परीक्षण बढाउने र भारतलगायत तेस्रो मुलुकबाट आउने मानिसमा निगरानी बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

 परीक्षण र निगरानी बढाइने

दोस्रो लहरको कोरोना जोखिमलाई कम गर्न अब परीक्षणको संख्या बढाइने र भारतको संक्रमण तीव्र फैलिएको क्षेत्रबाट आएकाहरूलाई विशेष निगरानी बढाउनुका साथै सिमानामै दश दिनलाई पुग्ने मास्क दिइने पनि प्रवक्ता प्राडा गौतमले बताए। उनले भने, ‘अबको हाम्रो मुख्य प्राथमिकता भनेको परीक्षणको दर बढाउनु हो जसको लागि हामीले काम अघि बढाइ सकेका छौँ, परीक्षणको लागि आवश्यक पर्ने किटहरू थप खरिद गर्ने प्रक्रियासमेत अघि बढाइसकिएको छ।'

क्वारेन्टाइन र अस्पताललाई तयारी अवस्थामा

यस्तै, सरकारले संक्रमण पुन: तीव्र रूपमा बढ्ने अनुमान गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। भने हाल उच्च जोखिमरहेको क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था गर्नसमेत आग्रह गरेको प्राडा गौतमले बताए। ‘होम आइसोलेशन बस्न नसक्नेहरुको लागि सामूहिक क्वारेन्टाइनको आश्यकता पर्छ जसको लागि सम्बन्धित स्थानीय तहहरूलाई व्यस्थापन गर्न आग्रह गरिएको छ।'

हाल सरकारी अस्पतालहरूलाई अब संक्रमितहरूको उपचार गर्न र शोधभर्ना लाग्‍न भनी सकिएको र आवश्यक परे अन्य अस्पतालहरूलाई समेत तयारी अवस्थामा रहन आग्रह गरिएको उनले बताए।

लकडाउन गर्ने योजना छैन

यसपटक सकेसम्म परीक्षण बढाउने र सचेतना बढाउने तर संक्रमण नियतन्‍त्रणको लागि तत्कालै लकडाउन नगर्ने योजना रहेको प्रवक्ता प्राडा गौतमले बताए।

भारतमा संक्रमणको दर बढेकोर भारतका विभिन्‍न प्रान्त तथा केही सहरहरूमा लकडाउन तथा रात्रिकालीन कर्फ्यु लगाउन थालिएको छ। तर, ती प्रान्तमा रहेका नेपालीहरू स्वदेश फर्किंदा उनीहरूसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम बढ्छ नै तर हामीले अहिले क्वारेन्टाइन र परीक्षणलाई नै मुख्य प्राथमिकता दिने तर तत्काल लकडाउनको योजना नभएको उनले बताए।

 उनले भने, ‘हामीले अहिले लकडाउनको कुनै योजना बनाएका छैनौँ तर परीक्षण र सीमा नाकामा कडाइ भने गर्ने निर्णय भएको छ।' मास्क तथा सेनिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गरे धेरै संक्रमण कम हुने हुँदा सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नसमेत उनले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.