|

धनगढी : बैतडीमा पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।

यही चैत्र २५ गते हुने निर्वाचनका क्रममा मनोनयन पत्र च्यातिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो। सदस्यता वितरणका क्रममा गैरपत्रकारहरूलाई सदस्यता प्रदान गरिएको भन्दै अधिकांश पत्रकारहरू संघर्षमा उत्रिएपछि २२ गते आइतबारबाट हुने मनोनयन प्रक्रिया प्रभावित भएको थियो। 

निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म मनोनयनको म्याद थपे पनि समझदारी जुट्न नसक्दा २ बजेसम्मका लागि म्याद दिइएको थियो। दिउँसो साढे एक बजे मनोनयन सुरु भएलगत्तै असन्तुष्ट समूहले मनोनयन पत्र च्यातेको हो।

निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा आइतबारदेखि तालाबन्दी भएको। तालाबन्दी खुलाएर सहमति नगरी निर्वाचन प्रक्रिया अघि बढाएपछि विवादले चर्को रूप लिएको हो।

जिल्लामा क्रियाशील पत्रकारहरूले महांसघको सदस्यता नपाएको र गैरपत्रकारहरूलाई सदस्यता दिएको भन्दै बैतडीका अधिकांश पत्रकार आन्दोलित भएका छन्।

बैतडीमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, निर्माण व्यवसायी, संघ संस्थामा आबद्ध व्यक्तिहरू र बिमा कम्पनीका एजेन्टहरूलाई सदस्यता दिएर सक्रिय सञ्चारकर्मीलाई सदस्यताबाट वञ्चित गरिएको असन्तुष्ट पक्षको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.