|

भक्तपुर : जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले जिल्लाको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा रोक्ने निर्णय गरेपछि भक्तपुरका बासिन्दा आक्रोशित भएका छन्। उनीहरुले सोमबार टौमढीस्थित ङातापोल (पाँच तल्ले मन्दिर) परिसरमा निर्णयको विरोधमा प्रदर्शन गरेका छन्।

विरोधसभामा सहभागीहरुले जसरी भए पनि यसवर्ष जात्रा परम्पराअनुसार भैल खः (भैरवनाथको रथ) तानेर र लिंगो उठाएर सम्पन्न गर्ने बताए। उनीहरुले प्रशासनले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने समेत चेतावनी दिए।

स्थानीय रामसुन्दर सुवालले नेवारहरुको कला‚ संस्कृति, जात्रापर्व मास्न सरकारले यो खेल खेलेको आरोप लगाए। ‘कोरोनाको बहानाले हाम्रो जात्रा पर्व मास्ने खेल हो,’ उनले भने, ‘जात्रा हामी कुनै पनि हालतमा गर्छौं। यो जात्रा जोगाउन ज्यानको बाजी लगाउँछौं।’

उनले प्रशासनले जनतालाई मुर्ख बनाउने प्रयत्न गरेको आरोप समेत लगाए। उनले भने, ‘गत साल पनि रथको पाङ्ग्रा बनाउन दिएर पछि रोक्यो। यो साल पनि रथ सबै बनाउन दिएर, लिङ्गो ल्याएर सम्पूर्ण कर्मकाण्ड सकाएपछि आज आएर एक्कासी रथ निर्माण कार्य रोक्नु हामीलाई मुर्ख बनाउने प्रयत्न हो।’

भैरवनाइके माइला छुंकाले पनि जात्रा कुनै पनि हालतमा गर्ने बताए। उनले बिस्काः जात्रा काशी जगन्नाथ, भैरवनाथ र भद्रकालीलगायत नगरका सबै देवीदेवताको भएको बताउँदैं भने, ‘भैरवनाथको रथ नतानिकन अरु जात्रा गर्न मिल्दैन।’ यो जात्रा गर्न प्रशासन र स्थानीय सरोकारवालासँग सहकार्य भैरहेको उनले जानकारी दिए।

संस्कृतिकर्मी प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ जात्रा रोक्न नहुने बताउँछन्। जात्रा रोक्यो भने भक्तपुरको पहिचान मेटिँदै जाने चिन्ता उनको छ। उनले भने, ‘यो जात्रा रोक्यो भने भक्तपुरको पहिचान गुम्दै जाने ठूलो खतरा हुन्छ। यसका साथै भविष्यमा नेवार संस्कार  र संस्कृति गुम्दै जान्छ।’

उनले कोरोना सर्ने वहानामा सरकारले जात्रा बिथोल्न लागेको आरोप समेत लगाए। उनले भने, ‘सभा‚ भाषण‚ जुलुस गर्दा कोरोना माहामारी नहुने जब भक्तपुरको पहिचान बिस्काः जात्रा आउन लाग्यो अनि कोरोना सर्नै नाममा जात्रा विथोल्न लागेको छ।’

प्रा.डा. श्रेष्ठले नगर प्रवेश गर्ने नाका बन्द गरेर भए पनि जात्रा सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘यो जात्रा नगरभित्र मात्र सीमित हुने भएकाले नगरभित्र प्रवेश गर्ने नाका बन्द गरेर प्रशासन र स्थानिय सरोकारवालाको सहकार्यमा जात्रा शान्तिपुर्ण सफल बनाउनुपर्छ र मनाउनुपर्छ।’

अर्का सँस्कृतिविद् ओम धौभडेलले पनि जात्रा रोक्न नहुने बताउँछन्। जात्रा भक्तपुरको पहिचान भएकाले सरोकारवालाहरुसँग सहकार्य गरेर, स्वास्थ्य शिविरहरु राखेर सामाजिक सदभावनाका साथ जात्रा गर्न सकिने उनले बताए। उनले भने, ‘सिजनअनुसार रोग आउनु स्वाभाविक हो। तर कोरोना भनेर नयाँ रोगको नाम लिएर जात्रा गर्न नदिनु अस्वाभाविक कुरो हो।’

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले छिमेकी मुलुकसँगै यहाँ पनि दिनदिनै कोरोनाको माहामारी बढ्दै गएका कारण आउँदो शनिबारबाट सुरु हुने बिस्काः जात्रामा भैरवनाथको तान्न नदिनुका साथै लिङ्गो ठड्याउन नदिने निर्णय गरेको बताए। सोही निर्णयअनुसार बिस्काः जात्रामा हजारौं मानिसहरको भिडभाड हुने भएकाले जात्रा गर्न नदिने प्रजिअ भट्टराईले जानकारी दिए। उनले भने, ‘लिङ्गो र रथमा पुजा गर्न दिइन्छ। अरु पूजा सबै सीमित रुपमा सम्पन्न गर्ने तर लिङ्गो ठड्याउने र रथ तान्ने काम बन्द हुन्छ।’

टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने

यसैबीच बिस्काः जात्राको अवसरमा भक्तपुरका विभिन्न टोलटोलमा हुने जात्राहरु नरोकिने सरोकारवालाहरुले बताएका छन। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको बिस्काः जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूको बैठकमा स्थानीय जात्रा नरोक्ने बताएका हुन्।

बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामुलक गतिविधि गर्ने, बिस्काः जात्राको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयंसेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स वितरण गर्नेलगायतका तयारी भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.