'संगठन नै नभएको मान्छेलाई गृहमन्त्री बनाउँदा बिकाउ माल बने'

|

काठमाडाैं : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज पश्चिम रुकुम पुगेका छन्। 

आर्थिक समृद्वि,सामाजिक,सांस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले ​देशभित्र र बाहिरबाट अनेक षडयन्त्र भएको भन्दै नेपाली जनतालाई फेरि विभेद अपमान गर्ने षडयन्त्र भइरहेको बताए। आफूहरू त्यसविरुद्ध लडिरहेको पनि उनले बताए।  ​

सम्बोधनको सुरुमा उनले भने, 'रुकुमी जनतालाई भेट्नलाई रैछ यहाँ त तुँवालो लागेको रहेनछ। आउन ढिला भयो।' नेपालगन्जमै अड्किनुपर्ने हो कि भन्ने लागेको भए पनि रुकुम आउन पाएको भन्दै उनले खुसी व्यक्त गरे। 

संविधान लेख्न र संविधानसभाबाट संविधान बनाउने अवसर आफूलाई आएको र त्यो आफूले गरेको प्रति उनले गर्व गरे। कम्युनिष्ट एकता आवश्यक भएको भन्दै समाजवादको निर्माण गर्दै सबैलाई विकासको फल दिने ऐतिहासिक अवसर आफ्नै प्रस्ताव गएको उनले दाबी गरे। र कम्युनिष्ट एकता पनि आफ्नै पहलमा भएको उनले जिकिर गरे। 

जनयुद्ध र यसको उपलब्धि उल्ट्याउन जाली फटाहरू लागिपरेको भन्दै संसद् विघटन प्रतिक्रान्तिको सुरुवात भएको पनि उनले बताए। त्यसको विद्रोह गर्न देशभरका जनतालाई यसको विरोध गर्न अपिल गरेको पनि स्मरण गरे। 

अबको यो प्रतिक्रियाविरुद्ध लडाइँ हतियारबिनाको नयाँ युद्ध भएको पनि उनको भनाइ थियो। रक्तपातको लडाइँ नभएको र हिंसामा आफू नगए पनि पनि यो नयाँ जनयुद्धको सुरुवात भएको उनले बताए। 

झण्डै सवा दुई महिना यो आन्दोलन चलाउन पर्दा आफूलाई थोरै शंका लागे पनि व्यवहारमा देशभर जाँदा जनता प्रतिगमनविरुद्ध आफ्नो पार्टीलाई साथ दिन तयार रहेको पाएको उनले बताए। जसका कारण संविधान बचेको पनि उनले बताए। तर उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र अझै जारी रहेको उनले बताए। 

काठमाडौं बसेर यसविरुद्ध लडे पनि प्रतिफल राम्रो नआएको उनको भनाइ थियो। ‘सिंहदरबारभित्र बसेर कहिले योसँग कहिले त्योसँग सहकार्य गरेका छौं, यो षडयन्त्रलाई परास्त्र गर्ने तागत हामीलाई साथ दिने जनताले मात्रै यो प्रतिगमन रोक्न सक्छन्,’ उनले भने, ‘अब प्रचण्डले केही गर्न सक्दैनन् यो संविधान उल्टाइदिएहुन्छ भन्ने केही केही मान्छेले सोचेका छन् म ती मान्छेलाई भन्छु, मसँग क्रान्तिकारी जनताको साथ छ भन्छु।’

अब म थोरै समय काठमाडौं र धेरै समय जिल्ला रहन्छु भन्दै जनताले दिएको ऊर्जाले म कुनै हालतमा झुक्ने छैन। उनले रुकुमका केही गाउँ घुम्न चाहेको उनले बताए। आर्थिक र कृषि विकासका लागि र सांस्कृतिक विकास गर्न, समाजवादी विकास गर्दै जाने उनले बताए। केन्द्रको अधिकार गाउँमा ल्याउने उनले बाचा गरे। 

जनताको तागतबाहेक कसैले प्रतिगमनलाई परास्त गर्न नसक्ने पनि उनले बताए। आफू थोरै आत्मआलोचन गर्न पनि आएको उनले स्पष्ट पनि पारे। राष्ट्रको हितमाथि आफूले दायाबायाँ नगरेको आफूले सोच्नै नसक्ने उनको भनाइ थियो। 

आफूलाई जस्तोसुकै सहयोग गर्ने साथीहरू ओझेलमा परेका पनि उनले बताए। रामबहादुर थापालाई गृहमन्त्री बनाएकोमा उनले आफूलाई गल्ती गरेको महसुस भएको भएको बताए। उनले थापालाई 'बिकाउ माल' को संज्ञा दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.