आफूलाई केपी ओली पक्षले भावनात्मक 'ब्ल्याकमेल' गरिरहेको टिप्पणी

|

काठमाडाैं : नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। 

मंगलबार आफूनिकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन्। 

उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए।

एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारिबाट पारि पुर्‍याई छाडने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ। समाधान हामी निकाल्ने छौं। त्यसो हुनाले बीचमा तपाईंहरुलाई छाडने छैनौं। तपाईहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं त्यो डुङ्गालाई सफलताका साथ वारिबाट पारी पुर्‍याई छाडने छौं। लक्ष्यसम्म पुगि छाडने छौं। त्यसो हुनाले आत्तिनुपर्ने केही छैन,’ उनले भने।

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे। त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए।

उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरु पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनुभएको छ। हामी सबै सकारात्मक शक्तिहरुसँग एकताबद्ध भएर जान चाहन्छौं। हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन। तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं। यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं।’

आफूलाई केपी ओली पक्षले भावनात्मक 'ब्ल्याकमेल' गरिरहेको पनि उनले बताए। आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको बताए।

तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए। अहिले प्रचण्ड र अन्य दलसँगको दूरी बढाउन र आफ्नो सत्ता जोगाउन लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालको तर्क थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.