साढे ९ करोड बढी लागतमा निर्माण हुँदै

|
फाइल फोटो

काठमाडौं :इलामस्थित सुकिलुम्बा विमानस्थलको 'रन अवे' मा कालोपत्रे सम्पन्न भएको छ। इलाम नगरपालिकाले हवाइसेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकार,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ।

नगरपालिकाले विमानस्थल निर्माणका लागि वडा न. ९ स्थित सुकिलुम्बा डाँडामा जग्गा उपलब्ध गराएको थियो। प्राधिकरणले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको र कालोपत्रे तथा अन्य संरचना निर्माणको कार्य अन्तिम अवस्थामा भई हवाई सेवा सञ्चालनको अवस्था पुगेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले ३ सय रोपनी जग्गा खरीद गरी विमानस्थल निर्माण गर्न उपलब्ध गराएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए। विमानस्थल निर्माण भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ।

उनले भने,' प्राकृतिक रूपले इलाम नगरपालिका भरिपूर्ण छ। हवाई उडान सुचारु भएपछि विदेशी पर्यटकको आकर्षण हुने भएकोले नगरपालिकाले आर्थिक लाभ लिन सक्छ।'

विमानस्थलमा धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको उनले जानकारी दिए। 'रन अवे' मा कालोपत्रे भइसकेको छ। अहिलेको अवस्थामा उडान गर्न सकिने उनको दाबी  छ। अन्य काम बाँकी भए पनि उडान मात्र गर्न सक्ने अवस्था रहेकोले सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको उनले सुनाए।

'निर्माणाधीन अवस्थामा छ'

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार विमानस्थलको धावन मार्गमा कालोपत्रे काम सकिएको छ। निर्माण सम्पन्न भएका ठाउँमा मार्किङ गर्ने काम भइरहेको उनले जानकारी दिए।

सानो विमानस्थल भएकोले पहाडी भेगमा उडान हुने ट्वीनेटर विमान सञ्चालन हुने पोखरेलले जानकारी दिए। अहिले पनि निर्माणाधीन अवस्थामा रहेको छ। त्यहाँ निर्माण हुने आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न धेरै बाँकी रहेको उनले जानकारी दिए।

स्थानीय निकायले आग्रह गर्ने बितिकै सञ्चालनमा ल्याउन नसकिने उनले तर्क गरे। सञ्चालनका लागि विभिन्न विधि प्रक्रिया पुरा गरे पछि मात्र सम्भव हुने उनले प्रस्ट पारे। विमानस्थल कुल ९ करोड ५० लाख ८० हजार ४ सय ९४ रुपैयाँमा निर्माण भइरहेको छ।  

प्रदेश १ मा  १० विमानस्थल सञ्चालन,पाँच वटा निर्माणाधीन

प्रदेश १ मा १० वटा विमानस्थल सञ्चालनमा छन्। ताप्लेजुङ,झापाको चन्द्रगढी, खोटाङको तामा खर्क र मनमाया खानीडाँडा, मोरङको विराटनगर, ओखलढुङ्गाको रुम्जाटार,सोलुखुम्बुमा तेन्जिङ हिलारी र फाप्लु,भोजपुर र संखुवासभाको तुम्लिङटारको विमानस्थल सञ्चालनमा छन्।

इलामको सुकिलुम्बा,खोटाङको लामीडाँडा,ओखलढुङ्गाको खिजी चन्द्रेश्वरी र सोलुखुम्बुको काग्लेडाँडा र स्याम्बोचे विमानस्थल निर्माणाधिन अवस्थामा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.