|

गोरखा : नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उमेद्वार सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गरेका हुन्।

गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ (जलन)  ले १२ मत प्राप्त गरेका थिए।

अध्यक्ष पदका लागि अनुपमा खनाल, श्रेष्ठ र नरहरि सापकोटाले मनोनयन दर्ता गरेका थिए। अध्यक्ष पदमा मनोनयन गरेकी अनुपमा खनालले उम्मेद्वारी फिर्ता लिएकी थिइन्।

सापकोटा 'दरौँदी' दैनिकका कार्यकारी सम्पादक, रेडियो गोरखाका सहायक स्टेशन मेनेजर, नागरिक राष्ट्रिय दैनिकका जिल्ला संवाददाता एवं पत्रकार महासंघ गोरखाको यसअघिको कार्यकालका सचिव हुन्।

आफ्नो नेतृत्वमा रहेको कार्यकालमा जिल्लामा कार्यरत पत्रकारहरुको हक र हितका लागि तथा जिल्लामा सञ्चालित मिडिया हाउसको स्तरउन्नतिका लागि दिलोज्यान दिएर लागि पर्ने नवनिर्वाचित अध्यक्ष सापकोटाले बताएका छन्। ‘परिवर्तित समयसापेक्ष पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने, क्षमतावृद्धि गरी सशक्त र सबल बनाउन लागिपर्ने छु’, उनले भने। 

दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुई सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। खुलातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै सदस्य (खुला) तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सुस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए। 

प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन पनि बिहीबार सम्पन्न भएको छ। तीनै तहको कार्यसमिति चयन गर्न देशैभर एकै दिन, एकै समय निर्वाचन गर्ने कार्यक्रमअनुसार निर्वाचन सम्पन्न भएको हो।

केन्द्रीय समितिमा भीमलाल श्रेष्ठले चुनाव लडेका छन् भने प्रदेश समितिको सचिवमा कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले मनोनयन दिएका छन्। उनीहरुको मत परिणाम बिहीबार मात्र आउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.