|

म्याग्दी : ‘पहाडको परी’को रूपमा परिचय बनाउँदै गरेको खोप्रा लेकमा पछिल्लो समय पर्यटकको निकै चहलपहल बढेको छ।

एकै ठाउँबाट मनास्लु, माछापुच्छ्रे, साउद अन्नपूर्ण, निलगिरी, धौलागिरी,गुर्जा, बहरि शिखर, दुन्चेपिङ जस्ता दर्जनौं हिमशृङखलाको अवलोकन गर्न पाइने खोप्रालेकमा पर्यटकको आगमन बढेको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रालेकमा पर्यटकको चहलपहल बढ्न थालेको हो। गत माघदेखि खोप्रा लेक पुग्ने पर्यटकको संख्या बढिरहेको छ। तलतिरका वन, टाढा टाढाका मनमोहन पहाडी भूगोलसँगै दर्जनौं हिमश्रृखला दखिने खोप्राले पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ।

मृग, घोरल, डाँफे लगायत जंगली जनावर र पंक्षीहरूको अवलोकन गर्न समेत पाइने खोप्रा लेकमा, हिमालको फेदीमा पालिने चौंरीको द‌ृश्यले समेत पर्यटकको मन जितेको छ। म्याग्दीका बजारमा समेत इन्टरनेटको राम्रो सुविधा छैन। तर. समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटर उचाइमा पुग्दा पर्यटकको मन जित्ने गरेको छ।

पर्यटकको संख्यामा वृद्धि हुँदै गएकाले खोप्रा लेकमा एउटा मात्र सामुदायिक लजमा बास बस्न नपुग्ने भएपछि पर्यटकलाई टेन्टमा भएपनि बास व्यवस्थापन मिलाउने गरेको बताउँछन् खोप्रा सामुदायिक लजका प्रबन्धक नविन पुन। 

खोप्रा लेक प्राकृतिक, जैविक र भौगोलिक रूपमा पनि मनमोहक मानिन्छ। पहाडको टुप्पोमा अवस्थित खोप्रा लेकबाट म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्ती समेत देख्न सकिन्छ। जिल्ला सदरमुकामदेखि ३ घण्टा सवारी साधन र पाउद्वारदेखि ५ घण्टा पैदलमार्ग हुँदै खोप्रा पुग्न सकिन्छ।

पैदलमार्ग हुँदै खोप्रा लेकमा आउदा दु:खको महशुस भएपनि खोप्राबाट बिहानीमा देखिने हिमश्रृङखलाले मन लोभ्याउने पर्यटक बताउँछन्‌। 

खयर भारानी उत्कृष्ट पर्यटकीय गन्तव्य

पाउद्वारदेखि खोपारा हुँदै साउथ अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर भारानी ताल सम्मको क्षेत्रलाई समेटेर समुदायकै अगुवाइमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको हो।

अन्नपूर्ण र धौलागिरि रेञ्जका हिमालहरू, गुराँसे जंगल, हिमालको काखमा रहेको खयर तालको अवलोकनका लागि पाउद्वार–खोपारा–खयर भारानी रुट तयार गरिएको छ।

बेलायती सेनाका रिटायर्ड लेफ्टिनेन्ट राजु पुनको अगुवाईमा देश विदेशमा रहेका स्थानीयबासी र दातामार्फत १ करोड ६० लाख रुपैयाँ संकलन गरी यो क्षेत्रमा भारानी थान, पदमार्ग, चौतारा, आवास र शौचालय लगायत पर्यटन पूर्वाधार निर्माण गरिएको हो।

‘यो सबै हाम्रा बाजे, पुर्खाहरूको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाई, भैँसी र भेडा लिएर यहाँ आउँथ्यौँ’ अहिले माथिल्लो भेगमा भेडा र चौंरीगोठ छन्, ती पनि अब पर्यटकका आकर्षण भएका छन्‌,’ यस क्षेत्रको पर्यटन अभियन्ता पुनले खोपारा डाँडाबाट वर्णन गर्दै भने।

अहिले खोपारा र खयर क्षेत्र किसान गोठालो जाने लेकमा सीमित छैन। यहाँको परिचय नै फेरिएको छ, अग्लो डाँडाबाट आँखै अगाडी हिमाल देख्न सकिने जैविक विविधतायुक्त यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिणत भएको छ।

आफन्तको सम्झनामा पदमार्ग 

पाउद्वारका स्थानीयबासीले दिवंगत आफन्तको स्मृति र परिवारको हर्षबढाइँ र सफल कार्यको उपलक्ष्यमा ‘सम्झना र कामना’को धार्मिक भावले पदमार्ग बनाउने अभियानमा सहकार्य गरेका छन्।

पदमार्ग अन्तर्गत पर्यटकलाई खान र बस्नका लागि खोपारामा लज र होटल सञ्चालनमा छन्। खोपाराबाट अर्को दिनको बास बस्न खयरखोलामा होटल सुविधा नभएकाले कोष मार्फत नै पाहुना बस्ने अस्थायी प्लास्टिक घर, शौचालय, आश्रयस्थल र खयर ताल परिसरमा आश्रयस्थल बनाएको पुनले बताए।

खयर तालमा पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासका कारण जनै पूर्णिमाको अवसरमा विशेष पूजा हुँदै आएको छ।

खयरथानको ऐतिहासिक पुन:निर्माण

​साउथ अन्नपूर्ण हिमालको फेदीमा अवस्थित खयर भारानी तालमा स्थानीयबासीले पहिलेदेखि नै पूजाआजा गर्दै आएका थिए।

समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा वरिपरी हिम पहाडले घेरिएको खयर भारानी ताल परिसरमा २०४८ साथमा भेडी गोठालाहरूले ढुंगाको एकढोका भएको थान निर्माण गरेका थिए।

भेडी गोठालाहरूले नै पुजारी भएर जनै पूर्णिमामा तीर्थ यात्रीको भाकल पूजा समेत गराउँदै आइएको थियो। २०६९ साल असार ७ गते जग राखेको थान निर्माण कार्य सकेर सोही बर्षको जनै पूर्णिमादेखि नै थानमा पूजा गर्न शुरू गरिएको थियो।

ताल परिसरको यस थानमा हरेक बर्षको जनैपूर्णिमा पर्वको अवसरमा आफ्नो मनोकांक्षा पुरा गराउनको लागि भाकल गर्नेहरूको भीड नै लाग्ने गर्छ।

पहाडकी रानी : खोपारा

​‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका सामाजिक अभियान्ता महावीर पुनको परिकल्पना अनुसार संचालन भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पद मार्गले समेटिएको खोपारा–खयरभारानी क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका हिसाबले सम्भावनायुक्त क्षेत्र हो।

म्याग्दी सदरमुकाम बेनीदेखि छोटो दुरीमा पर्ने , जैविक विविधतायुक्त र वरिपरिका हिमालको फन्को एकै ठाउँबाट मार्न सकिने भएपछि पछिल्लो समय खोपारा आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थालेको छ।

तीन हजार ६६० मिटरको उचाइमा रहेको खोपारा लेकबाट अन्नपूर्ण, धौलागीरी, माछापुच्छ्रे, मनास्लु रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट नियाल्न सकिन्छ।

खोपारादेखि खयर सम्मको हरियाली पाखा, रंगीविरंगी फुल, चरन क्षेत्रमा रहेका भेडा र चौरीले पर्यटकहरूलाई लोभ्याउने गरेको छ। अझ छिन–छिनमा बादलको घुम्टोबाट खुल्दै गरेका हिमालको मनमोहक दृष्य र एकान्त ठाउँमा चराचुरुङ्गी, जंगली जनावर लगायतको रमणीय दृष्यको अवलोकन गर्दा पर्यटकहरू दिन गएको पत्तो नै पाउँदैनन्।

पाउद्वारबाट पदयात्रा गर्ने पर्यटकहरूले खोपारामा बास बस्ने गर्छन्। त्यहाँबाट खयरखोलामा अर्को दिनको बास बस्न सकिन्छ। त्यहाँबाट खयर भारानी हुँदै दुधकुण्ड सम्म पुगेर पुन: सोही ठाउँमा आएर बास बस्न सकिन्छ।

अर्को दिन काली भारानी र गोर्से भारानी ताल पुगेर फर्कने गरी पाउद्वारदेखि खयर क्षेत्रसम्म समेटेर ५ दिनसम्म पदयात्रा गर्न सक्नेगरी पदमार्गको नक्सांकन गर्ने तयारी थालिएको अभियन्ता पुनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.