|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोभिड संक्रमितको संख्या बढेको तर्फ औल्याउँदै सर्वसाधारण नागरिकले सावधानी नअपनाए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गरेका छन्।

'हाम्रो जनजीवनलाई ठप्प नगरुम,बाध्य भए ठप्प पार्ने अवस्था पनि आउन सक्छ। हामीले सावधानी अपनाउनुपर्छ र अहिलेदेखि सावधानी अपनाउनैपर्छ, 'बिहीबार चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले भने, 'सामाजिक दूरी कायम गर्नुपर्छ। मास्क लगाएर हाम्रो जीवनमा कोभिडलाई आउन दिने अवसर दिनु हुँदैन।'

नागरिक आफैं सचेत नभए कोभिडबाट सुरक्षित हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए। खोपले पनि शतप्रतिशत सुरक्षित राख्न नसक्ने उनको दाबी छ। मुख्य कुरा सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। भने, 'एकैपटक कोभिड भाइरस भित्र छिर्दैन। नाकमा बस्छ र त्यहीँबाट भित्र छिर्छ।'

कोभिडका बिरामीलाई निःशुल्क उपचार गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ। परीक्षणदेखि खोप लगाउने कामसमेत निःशुल्क गरिएको उनले बताए। कोभिडलाई सरकारले लखेट्नुपर्ने उनको भनाइ छ।

कोभिडले पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर गरेको ओलीले सुनाए। अन्य देशको तुलनामा नेपालको अर्थतन्त्रमा कम असर परेको उनले दाबी गरे। निजी क्षेत्रसँग सरकारसँगै बढने पनि उनले बताए। उनले भने, 'उद्योग, व्यापार तथा व्यवसायको क्षेत्रमा निजीक्षेत्रसँग साझेदार गरी अगाडि बढ्छौं।'

व्यवसायीक क्षेत्रका लागि नीति बनाउन पनि उनले आग्रह गरे। 'एडभान्स पोलिसी बनाऔं, एडभान्स काम गरौं, 'प्रधानमन्त्री ओलीले भने, 'सँगै काम गरौं र देश विकासका लागि सँगै जुटेर काम गर्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.